प्रदेशलाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाइने : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष छ अर्ब खर्च गर्ने बताएका छन् । 

प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालय कार्यालयको सुनसरीको इटहरी ४ हलगाँडामा नव स्थापित कार्यालयको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत रकम प्रदेशको पूर्वाधार निर्माणमा खर्च गर्ने बताए ।

उनले फराकिलो र गुणस्तर सडक, मोटर चल्ने र झोलुङ्गे पुल निर्माण गरी जनताको सेवा सुविधामा ध्यान दिनुपर्नेमा जोड दिए । उनले प्रदेशलाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त बनाउन सबैको सहयोग आवश्यक रहेको बताउँदै प्रदेश सरकारको बजेट र नीति तथा कार्यक्रमअनुसार निर्देशनालयले जनतालाई केन्द्र विन्दुमा राखी कार्य गर्न निर्देशन दिए । 

मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा संविधानको मर्मअनुसार आगामी हिउँदे अधिवेशनबाट निर्णय गरिने जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर