निर्वाध रुपमा काम गर्न संविधान संशोधन आवश्यक : मन्त्री यादव

नेहा झा/ जनकपुरधाम । प्रदेश दुईका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सरकारलाई निर्वाध रुपमा काम गर्न सक्ने वातावरणका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

 प्रदेशसभामा सुशासन प्रत्याभूति गर्नका लागि बनेको विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै मन्त्री यादवले प्रदेश सरकारले अहिले समन्वय गरेर मात्रै अगाडी बढ्न सक्ने बताउँदै निर्वाध रुपमा काम गर्नका लागि संविधान संशोधन आवश्यक रहेको बताए ।

प्रदेश सरकार भ्रष्टाचार मुक्त प्रदेशको परिकल्पना गरेपनि भ्रष्टाचारीहरुलाई कारबाही गर्ने अधिकार प्रदेश सरकारमा निहित रहेको उनको भनाई थियो । उनले प्रदेश सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग संग समन्वय गरेर मात्रै त्यस्ता भ्रष्ट व्यक्तिहरुलाई कारबाही  गर्न सक्ने बताए  ।

सदनमा बोल्दै मन्त्री यादवले प्रदेशको वास्तविक वस्तु स्थिति मापन गर्नका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले नक्सांकनको काम छिट्टै सुरु गर्ने जानकारी दिए । प्रदेशसभा सदस्य ज्वाला कुमारी साहले राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने नितिका साथ प्रदेश सरकारलाई अगाडी बढ्न सुझाव दिईन् ।

यो प्रदेश निर्माण गर्ने जिम्मा ७ जना मन्त्रीहरुको काँधमा मात्रै नरहेको बताउँदै उनले यसका लागि १ सय ७ जना प्रदेशसभा सदस्यलाई यो प्रदेशलाई समृद्ध बनाउनका लागि जिम्मेबार हुन आग्रह गरिन् । प्रदेशसभा सदस्य उपेन्द्र महतोले प्रदेश मातहत रह्ने कर्मचारीले कुनै गलत काम गरेको कारबाहीको अधिकार प्रदेश सरकारमै निहित हुनुपर्नेमा जोड दिए ।

 प्रदेश सभा सदस्य जगत यादवले मदरशा शिक्षा बोर्ड माथि आफूले व्यक्त गरेको धारणालाई तोडी मोडी प्रस्तुत गरिएको आरोप लगाए । उनले आफू मुस्लिम समुदाय विरोधी नरहेको बताउँदै आफुले मुस्लिमहरुको नाउँमा केही व्यक्ति सुख सुविधा मात्रै पाई रहेको परम्पराको अन्त हुनुपर्ने मात्रै भनेको दाबी गरे ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर