• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

भ्रष्टाचार, मर्द नेता र नयाँ नेपाल

ऊ बेलिविस्तार लाउन थाल्यो– ‘नेतालाई पाकेट खर्च चाहियो, कार्यकर्ताको भरणपोषण गर्नु पर्यो, चुनावमा भोट किन्नु पर्यो, गाडी बंगला चाहियो । चाहिएन ? यस्तो पाराले तपाईंको पछि को लाग्छ ?’

म माइतीघरबाट भक्तपुर फर्कदैं थिएँ । बनेपा–धुलिखेल जाने बस घ्याच्च माइतीघर बसस्टपमा रोकियो । म चढें । सबभन्दा पछाडिको एक सिट खाली रहेछ । म धावकीय गतिमा दौडेर सो सिटमा बसें । केही यात्रुहरुले चिनेको जस्तो गरेर मतिर हेरे । एउटा कालो मास्क लगाएको मभन्दा अगाडिको सिटमा बसेको अधवैँशे मतिर फर्के । उनी हाँसेको उनका आँखाको हाउभाउबाट प्रष्ट हुन्थ्यो ।

‘नमस्कार नेताज्यू’

मैले नमस्कार फर्काएँ । मलाई किन हो कुन्नि नेताज्यू भनेर सम्बोधन गरेको त्यति मन पर्दैन । लोकतन्त्रको लागि, सामाजिक परिवर्तनको लागि आफूले सकेको योगदान गरेको हो । जहींतहीं नेताज्यूको मानपदवी मेरा लागि सौखको विषय होइन, बोझको विषय हो । फेरि निधार र आँखाको भरमा मैले उसलाई चिन्न सकेको अवस्था थिएन । म असमञ्जस्यमा परें । 

उसले मास्क तल सार्यो र अनुहार मतिर फर्कायो । 

‘नेताज्यूले मलाई चिन्नु भएनक्यारे । सम्झनुस् त एकपटक’ ।

अनुहार त देखिराखेको हो तर मैले तपाईंको नाम खुट्याउन सकिन,’ मैले भनें ।

‘चुनाव सकिएपछि त नेताले कसलाई सम्झन्छन् र ? सबै नेता उस्तै त हुन् नि !’ उसले आक्रोश पोख्यो । 

उसको अगाडि निरीहता प्रकट गर्नुबाहेक मसँग कुनै विकल्प थिएन । वरिपरि बसेका यात्रुहरु उसकै समर्थनमा रहेको भाव दर्शाउँदै थिए । यस्तो लाग्दथ्यो मानौं मैले कुनैबेला भेटेको त्यो यात्रुलाई नचिन्नु मेरो अपराध थियो ।

‘म सागाँको गोकुल क्या’ –उसले भन्यो । 

‘ए अँ हगि म त कस्तो हुस्सु भएको ? तपाईं र मेरो धेरै वर्ष पहिले तपाईंकै टोलमा एउटा भेलामा भेट भएको होइन ?’ मैले सम्झें ।

‘अँ त्यो दिन तपाईंले मेरो घरमा खाना खाएको होइन ?’

‘हो,’ मैले त्यो प्रंसग नसम्झिए पनि सम्झिएको अभिनय गरें ।

‘अनि आज त सार्वजनिक सवारीमा चढ्नु भएछ । आज आफ्नो गाडी चाँहि कता गयो नि ?’

‘मेरो निजी गाडी छैन । म सधैं सार्वजनिक सवारी साधनमा यात्रा गर्छु,’ मैले भनें । 

‘सिंहदरवारको त्यत्रो उच्च ओहोदामा पुगेको मान्छे, एउटा नाथे गाडी किन्ने पैसा पनि कमाउन सक्नु भएन ? तपाईंले राजनीति गरिखानु हुन्न ?’ उसले निष्कर्ष सुनायो ।

उसले थप्यो, ‘पैसा नभई नेता बन्न सकिदैन नि नेताज्यू,’ ‘किन ?’ मैले तुरुन्त प्रश्न गरें ।

‘भनेर  हुन्छ र नेताज्यू ? तपाईंभन्दा धेरैपछि राजनीतिमा आएका, तपाईंको पार्टीमा आएका नेताले ओहोदामा रहँदा गाडी बङ्गला जोडेको कसले देखेको छैन र ? ती नेताले ततलदेखि माथिसम्म सबैतिर सेटिङ्ग मिलाएका हुन्छन् रे !

ऊ बेलिविस्तार लाउन थाल्यो– ‘नेतालाई पाकेट खर्च चाहियो, कार्यकर्ताको भरणपोषण गर्नु पर्यो, चुनावमा भोट किन्नु पर्यो, गाडी बंगला चाहियो । चाहिएन ? यस्तो पाराले तपाईंको पछि को लाग्छ ?’

‘म गाडी र महल जोड्ने पैसा कमाउन राजनीतिमा लागेको होइन, तपाईंलाई थाहा नै छ मेरो पार्टी त सर्वहारा श्रमजीवीको पार्टी हो,’ – मैले पनि आफ्नो निष्कर्ष सुनाएँ ।

‘गाडी, महल जोड्ने मात्र उद्देश्य भए त उद्योग, व्यवसाय वा जागिरतिर लागे भइहाल्थ्यो नि !’ मैले थपें । 

‘पुरानो आदर्श, नैतिकता र इमान्दारीले अब राजनीति गर्न सकिन्छ र नेताज्यू ?’ उसले ओठ लेप्र्यायो ।

‘नैतिकता, आदर्श र इमान्दारी पनि नयाँ र पुरानो भन्ने हुन्छ र ?’ मैले प्रतिप्रश्न गरें । 

‘भनेर  हुन्छ र नेताज्यू ? तपाईंभन्दा धेरैपछि राजनीतिमा आएका, तपाईंको पार्टीमा आएका नेताले ओहोदामा रहँदा गाडी बङ्गला जोडेको कसले देखेको छैन र ? ती नेताले ततलदेखि माथिसम्म सबैतिर सेटिङ्ग मिलाएका हुन्छन् रे ! उनलाई नजराना र कमिसन बुझाउने मानिसको लाइन लाग्छ उनको घरमा । उनीहरुको कत्रो शान कत्रो रवाफ । गाडीका लावालस्कर लिएर हिड्छन् हिजो आज । तपाईं त ख्वै,’ उसले ‘सहानुभूतिपूर्वक’ मेरो शीरदेखि तीरसम्म निहाल्यो । मेरो सामान्य पहिरन, फाट्न लागेका जुत्ता, सुनविहीन शरीर उसलाई पटक्कै मन परेन । देशमा विकराल बन्दै गएको भ्रष्टाचारको प्रमुख कारण नेताले आफ्नो सुखसुविधाको लागि राज्यको सम्पत्ति दोहन गर्ने प्रवृत्ति नै हो भन्ने उसलाई छेउ टुप्पो थाहा नभएको देख्दा मलाई टीठ लाग्यो ।  

बानेश्वरको जामबाट गाडी अगाडि बढ्न सकेको थिएन । मलाई त्यो साथीसँग चाँडोभन्दा चाँडो छुट्न मन थियो । समय कटाउन मैले उसलाई एउटा हीरा खाने मुसाको कथा सुनाउन थालें ।

‘घुस र कसिसन नखाने नखाने नामर्द खाने चाहिँ बहादुर वाह !’ भनेर ऊसँग झगडा गर्न मन थियो मलाई । तर त्यसको मैले कुनै अर्थ भेटिन किनभने उसको दिमागमा सबै नेता देश लुट्न जन्मेका हुन् भन्ने धारणाले जरा गाडिसकेको प्रतित हुन्थ्यो । नेता भएपछि पैसाको छेलोखेलो गर्न पाइन्छ भन्ने बुझेको छ उसले ।

‘एउटा हीरा पसलमा कुनै बेला एउटा मुसो पसेछ । मुसाले हीरा खाएर हैरान पार्न थालेछ । हीरा पसलेले हीरा खाने मुसा पत्ता लगाउन एक व्यक्ति नियुक्ति गरेछ । उसले घर भरिका सबै मुसालाई एउटा कोठामा जम्मा पारेछ । एउटा मुसो चाँहि मुसाहरुको समूहभन्दा छुट्टै बस्दथ्यो । उसको चाल डाल अरु सबै मुसाभन्दा फरक थियो । त्यो व्यक्तिलाई हीरा खाने मुसा पत्ता लगाउन अप्ठ्यारो परेन ।’ 

‘मतलव ?’

‘मतलव मलाई देशको हीरा (राजस्व) खाएर अलग्गै बस्नु छैन । जनताभन्दा छुट्टै शान र रवाफमा बाँच्नु छैन । मेरो जीवनको लक्ष्य त्यो होइन । विल्कुल होइन ।’ मैले प्रष्ट्याउन खोजें ।

‘खै के खै के ?’ ऊ मसँग सहमत देखिएन ।

‘मौका पाएर पनि केही गर्न नसक्ने तपाईं नामर्दै हो नि !’ उसले मलाई झन हेय भावमा हेर्यो । मेरी श्रीमतीले घरको अभाव देखाएर बेला बेला ‘नामर्द’ भनेर मसँग झगडा गरेको सम्झें । 

‘घुस र कसिसन नखाने नामर्द खाने चाहिँ बहादुर वाह !’ भनेर ऊसँग झगडा गर्न मन थियो मलाई । तर त्यसको मैले कुनै अर्थ भेटिन किनभने उसको दिमागमा सबै नेता देश लुट्न जन्मेका हुन् भन्ने धारणाले जरा गाडिसकेको प्रतित हुन्थ्यो । नेता भएपछि पैसाको छेलोखेलो गर्न पाइन्छ भन्ने बुझेको छ उसले ।

बस सूर्यविनायक पुग्यो । गोकुल र म छुट्टियौं । म एउटा प्रशिक्षण कार्यक्रममा जानु थियो । एक घागडान नेताले ‘असल नेतामा हुनुपर्ने गुणहरु’ विषयमा प्रशिक्षण दिने कार्यक्रम थियो । उनको धारा प्रवाह प्रवचन शैली लोभलाग्दो थियो । उनले भियतनामी कम्युनिस्ट नेता हो चि मिन्हको असल नेता काम गर्नेबेला जनताको अगाडि र खानेबेला जनताको पछाडि बस्नुपर्छ भन्ने भनाई सुनाए । सबैले ताली बजाए । 

कार्यक्रम पछि जलपानको आयोजना गरिएको थियो । सहभागीहरु लाइन लागेर जलपानमा सहभागी हुँदै थिए । सहभागीले खानु अगावै नेतालाई मञ्चमै पकवान टक्र्याई सकिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर