• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

अनुत्तरित प्रश्न

बिहानको समय थियो घरमै सरसफाई गर्दै थिए त्यसै क्रममा म घर अगाडिको नाला र सडक सफा गर्न भन्दै नाला र सडकमा फालिएका प्लास्टिकका ग्लास, पोलोथिनहरु निकाल्दै थिए । 

त्यति नै बेला घर नजिकैको एक जना छिमेकी काकी नातिलाई काखमा लिएर कहीँ जाँदै हुनुहुन्थ्यो बाबु एकदमै रुदै थियो सायद उसलाई चुप गराउन उहाँले मतिर औँलाको इसाराले देखाउँदै भन्नुभयो ‘देख दिदी आइ फेरसँ मेहत्तर बनल छै’ अर्थात् दिदी आज फेरी पनि सडक नाला सफा गर्ने बनेकी छिन् । 

यो कुरा सुन्नेबित्तिकै मेरो मनले अनेकौ कुरा भन्न खोज्यो काकीलाई तर मुखले भने बोली फेर्दै मुसुक्क हाँसेर जवाफ फर्कायो ‘काकी साफ करब जरुरी छैक ने’ अर्थात् काकी सफा गर्न जरुरी छ नि त । 

त्यसपछि उहाँ त्यहाँबाट निस्किनु भयो तर मेरो मनबाट भने उहाँले भनेको शब्द अहिलेसम्म निस्किन सकेको छैन । के सरसफाई गर्न कुनै जात विशेषकै जिम्मा छ त ? के हामी ब्राह्मण, कायस्थ सहितकाले सरसफाई गर्नु शोभायमान् छैन् र ? के हामी नाम मात्रकै २१ औँ शताब्दीको आधुनिकताको पोखरीमा तैरिदैँ छौ त ? 

हामी कुरा त समानता, भेदभाव, छुवाछुतको गर्ने गरेका छौँ तर के हामी  मेश्तर, डोम, चमार लगायतका जातजातिले गर्ने कामको समानतामा स्पष्ट छौँ त ? के उनीहरुको काम मात्रै हो सडक नाला, शौचालय सफा गर्ने आदि इत्यादि ।

मलाई घरमा फुर्सदको बेला प्रायः सरसफाईमा गर्न मन लाग्छ र म गर्छु पनि । तर त्यो सरसफाईको अवधिभरीमा मलाई सडकबाटो भएर जाने छिमेकीबाट यस्तो टिकाटिप्पणी सुन्ने बानी नै भइसकेको छ । भारतीय युवा कविको रुपमा निखारिंदै गरेका अपूर्व विक्रम साहको एउटा कविताको केही पंक्ति मैले यहाँ साझा गरेकी छु ‘जो सरहदपर तो जा नसके पर अपना फर्ज निभाते हैँ, अस्वच्छता नामक सत्रुसे देश बचाते हैँ दो पल आज उनके नाम करता हुँ, जो सडक नाले साफ करते हैँ उन्हे सलाम करता हुँ, 
घिन आती है लोगोको जिन्से जमाना जिसे धिक्कारता है, वही सच्चा सैनिक है जो गन्दगीको मारता है, दुनियाके नजरोमे जो कुरेकवाडीबाला है, सही मायनेमे वही देशका रखवाला है ।’ उनले लेखेका प्रत्येक शब्दले एउटा महत्वपूर्ण सन्देश दिएको छ । आउँदै गरेको लक्ष्मी पूजाका लागि हामी सबैले आ–आफ्नो घरमा सरसफाईमा व्यस्त छौँ त्यहाँ न कुनै मेहत्तरको आवश्यकता छ न त हामीलाई घिन नै लाग्छ । तर, त्यही कुरा जब सडकमा फालिएका फोहोर उठाउने सवाल आउँछ भने हामीले एकै स्वरमा भन्छौ सरसफाई गर्नेबाला आएपछि सफा गर्लान् । 

यदि लक्ष्मीपूजाकै लागि दिनरात गरी घरआँगन बारी सरसफाईजस्तै कम्तीमा आ–आफ्नो घर अगाडिको नाला र फोहोर आफैँले उठाएर फाल्यौँ भने न त त्यहाँ हाम्रो इज्जत घट्छ न त हाम्रो मनभित्रको ग्लानी नै रहन्छ ।  

जुन समाजले आफ्नो घर अगाडिको फोहोर नाला र सडक सफा गर्न कुनै जात विशेषको ‘उपमा’ दिने गरेको छ के वास्तवमा यही हो समानताको परिभाषा ? यस्ता कयौं प्रश्नहरु खेल्ने गरेको छ मेरो मन तर उत्तर कहाँ र कोसँग खोजु भन्नेमा अहिले पनि असमञ्जसमै छु । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर