• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सबैभन्दा खतरनाक !

हरेक साल 
युध्दलेभन्दा बढी
बाढी पहिरोलेभन्दा बढी
कुनै सुनामीलेभन्दा बढी 
मरिरहेछ मान्छे भोकले 
भोक,
सबैभन्दा खतरनाक हुन्छ !

क्यान्सर या एड्स 
क्षयरोग या हृदयाघात
यी खासै खतरनाक होइनन् 
मान्छे रोगले पनि मरिरहेकै छ 
तर,
सबै रोगहरू मिलेर पनि
उछिन्न सकेका छैनन् भोकलाई !
भोक नै  खतरनाक हो सवैभन्दा !

इस्लामिक स्टेट या लस्करे तोएवा
हिजवुल्लाह या अमेरिकी सरकार
यी पनि खास खतरनाक होइनन्
मान्छे यिनीहरू पनि मार्छन दैनिक
तर भोकले जति मानिस मार्छ
त्यो यिनीहरू सवैकोभन्दा बढी छ !

सबैभन्दा खतरनाक हुन्छ–
भोकाएको मान्छे
त्योभन्दा खतरनाक हुन्छ
मान्छेलाई भोकै राख्ने व्यवस्था 
भोकले अत्याएपछि
मान्छेकै मासु खान तयार हुन्छ भोक
भन्नुस त भोक कति खतरनाक छ !

यो धरतीमा 
अरबौँ भोकाहरूलाई बाँकी राखेर
परमाणु बममाथि सुते पनि
मान्छे फिटिक्कै सुरक्षित छैन
भोकले छटपटाएको मान्छे
परमाणु बमसँग डराउँदैन
मान्छे जहिले पनि
बमभन्दा शक्तिशाली हुन्छ !

अपमानले पोलेको छात्ती
विभेदले चिथोरेको दिल
दमनले सल्केको प्रतिरोधको दावानल
यी सबै खतरनाक हुन्छन्
तर,
ती सबैभन्दा खतरनाक हुन्छ
मान्छेको आदिम भोक !

मिल्काइदेऊ यी बन्दूकहरू
विघटन गरिदेऊ सेना 
भत्काइदेऊ नाथे राज्य
यी सवै अनावस्यक हुन 
सक्छौ भने यौटै काम गर–
कोही भोकै बस्नु नपर्ने ऊपाय रच 
जव कोही भोकै रहने छैन 
यी बन्दुकहरूमा खिया लाग्ने छ
बन्दूक भन्दा खतरनाक हुन्छ भोक
किन कि–
बन्दूकसँग भोक डराउँदैन
भोकसँग हरदम डराउँछ बन्दूक !
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर