नयाँ नोट साट्नेको भिड, ४ अर्ब साटियो

कास्की । दसैँ पर्वको अवसरमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयमा नयाँ नोट साट्नेको भिड् लागेको छ । असोज २१ गतेदेखि नेपाल राष्ट्र बैंकले नयाँ नोट साट्न सुरु गरेसंगै आम उपभोक्ताहरु नयाँ नोट साट्नको लागि बैंकमा लाइन बस्न थालेका हुन्  ।

दसैँ पर्व नजिकिदैं जाँदा नयाँ नोट लिने आम उपभोक्ताको संख्या बढ्दै गएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक पोमनाथ गौतमले बताए । उनका अनुसार नयाँ नोट साट्न हाल दैनिक जासो ५-६ सय जना राष्ट्र बैंकमा पुग्ने गरेका छन् । नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ नोट साट्ने भएपछि पोखरा र पोखरा आसपासका आम उपभोक्ताहरु बिहानैदेखि बैंक परिसरमा पुगी लाइन बस्ने गरेका छन् । राष्ट्र बैंकले हाल दुई वटा काउन्टरबाट नयाँ नोट साट्ने व्यवस्था गरेको छ ।

अधिकांश उपभोक्ताले यस वर्ष भने २० र १०० रुपैयाँको नोट बढी साट्न खोजेको पाइएको छ । यद्यपि, यस वर्ष नेपाल राष्ट्र बैंकले गत वर्षको भन्दा बढी रकम दिने व्यवस्था गरेको छ । बैंकले यस वर्ष २७ हजारसम्म अर्थात् एक सयको एक बन्डलबाहेक ५, १०, २०, ५० का दुई–दुई बन्ड दिने जनाएको छ । बैंकले गत वर्ष ८ हजार ५ सय अर्थात ५, १०, २०, ५० र १ सयको एक–एक बन्डल दिने गरेको थियो ।

हालसम्म राष्ट्र बैैंक पोखराले  शाखाबाटै लाइनमा बसेका आमउपभोक्तालाई २० करोड रुपैयाँभन्दा बढी नयाँ नोट साटेको निर्देशक गौतमले बताए । उनका अनुसार राष्ट्र बैैंक पोखरा शाखाले हालसम्म बैंक तथा वित्तीय संस्थालाई २ अर्ब १३ करोड र नोट कोषमा रहेका वाणिज्य बैंकका शाखालाई १ अर्ब ६५ करोड रुपैयाँ नयाँ नोट साटेको छ । हालसम्म पोखरा क्षेत्रबाट गण्डकी प्रदेशलाई लक्षित गरी करिब ४ अर्ब नयाँ नोट साटिएको छ । गण्डकी प्रदेशमा  एक हजारभन्दा बढी बैंक तथा वित्तीय संस्था रहेका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर