• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

कट्टर मुस्लिम देश पाकिस्तानमा हिन्दु सहर ‘मिथी’, जहाँ गाई काटिइदैन

अस्रफ खान/मिथी । पाकिस्तानी सहर मिथीमा छिमेकी मुलुक भारतमा झैं गाईवस्तु निस्फिक्री यताउता घुमिरहेका पाइन्छन् । गाईवस्तुलाई पवित्र जनावरका रुपमा लिने हिन्दुहरुले रुढीवादी मुस्लिम पाकिस्तानमा पनि धार्मिक सहिष्णुतालाई आत्मसात गरेका छन् । सामान्यतया, पाकिस्तानमा अल्पसंख्यक समुदायहरुले ठूलै विभेदको सामना गर्नु पर्दछ । 

यहाँ, ‘मुस्लिमले हिन्दूहरुका धार्मिक आस्थालाई सम्मान गरिरहेका छन्,’ ७२ वर्षीय शाम दासले बताए । ‘उनीहरुले गौहत्या गर्दैनन् र टाढा गाई काटिँदो होला तर यहाँको हिन्दू बसोबास क्षेत्रमा त्यस्तो हुँदैन ।’ 

पाकिस्तानका बाँकी ठाउँजस्तो मिथीमा गाईवस्तु काटिन्न । ती गाईवस्तु यतिकै चरिरहेका हुन्छन्, कहिलेकाहिँ फोहोर पनि खाइरहेको देखिन्छ, र साँझ परेपछि सडक किनारामा त्यतिकै सुतेका भेटिन्छन् । 

कहिलेकाहिँ टुकटुक र मोटरसाइकल यिनै गाईवस्तुका बथानलाई नागबेली बनाउँदै छिचोलेर लैजानु पर्दछ । कहिले त ट्राफिक नै जाम गरिदिन्छन् । 

मिथीमा करिब ६० हजार हिन्दु छन्, र यो आफैंमा अनौठो हो किनभने पाकिस्तानमा करिब ९५ प्रतिशत मुस्लिम समुदाय छन् । 

हिन्दुहरु श्रीकृष्ण मन्दिरमा प्रवेश गर्दा हिन्दुले घण्ट बजाउँछन् । यो आवाज नजिकै बसोबास रहेको मुस्लिम समुदायको अजानसँगै मिसिन्छ । हिन्दु युवाहरु आफ्ना घरबाहिर बेफिक्री गफिएर बसेका हुन्छन्, र उनीहरुका लागि कुनै सुरक्षाको आवश्यकता नै छैन । 

कराँचीमा यही अवस्था देख्न पाइन्न, यहाँको परिस्थिति निकै भिन्न छ । करिब ३०० किलोमिटर टाढाको कराँचीमा हिन्दुहरुको सुरक्षाका लागि सशस्त्र बलको व्यवस्था गरिएको छ । 

कराँचीमा पूजारी काम गर्ने हिन्दु विजय कुमार गिरले सहरका ३६० वटा मन्दिरमध्ये केबल एक दर्जनमात्रमा पूजापाठ हुने गरेको बताए । ‘बाँकी मन्दिर या त बन्द छन् वा उनीहरुको जमिन हडपिएको छ ।’ 

पाकिस्तानमा बसोबास गर्ने हिन्दुहरुले ज्यादै बढी सामाजिक कलङ्क व्यहोर्नु परेको विवरण प्राप्त भइरहेका छन् । धर्मकै कारण पाकिस्तानी हिन्दुहरुलाई भारत–समर्थकको आरोप लाग्ने गरेको छ, पाकिस्तान मानवअधिकार आयोग (एचआरसीपी) मार्वी सिरमेदले बताए । 

‘त्यसैले, उनीहरुलाई जहिल्यै पाकिस्तान विरोधीको आशंकाका रुपमा हेर्ने गरिन्छ,’ उनले भने । भारत र पाकिस्तान बीचको तनावपूर्ण सम्बन्धका कारण पनि यस्तो आरोप लाग्ने गरेको हो । यी दुई मुलुकबीच सन् १९४७ यता नै तीन पटक युद्ध भइसकेको छ । 

एचआरसीपीले पाकिस्तानी हिन्दुहरुले आफ्नो मुलुकमा असुरक्षित महसुस गरिरहेको बताएको छ । एचआरसीपीको वार्षिक प्रतिवेदनमा भनिएको छ– यदि विभेदजन्य कार्यहरु तत्काल नरोकिए हिन्दुहरुको भारततर्फ आप्रवासन व्यापक रुपमा हुन सक्ने खतरा छ । 

एचआरसीपीका अनुसार धार्मिक नेताहरुको भनाइमा हिन्दु महिला र केटीहरुको जबर्जस्ती धर्म परिवर्तन नै अहिलेको सबैभन्दा ठूलो समस्या हो । हिन्दु महिलाहरुको विवाह हुनुअघि नै अपहरण गरिन्छ, र जबर्जस्ती मुस्लिमसँग बिबाह वा धर्म परिवर्तन गर्न लगाइन्छ । 

तर यस्ता कुनै हर्कत मिथीमा देख्न पाइन्न । यहाँका मुस्लिम र हिन्दुहरुको भनाइमा दुवै समुदाय सहअस्तित्वका आधारमा बसिरहेका छन् । स्थानीयबासीका अनुसार धार्मिक बिदाका दिनहरुमा एक समुदायले अर्को समुदायका मानिसलाई मिठाई र उपहार दिने यहाँ प्रचलन छ । 

‘मैले जानेसम्म यहाँका हिन्दु–मुसलमान समुदाय भ्रातृत्व, प्रेम र सामन्जस्यका आधारमा मिलेर बसिरहेका छन्,’ ३५ वर्षीय व्यापारी सुनिल कुमारले बताए । ‘यो हामीबीच पुस्तौंदेखि चलिरहेको छ, र यो अबका दिनमा पनि हुनु पर्दछ ।’

मिथीको शान्तिपूर्ण सहअस्तित्वको एउटा कारण सहरको भौगोलिक बनावट पनि हो । यहाँको एउटा सीमा भारतको राजस्थान हो । 

स्थानीय अनुसन्धाताहरुको भनाइमा यो सहर १६औं शताब्दीमा शान्तिप्रेमी हिन्दुहरुले निर्माण गरेका थिए । त्यसबखत सबैतिर युद्ध र लुटपाट चलिरहेको थियो । यहाँको माटो मलिलो थियो, तर पानीको अभाव थियो । ‘अहिंसा हाम्रो अर्को जन्मजात गुण हो,’ स्थानीयको भनाइ छ । 

तर पाकिस्तानमा धार्मिक कट्टरवाद र घृणा फैलाउने अभिव्यक्ति बढेको छ, तथा धर्मको नाममा आस्था–आधारित हिंसा रोक्नेतर्फ खासै काम भएको छैन, एचआरसीपीले भनेको छ । यही कारण मिथीको सहिष्णु समाज भत्किने खतरा एचआरसीपीले औंल्याएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर