• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

दशैं पर्व र मार्क्सवादीहरु

दशैं पर्वलाई नेपालीहरुले महत्वपूर्ण पर्वका रुपमा लिँदै आएको पाईन्छ । मुख्यगरी हिन्दूहरुको महान चाड भनिएता पनि यो पर्वलाई कुनै न कुनै रुपमा नेपालीहरुले भब्यताका साथ मनाएको पाईन्छ । यसै सन्दर्भमा यो पर्वलाई कतिपय माक्र्सवादी विचार बोक्नेहरुले बहिस्कार गर्नुपर्छ भन्ने गर्छन भने कतिपय माक्र्सवादी हुँ भन्नेहरुले उहि पूरानो सामन्ती ढर्रामा देवीहरुको स्तुती गर्दै मनाएको देखिन्छ । 


द्वन्दात्मक भौतिकवादीहरुले चाड पर्व मनाउँनै हुँदैन भन्ने हैन । चाडपर्वहरुले मानिसहरुबीच सामाजिक सम्बन्ध विकास गर्न महत्वपूर्ण भूमिका खेल्दछ । माक्र्सवाद आफैंमा एउटा बैज्ञानिक समाजशास्त्र पनि हो । सामान्यतः समाजशास्त्रले समाज कस्तो हुनुपर्छ वा समाजले अब कुन बाटो लिनुपर्छ भन्ने आशय थोपर्दैन । यसले त केवल समाजको व्याख्या मात्र गर्दछ भनि परिभाषित गरिएको छ । तर  माक्र्सवाद यस्तो समाजशास्त्र हो जसले समाजलाई दिशा निर्दिष्ट समेत गर्दछ । यस अर्थमा माक्र्सवाद जड बिज्ञान नभएर जनतासँग, समाजसँग घुलमिल हुँदै समाजलाई परिवर्तन गर्ने बिज्ञान हो ।

लेखक

जनताको एउटा बिसाल तप्काले अपनाएको पर्वलाई पूर्णतः ईन्कार गर्नुपर्छ भन्ने चिन्तन राख्नु जनतासँग अलगथलग बसेर मनचिन्ते बन्नु हो । माक्र्सवादीहरु सन्यासी र साधु हैनन् जसलाई दुनियाको परवाह छैन र आफू निर्वाण प्राप्त गर्न भनि जंगलमा तपस्या गर्न जान्छन । त्यस्तै माक्र्सवादीहरुले सामाजिक रितिथितिको विरुद्धमा नै उभिनुपर्छ भन्ने चिन्तन राख्नु पनि गलत मान्यता हो । माक्र्सवादीहरुले त जनताले अपनाउँदै आएका चलनहरुलाई प्रगतिशील ढंगले नयाँ प्रचलनका साथ मनाउँन प्रेरित गर्नुपर्छ । समाजमा चलिआएका चलनहरु प्रति मानिसको यति धेरै आस्था हुन्छ कि त्यसलाई पूर्णतः अस्वीकार गर्नेहरु त्यो समाजबाट बहिस्कृत हुन्छन । माक्र्सवाद भनेको हिन्दू धर्मले क्रिश्चियन धर्म वा अरु धर्म परिवर्तन गरे जस्तो हैन । माक्र्सवादी हुनु भनेको भौतिकवादी हुनु हो । तर भौतिकवादसँगै द्वन्दात्मक पनि हुनु हो ।

यस अर्थमा जनताले मानि आएको चलनलाई रुपान्तरण गर्न प्रोत्साहित गर्दै जनतासँग घुलमिल हुनुपर्छ । महान कमरेड लेनिनले स्थापना गरेको सोभियत संघ सत्तरी वर्षसम्म समाजवादको झण्डा उठाएर ढल्यो । सत्तरी बर्षसम्म त्यहाँ कुनै न कुनै रुपले आध्यात्मवादका ठाउँमा भौतिकवादलाई स्थापित गर्न खोजियो तर जब समाजवाद भनिएको त्यो सत्ता ढल्यो तब फेरि पुराना आध्यात्मिक सँस्कृतिहरुतर्फ मानिसको झुकाव फेरि अगाडि बढ्यो । नेपालमा दश वर्षसम्म सर्वाहारा साँस्कृतिक क्रान्तिको झण्डा उठाएर जनयुद्ध भयो तर जनयुद्ध बिश्राम हुनासाथ थुप्रै लडाकुहरु आफूले गरेका अन्तर्जातीय विवाहलाई अन्त्य गर्नपुगे । यस्तो किन हुन्छ भने हजारौं वर्षदेखि मानिसको मगजमा थोपरिएको परम्परागत धार्मिक, सामाजिक ऐंजेरुहरु गहिरोसँग गडेको हुन्छ । समाजमा पलाएको त्यस्तो ऐंजेरुहरुलाई भौतिक विज्ञानले जस्तो चट्ट शल्यक्रिया गरेर निकाल्न सकिन्न । यस्ता सामाजिक ऐंजेरुलाई त सामाजिक विज्ञानको हैसियतले धार्मिक, अन्धविश्वासी, ढोंग र पाखण्डको कडा विरोध गर्ने तर रुपान्तरण हुनसक्ने हदसम्म रुपान्तरण गरेर जनतासँग घुलमिल हुँदै जानु नै बढी द्वन्दात्मक भौतिवाद अनुकूल हुन जान्छ ।

माक्र्सवादलाई जडशुत्र मान्नेहरुले मात्र समाजसँग घुलमिल हुने कुरालाई अस्वीकार गर्छ । समाजमा केहि चलन वा पर्वहरु यस्ता छन् जसले अन्य समूदायलाई नीच ठान्ने वा हेप्ने गरि स्थापित गरिएका छन् । त्यस्ता पर्वहरु विल्कूल हटाउँनुपर्छ । जस्तै ः ब्रतबन्ध प्रथा, छोइछिटो प्रथा, महिनावारी बार्ने प्रथा, पुरुषका लागि ब्रत लिने चलन ईत्यादीलाई निर्ममतापूर्वक बिरोध गर्नुपर्छ । तर दशैं, तिहार जस्ता पर्वहरुलाई रुपान्तरण गरि मनाउँन सकिन्छ । पुष्पलालले कम्युनिस्ट पार्टी गठन गरेपछि तीजलाई प्रगतिशील ढंग मनाउँन थालियो । त्यस्तै तिहारमा देउसी, भैलो सबैभन्दा बढी कम्युनिस्टहरुले नै खेल्छन । किन ? किनकि माक्र्सवादीहरुले समाजसँग एकता संघर्ष र एकताको नियमबाट चल्नुपर्छ भन्ने सोचाईका आधारमा सामाजिक चलन र पर्वलाई रुपान्तरण गरेर मनाईएको हो । 
दशैंलाई मान्नुहुन्न भनेर ठूलाठूला तर्क गर्ने तर भित्रभित्र परम्परागत ढंगले जमरा र भगवती पाठ गर्ने माक्र्सवादीहरुको हामी कहाँ कमी छैन । ती माक्र्सवादीहरु ढोंगी र पाखण्डी माक्र्सवादी हुन । तर कतिपय अवस्था यस्तो हुन्छ कि परिवारका हजुरबुवा, हजुरआमाहरुले सफा हृदयका साथ टीका थाप्न आओस् भन्ने चाहना राख्छन् । वहाँहरुको चाहनालाई कुल्चिएर मलाई तपाईंको आशिर्वाद लिनु छैन भन्ने ढंगको व्यवहार देखाएर वहाँहरुलाई माक्र्सवादी आन्दोलनमा समावेश गराउँन सकिन्छ कि वहाँहरुको भावनाको कदर गर्दै त्यसभित्रका विकृतिहरुको बारेमा सम्झाएर वहाँहरुलाई आन्दोलनमा सकारात्मक बनाउँन सकिन्छ ? गम्भिर भएर सोचौं त ! आफ्नोमा टीका लगाईमाग्न आउँने भान्जाभान्जी, भाईबुहारीहरुलाई टीका लगाईदिन्न भन्नु उचित छ कि उनीहरुलाई म भौतिकवादी भएकोले देवीपूजा, जमरापूजा गर्दिन भन्दै आध्यात्मिक मन्त्र फूकेर हैन बिज्ञानको विकास गर्न , श्रमजीवीको सम्मान गर्न आग्रह गर्दै टीका लगाईदिनु बढी सन्देशमूलक हुन्छ ? सोचौं त !

दशैंमा हुँदै नभएका कथित देवी देवताहरुको आराधना गरेर मानव मस्तिष्कलाई ढुंगामूढाको अगाडि नतमस्तक पार्ने जुन कार्य हुँदै आएको छ त्यसका विरुद्ध मानव चेतनालाई बैज्ञानिक बनाउँन तर्फ माक्र्सवादीहरुले पहल गर्नुपर्छ । जनताले स्वीकारेका कुनै पनि पर्वहरुको विरुद्धमा उभिएर हिंड्नु गैह्र माक्र्सवादी शैली हो र यस्तो शैलीले माक्र्सवादभित्रको समाजशास्त्रीय पक्षको उपेक्षा गरेको ठहर्छ । 

दशैंलाई परम्परागत सामन्तवादी चिन्तन बमोजिम दुईवटा मान्यताका आधारमा मनाईन्छ — एउटा देवी दुर्गाले दानवहरुको विनाश गरी देवताहरुको रक्षा गरेको आधारमा र दोश्रो भगवान रामले भगवतीको पूजा गरी लंका युद्ध लडेर लंकाका राजा रावणलाई परास्त गरेको मान्यताका आधारमा । 

 

दशैं पर्वलाई बुझ्दा मुख्यगरी देवता बंश अर्थात सामन्ती राजाहरु र राज्यसत्ताले अर्को दानब बंश अर्थात अर्को सामन्ती राजाहरु र राज्यसत्तालाई परास्त गरेपछि खुशियाली मनाउँन चलाईएको चलनका रुपमा नै बुझ्नुपर्छ । देवता बंशका सामन्तीहरुले धेरै प्रबृत्ति र चिन्तनका शत्रुहरुलाई परास्त गरेको हुनाले नै यसलाई महान भनिएको हो । दशैंका क्रममा शुम्भ, निशुम्भ जस्ता दानब बंशका सामन्ती राजाहरुको अवसान पनि गाँसिएको छ भने अर्को तर्फ महिषाशुर जस्तो हलि गोठालाहरुको मोर्चाको नेता पनि मारिएको छ । नेपालमा मल्ल बंश, शाह बंश, अभिर बंश, किरात बंशले विभिन्न समयमा राज्यहरुमा शासन चलाएको हामीले पढेका छौं । अझ बाईसे र चौैबिसे राज्यहरु दुईसय बर्ष अघिसम्म नेपालमा थियो । यसै अनुरुप पनि हजारौैं बर्ष अघिको समयमा देवता गण वा बंश र दानव गण वा बंशका विभिन्न राज्यहरु हुनु र ती राज्यहरुबीच झगडा हुनु स्वभाविक थियो । देवताहरुबीच मोर्चा बन्ने र दानबहरुबीच पनि मोर्चा बन्नै भएर युद्ध भएका पनि प्रशस्त देखिन्छ । महिषाशुरले दास यूगका समयमा विभिन्न राज्यका रजौटाहरुका रुपमा शासन गरि रहेका देवताहरु अर्थात समान्ती राजखलकहरुका विरुद्ध हलि गोठालाहरुलाई संगठित गरी युद्धको शंखघोष गरेको हुनसक्ने देखिन्छ । मालिक वर्गको अत्याचारका विरुद्ध दासहरुको विद्रोहको रुपमा महिषाशुरले युद्ध चलाए तर उनी सामन्ती देवता देवीहरुको बंशको सत्ताद्घारा मारिए अनि कालान्तरमा विजयी देवता बंशको राज्यसत्ताले महिषाशुरलाई दाह्रा नंग्रा निस्किएको राक्षसका रुपमा प्रस्तुत गरेर छाड्यो । महिषाशुरले भैंसीमाथि चढेर युद्ध गर्न आएबाटै प्रष्ट हुन्छ कि उनले दास बर्गको प्रतिनिधित्व गरेका थिए । त्यस यूगमा सर्वाहारावादी चेतनाको विकास नभएकोले दास नेता भएर पनि देवताहरुको राज्यहरु कब्जा गरेपछि महिषाशुरले आफूलाई राजा घोषणा गर्नु स्वभाविक देखिन्छ । तसर्थ देवी दुर्गाले आफ्नो नेतृत्वमा मूलतः देवता बंशको राज्य र कथित स्वर्ग भनिने राज्यको रक्षा गरेकीले उनलाई महान बनाएर पूजा गर्ने चलन तत्कालिन सामन्ती देवता बंशको राज्यसत्ताले चलाएको हो । 

दशैंलाई रामले रावणको बध गरेकामा खुशियाली मनाईएको पर्वका रुपमा पनि लिईन्छ । राम पनि अयोध्याका सामन्ती राजा नै थिए । पारिवारिक झगडाका कारण दरबारबाट विस्तापित भएका रामले अर्का सामन्ती राजा रावणलाई मारेपछि यो पर्वलाई रामको जीतका रुपमा विजया दशमी भनी मनाउँन थालिएको हो । रावण बध पछि अयोध्यामा रामको पक्षमा विजय लहर छायो र उनी फेरि राजा बन्न पाए । उनी विजय नभएको भए अयोध्या दरबारमा लक्ष्मण र भरतको हुतिले मात्र राम राजा बन्नसक्ने सम्भावना कमै हुन्थ्यो । राम भगवान हैनन् तर उनलाई भगवान बनाईएको हो । भगवान त मान्छेको कमजोर मगजले जन्माएको अबैैज्ञानिक कल्पना हो । रामको जीतको पर्वले त्यसबेला पनि श्रमजीवी वर्ग, महिला, दलितको मुक्तिको पक्षको वकालत गर्दैैन । रामले दरबारीया भए पनि सानो कुरामा सीतालाई त्यागे, दलित भएर बेद पढेको भनी दलित संबुकलाई मारे, उनी पनि जंगलयात्रामा बाहेक अरुबेला दरबारको ऐश आराम र धन दौलतमा रमाएर बसे , सीतालाई आत्महत्या गर्न बाध्य पारे । यस्ता अत्याचारी रामलाई भगवान भन्नु नै मुर्खता हो ।  तसर्थ एउटा सामन्ती राजा रामले अर्को सामन्ती राजा रावणलाई मारेको खुशियालीमा सर्वाहारा , श्रमिक,किसानहरुले पर्व मनाउँनुपर्ने कुनै कारण देखिंदैन । 

जनताले परम्परागत रुपमा दशैं मनाउँदै आएकाले जनतासंग घुलमिल हुन प्रगतिशीलहरुले पनि दशैंलाई मनाईदिँदा फरक पर्दैन तर दशैंको भाष्यमा परिवर्तन गरिनैपर्छ । दशैंमा टीका लगाउँने शैलीलाई गलत भनिहाल्न मिल्दैन किनकी टीका लगाउँनु भनेको आध्यात्मवादी बन्नु भनेको हैन । जनयुद्ध लडेका योद्धाहरुले पनि युद्ध जिते पछि अविर वा रगतको टीका लगाउँने चलन माक्र्सवादीहरुका बीचमा पनि चलि आएको छ । कमरेड प्रचण्डले रातो अविर निधारमा लगाउँनु र आध्यात्मवादी ब्राह्मणहरुले ठाडो चन्दन र अविर लगाउँने कार्य हेर्दा उस्तै देखिए पनि सारमा टीकाको अर्थ फरक छ । आफू भन्दा ठूलाबडाले ठूलो मान्छे बन्नु भनेर टीका लगाउँने कार्यले कसैको शोषण त गर्दैन । बरु आशिर्वाद लिंदादिंदा राम,दशरथ,नहुश,दुर्योधन,बिष्णु,सन्तनु जस्ता सामन्ती राजाहरु र द्रोण,बलराम जस्ता सामन्ती राज्यसत्ताका सेवकहरुको चाकरीमा श्लोक फलाक्ने कार्य भने निश्चितरुपमा सामन्ती कार्यशैली नै हो । दरबारमा सुनका मुकुट लगाएर सुन र हिराका गद्दीमा बस्ने मरिसकेका कथित ईश्वरहरुको चाकरी गरेर श्रमजीवीहरुले केहि पाउँनेवाला छैनन् । ज्ञानेन्द्र लगायतका सामन्ती राजाहरुले मन्दीर,धर्म र ईश्वरको गुनगान गाए जसरी श्रमजीवीहरुले ईश्वरको आरती गरेर खान लाउँन पाउँने पनि हैन । बरु आशिर्वाद लिंदादिंदा माक्र्स, चे ग्वभेरा, आईन्स्टाईन्ट, न्यूटन,पारिजात ई. जस्तो बन्न आग्रह गरियो भने त्यो उपयुक्त देखिन्छ । अझ धनसम्पत्ति प्राप्त होस् भन्ने हैन, श्रमजीवी बन्न र किसान मजदुरलाई महान ठान्न आग्रह सहितको कामना गर्नु उपयुक्त देखिन्छ । आशिर्वाद लिने र दिने काम नै सामन्ती भने हैन । त्यो त जिन्दावाद, अमर रहुन भन्ने नारा जस्तै सकारात्मक आग्रह हो ।  

दशैंमा हिंसा र काटमार गर्ने शैलीको प्रगतिवादीहरुले विरोध गर्नुपर्छ । प्रत्येक घरमा खसी,बोका काटनै पर्छ र यसरी घरमा जनावरको रगत बगाएन भने देवी खुसी हुँदिनन् भन्ने मान्यतालाई ध्वस्त पार्नुपर्छ । मानव जस्तो बुद्धिमान प्राणीले आफू भन्दा कनिष्ट बुद्धि विवेक भएको जनावर मारेर खुशियाली मनाउँनु मुर्खता बाहेक अरु केहि हैन । अझ यस्तो काटमारले मानिसहरुमा हिंसा संस्कृतिको विकास गर्छ । जनावर काटदा हात नकाम्ने मानिसले मानिस मार्दा पनि हात नकाम्ने शैलीको विकास गर्छ । तसर्थ छुट्टै पशुबधशाला बनाएर सामान्य मानिसहरुले काटमार हेर्न नपर्ने प्रणाली राज्यले बनाउँन जरुरी छ । माक्र्सवादको जन्म समाजमा हिंसाको सँधै अन्त्य गर्न बनेको हो । माक्र्सवादले त हिंसामा टिकेको राज्यसत्तालाई हिंसाबाट मात्र हटाउँन सकिने सत्य स्थापित गरेको मात्र हो । अहिले जसरी मानवअधिकारको पक्षमा सबैतिर आवाज उठेको छ , त्यस्तै गरि मानिस जस्तै चेतना भएको तर चेतना विकशित भइनसकेको पशुहरुको पशुअधिकारको पनि आवाज तीब्र बनाउँन माक्र्सवादीहरुले नै अभियान चलाउँनुपर्ने हो । कथित दुर्गा भवानीले पृथ्वीका जनावरहरुको रगत चाटेर दशैंको आनन्द लिने हो भने त्यस्ता हिंस्रक देवीको आराधनामा विवेकशील मान्छेहरुले समय बर्वाद पनि त गर्न हुँदैन नि !

दशैंका समयमा आफूलाई प्रगतिशील र माक्र्सवादी बताउँने पुरुषहरु विहान देखि बेलुकासम्म तास र जाँडमा मग्न रहेको समेत देख्न पाईन्छ । तिनै कथित माक्र्सवादीहरुका श्रीमतिहरु भने दिनभर पाहुनाहरुका लागि खाना पकाउँन भान्सामै बसेर काम गरिरहेका हुन्छन् । यस्तो असमानताको सबैले विरोध गर्नु जरुरी भएको छ । आफूलाई कम्युनिष्ट भन्ने अनि दशैं मनाउँदा राम र दुर्गाको पूजा गर्ने, आफूलाई माक्र्सवादी भन्ने अनि “आयू द्रोण सूते .......” भनी आशिर्वाद फलाक्ने , आफूलाई प्रगतिवादी भन्ने तर घरमा श्रीमतीलाई पर्वभर भान्सामै कोच्याएर राख्ने । यी हुन दशैंका सन्दर्भमा आईपर्ने अबैज्ञानिक, अमाक्र्सवादी र सामन्ती कार्यशैलीहरु । तसर्थ हामीहरुले हाम्रो गाउँघरका कम्युनिष्ट भनाउँनेहरुले यस्तो कार्य गरेछन भने सँच्चा कम्युनिष्टहरुले उनीहरुको भण्डाफोर गर्ने र प्रगतिशील संस्कृतिलाई आत्मसाथ गर्दै दशैंलाई जनताके घर दैलोमा मनाउँनु पर्छ । अझ दशैंलाई पर्वका रुपमा हैन सामन्तवादी संस्कृतिले थोपरेको दशाका रुपमा मनाईरहेका जनताहरुलाई सामन्ती देवी देवताहरुको गुनगान गाएर आफ्नो आर्थिक अवस्था कमजोर बनाउँन जरुरी छैन भनी प्रगतिशीलहरुले सम्झाउँनुपर्छ र सामन्ती राज्यसत्ता समाप्त गरेर कम्युनिष्ट ब्यवस्था ल्याएपछि मात्र गरीब,दास,मजदुर , किसानहरुले श्रमजीवी वर्गको विजयका रुपमा दशैं मनाउँन आग्रह गर्नुपर्छ । 

दशैेंलाई देवीको पूजा र भगवानको स्तुतिका रुपमा हैन बरु जनताको एउटा तप्काले सदियौंदेखि रमाईलो मान्न अपनाएको पर्व भएकोले समाजसंग अलग्ग नहरने अर्थमा द्वन्दात्मक भौतिकवादी ढंगले मनाउँनु आवश्यक छ । चाड पर्वहरुका आध्यात्मिक र अबैैज्ञानिक पक्षलाई हटाएर बैैज्ञानिक र प्रगतिशील पक्षहरुको बिश्लेषण गरी त्यसै अनुरुप चाडपर्व मनाउँने शैलीमा प्रगतिशील रुपान्तरण गरेर मनाउँनु उचित हुन्छ । दशैं मनाउन चाहनेहरुले जुवा र तासमा पैसा र समय खर्च नगरी दशैंको आध्यात्मिक पक्षलाई भत्काउन लागि पर्ने अनि जुवा तासमा हुने खर्च गाउँघरका गरीबहरुलाई प्रगतिशील चेतना सहित सहयोग गरेर यसपालीको दशैं मनाउँने हो कि !
 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर