थारु समुदायको विकास र स्तरोन्नतिले मात्रै प्रदेशको विकास सम्भव : मुख्यमन्त्री पोखरेल

दाङ । थारु समुदायको सहभागिताविना प्रदेशको समृद्धि असम्भव रहेको प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बताएका छन् । थारु पत्रकार संघको राष्ट्रिय भेलालाई घोराहीमा सम्बोधन गर्दै उनले थारु समुदाय प्रदेश ५ को प्रमुख हिस्सा रहेको धारणा राखे । उनले प्रदेशकै गहनाका रुपमा रहेका थारु समुदायको विकास र स्तरोन्नतिले मात्रै प्रदेशको विकास सम्भव रहेकाले सबै क्षेत्रमा उनीहरुको सहभागिता अपरिहार्य रहेकोमा जोड दिए । 

प्रदेशको समृद्धि जनताको खुसीसँग जोड्न चाहेको भन्दै मुख्यमन्त्री पोख्रेलले थारु भाषालाई प्रदेशको भाषाका रुपमा अगाडि बढाउन सिद्धान्ततः प्रतिबद्ध रहेको जनाए । तर भाषा आयोगको प्रतिवेदनपछि मात्रै निर्णय हुने मुख्यमन्त्री पोखे्रलको भनाइ छ । उनले भने, ‘भाषा जोगाउने भनेको समाजले हो । पुस्तकालय, सङ्ग्रालय र किताबले भाषा जोगाउँदैन । पाली भाषामा किताब छन्, संस्कृत भाषामा बनेका धेरै किताब छन् । तर समाजमा ती भाषा छैनन् । त्यसैले समाजले मात्रै भाषा जोगाउन सक्छ ।’ भाषालाई जीवन्त बनाउन अन्य भाषाबाट शब्द पैँचो लिनुपर्ने बताउँदै उनले भाषाको विकासका लागि सोंच साँघुरोभन्दा पनि उद्धार बनाउनुपर्ने बताए । 

साथै मुख्यमन्त्री पोख्रेलले नेपालको सङ्घीयता वित्तीय तथा प्रशासनिक क्षेत्रमा अझै प्रवेश नगरेको बताए । तर बजारमा सङ्घीयता महङ्गो हुन थालेको चर्चा भएको उनको गुनासो छ । एउटा पालिकाले गरेको कामलाई लिएर सम्पूर्ण देशको अवस्था चित्रण गर्नु सङ्घीयताविरोधी गतिविधि भएको उनले बताए । सोही अवसरमा प्रतिनिधिसभाका सांसद सुजिता शाक्य, शान्ता चौधरी, मेटमणि चौधरी, प्रदेश सांसद उत्तरकुमार वली, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रलेलगायतले थारु समुदायको उन्नति तथा समृद्धिका लागि सबैको सहयोग आवश्यक रहेको बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर