• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

भक्तपुरमा गुणस्तरहीन मासु बिक्री भइरहेको भेटियो

भक्तपुर । सूर्यविनायक नगरपालिका क्षेत्रका अधिकांश मासु पसलमा झिङ्गा भन्केका, गनाउने र गुणस्तरहीन मासु बिक्री वितरण भइरहेको पाइएको छ । 

आइतबार सूर्यविनायक नगरपालिकाले सूर्यविनायकदेखि सल्लाघारीसम्म रहेको मासु पसलको अनुगमन गर्दा अधिकांश मासु पसल फोहर, हरियो झिङ्गा भन्केको, गन्हाउने र खान योग्य नभएको मासु बिक्री गरेको पाइएकोहो । 

नगरपालिकाका उपप्रमुख जुना बस्नेतको नेतृत्वमा बजार अनुगमन शाखा, स्वास्थ्य शाखाका कर्मचारी, नगर प्रहरी र सञ्चारकर्मीसहित कर्मचारीको टोलीले बजार अनुगमन गरेको हो । 

अनुगमनको क्रममा अधिकांश मासु पसल नगरपालिकामा दर्ता नभएको, मूल्य सूची नराखिएको, साइनबोर्ड नभएको, बिक्री रसिद नभएको, कुखुरा र राँगाको मासु एउटै फ्रिजमा राखिएको, नापतौल बिगारेको, सिसी क्यामेरा प्रयोग नभएको, एप्रोनको प्रयोग नगरिएको र खान योग्य नभएको मासु बिक्रीमा राखिएको पाइएको थियो । 

अनुगमनका क्रममा फ्रेस मिट कर्नरमा राँगोको मासु अव्यवस्थित, फोहर र झिङ्गा भन्किएको बिक्री गरिरहेको पाइएको थियो । यसमा राँगोको टाउँको, खुट्टा, भूँडी, यत्रतत्र भूइँमै छरेर राखेको, अन्य मासु फोहर ठाउँमै राखेर बिक्री गरेको र गहाउने मासुसमेत बिक्री गरेको पाइएको छ । 

त्यससँगैको माइला दाइको मासु पसलमा दर्ता नभएको, बोर्ड नराखिएको र बाहिरै झिङ्गा भन्काएर राख्दै मासु बिक्री गरिरहेको पाइएको थियो । मासु राखेको कोठा अत्यन्तै फोहर, मासु राख्ने ठाउँमै कुकुरको खोर राखिएको, फ्रिजसमेत नराखिएको पाइएको छ । 

सूर्यविनायक मिट सपको तल्लो पसलमा राँगो र कुखुराको मासु एकै ठाउँमा राखेर बिक्री गरेको, नापतौल नमिलेको, फोहर मासु बिक्री गरेको पाइएको थियो । माथिल्लोमा पनि कुखुराको मासु धेरै नै फोहर गरिराखेको र बिक्री गरेको पाइएकोे छ । 

सरकारको २५ लाख रुपैयाँ अनुदानमा सूर्यविनायकमै सञ्चालित अर्पण मासुपसल अहिलेसम्म नगरपालिकामा दर्ता नगरेको र फ्रिज अत्यन्तै फोहर गरिराखेको पाइएको थियो । अनुदान लिएअनुसार पसल व्यवस्थित नगरेको र फोहर पाइएको छ । 

सूर्यविनायककै जय मिट शप पनि दर्ता नगरी सञ्चालन भएको पाइयो भने सल्लाघारीको समिरा मिट शप र सूर्य कोल्डस्टोरमा फोहर र खान योग्य नभएको मासु बिक्री गरेको पाइएको थियो । 

नगरपालिकाका उपप्रमुख बस्नेत, नगरपालिकाका अनिरुद्र नेपाल, पूर्णचन्द्र शर्मा, रामचन्द्र सापकोटा, शोभा घिमिरे, सुमित्रा थापा, नगरप्रहरी विश्वराम नगरकोटी र सञ्चारकर्मी सहितको टोलीले मासु पसलको अनुगमन गरेको थियो । 

अनुगमनमा सबै पसललाई दशैँलगत्तै सात दिनभित्र पसल दर्ता र नवीकरण गरिसक्नुपर्ने, मासु पसलमा तत्काल सुधार गर्नुपर्ने लगायतका निर्देशन दिएको नगरपालिकाका उपप्रमुख बस्नेतले बताए । उनले निर्देशन पालना नगर्ने मासु पसलमा सिलबन्दी गरिने बताए । 

नगरपालिकाको मापदण्ड विपरीत सञ्चालित मासु पसल बन्द गराइने बताउँदै उपप्रमुख बस्नेतले पहिलो पटक सचेत गरिएको र दोस्रो पटक पसल बन्द गराइने बताए । नगरपालिकाका प्रमुख वासुदेव थापाले दसैंपछि पसल तथा व्यवसाय दर्तालाई कडाइका साथ लागू गर्ने बताए । उनले व्यवसाय दर्ता नगर्ने, कर छलि गर्ने, अखाद्य वस्तु बिक्री गर्ने र नगरपालिकाको मापदण्ड विपरित सञ्चालन गर्नेलाई कारवाही गरिने बताए ।

– रमेश गिरी (रासस)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर