• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018/ 02:06 pm

चाडपर्व

१.सरल सभ्य शिष्ट शालीन प्राणी मानिस । समाज यसको परिचायक । विशिष्ट जीवन शैली । भिन्न प्रकृतिका नवीन गतिविधि गरेर भौतिक सुख सुविधा उपयोग गर्न सिपालु । अरू प्राणी कज्याउन सक्ने विशेष क्षमतावान् प्राणी । विगत, वर्तमान र भविष्यको जोखाना हेरेर कर्म गर्ने । स्वार्थ र त्यागको सम्मिश्रण । हिजोको आडले अग्लिएर वर्तमानसित पौंठेजोरी खेली भविष्यलाई भकारी बुन्ने सिप आर्जनमा तल्लीन । 

बेग्लै विशेषता र लामो परम्परासित जोडिएको सन्दर्भसहितको सभ्यता चिनाई इतिहास खोतल्ने वंश परम्परा पारखी मानिसको महानता बताउने सजिला अनि बलिया माध्यम यसकै जीवनसित हुर्किंदै आएका चाडपर्व । जीवन बाँच्ने क्रममा परपर पुगेका आफन्तलाई नजिक ल्याउने, मनमैलो पखालेर निर्मल पार्ने, आत्मीय साइनो सुरक्षित गर्ने रमाइलो गरेर आत्म सन्तुष्टि प्राप्त गराई प्राचीन इतिहास जोगाउने पूर्वज सूचना पनि हुन् यी चाडपर्व । पर्वकै नाउमा सुटुक्क पसेर माहामारी फैलाउन बल गर्ने तुजुकलाई घुच्चुकमा ठोक्ने शिष्ट पर्वपरम्परा बिर्सेर मानिस निज रमाइलो तुजुकमा खुम्चिएको खुम्चियै छ । यो भयावह विसंगति हो ।

२. मानिसले ढुंगेयुग छाडेर सभ्यातासित साइनो गाँस्ने गतिविधिबाट चाडपर्वहरू जन्मेको देखिन्छ । मान्छेमान्छेको संख्या बढ्दै र भिन्नभिन्न समुदायमा विभाजित भई आ–आफ्नो जीवनशैली निर्माण हुँदै आयो । रहनसहन जीवनपद्धतिका महत्वपूर्ण घटना सन्दर्भहरू किंवदन्तीमा परिणत हुँदै जाँदा दसैं, तिहार, इद, छठ, माघी, होली, ल्होेसार, गुरुपूर्णिमा आदि रमाइला पर्वले स्थान लिँदै र पुस्तान्तरण हुँदै आए । परापूर्व कालदेखि नेपाली सभ्यताका किंवदन्तीहरूसित जोेडिएर सांस्कृतिक रूप दिइँदै एक किसिमले मनाइँदै आएको परम्परा बताउँछन् यी पर्वहरू । यस परम्पराले पुख्र्यौली सम्पदाको रूप लिएर जनमनमा गहिरो प्रभाव पारेको पनि पाइन्छ । चाहेर पनि हत्तपत्त छुटाउन वा सच्याउन सकिएको छैन । 

लेखक

यी परम्पराको वैदिक–पौराणिक विशेषता पहिचान गरी सरल ढंगले मानवीय संवेदनाको जतन पनि हुने र चाडपर्वको निहुमा भित्रिएको हुने खाने र हुँदा खानेबिचको खाडल सम्याउनु तथा मादकपदार्थ सेवन र जुवातास जस्ता विसंगति बढारिने उपयुक्त निकास निकाल्नु अनिवार्य देखिन्छ । यसका लागि आवश्यक विज्ञानसम्मत सोच, परिपक्व व्यवहार अनि विश्लेषणात्मक शैली पछ्याउने प्रयास पनि भएको देखिँदैन । पर्वहरू नमाउने कुराले सर्वसाधारण जनमनमा नकारात्मक प्रभाव पारेर विद्रोह उत्पन्न गराउने सम्भावना रहन्छ । चाडपर्व नमनाउने कुरमा आप्mनो अस्तित्व बिर्सनु हो भन्ने भ्रम छ । किंवदन्तीलाई धार्मिक आस्थामा जोडेर व्याख्या गरिएकाले यस्ता किंवदन्ती जनविश्वास बनेर टाँसिएका हुन् । जोडबल लगाएर उखेल्दा जनमानसले पर्व विशेषको वैज्ञानिक महत्त्व बुझ्न र विषमपरिस्थिति छिचोल्न, गतिशील जीवनका लागि कति आवश्यक छन् चाडपर्व भनी थाहा पाउन सक्तैनन् ।

कतिपय पर्वहरू बिरालो बाँधेर श्राद्ध गर्ने परिपाटीको निरन्तरता मात्रै त होइनन् ? बुभ्mनु÷बुझाउनु जरुरी देखिन्छ । वर्तमान समाजमा यस्तो अवस्था छ । त्यसैले पर्वको आवश्यकता कति हो वा होइन भन्ने कुरालाई मसिनो गरी केलाएर सरल प्रकृतिका बहस जनतहमा पुर्याउनु जरुरी हुन्छ । चाडपर्वका सबल र दुर्बल दुवै पाटाको केस्रा–केस्रा केलाएर सर्प  मरोस् तर लौरो नभाँचियोस् भन्ने उखान चरितार्थ नगराई हँुदैन । यो सचेत छु भन्ने प्रत्येक नागरिकले बिर्सन नहुने परमकर्तव्य पनि हो ।

३. चाडपर्वका नाममा हुने खर्च र व्यवहार समाज सुहाउँदा कति छन् र हुन्छन् ? समाजमा बस्ने सबैको भावनाले सम्मान पाउँछ वा पाउँदैन ? पर्व महोत्सव मनाउने शैली सबै जनताको क्षमता अनुकूल छ कि छैन ? कतै देखासिकी र करबलमा परेर चाड मनाउनका लागि रिनधन गर्ने र वर्षभरि साहुको काममा दलिनु पर्ने सामन्ती चिन्तनले मलजल पाइरहेको त छैन ? यसतर्फ गहिरो मन्थन गरी अघि बढाई संस्कार र संस्कृति नाम दिइएका दसैंतिहार मात्र किन खर्चिला र भड्किला चाडपर्व जति छन् ती सबै चाडपर्व तथा महोत्सव मनाउने ढंगढाँचामा परिवर्तन ल्याई मितव्ययी हुनु बुद्धिमानी हुन्छ ।

पर्व मनाउँदा धेरै जनतालाई सहज हुने तरिका अपनाउनु पर्ने हुन्छ भने यी पर्वहरूसित वर्षौंदेखि जोडिँदै आएका मान्यताहरू मानवीय अस्तित्व र राष्ट्रिय पहिचानका लागि कति उपयोगी छन् ? वैज्ञानिक निक्र्यौल खोजिनु अनिवार्य हुन्छ । चाडपर्व सरल सहज सुलभ ढंगले मनाउँदा कस्तो प्रभाव जान्छ, परम्परामा के भिन्नता देखिन्छ ? नमनाउँदा के हुन्छ ? सङ्घारमा आइपुगेका दसैं, तिहार, छठ, लोसारको सन्दर्भ लिऔं । दुर्गमका कति जनताले सितो देख्न पाएका हँुदैनन् यहाँ (सहर वा सुगममा) अक्षता बनाएर मुरिकामुरी चामल सिद्धयाइन्छ । यसको अर्थ के हो ? विकल्पमा रातो अबिर मात्र प्रयोग गरे के होला ? अवस्था लहरो तान्दा पहरो थर्किंदो छ । कुरा ग¥यो कुरैको दुःख यसो भनेर मौन बस्दा पनि निकास निस्किँदैन । 

मौन बसेर अनिर्णयको बन्दी भई खुम्चिनुलाई संघर्षशील मानवले पछ्याउने गतिशील चिन्तन मान्न सकिँदैन । पर्व जुनसुकै होस् आर्थिक रुपले पछि रहेका जनता पिरलोमा परेकै हुन्छन् । यहाँसम्म कि धुमधामसँग सहभागी हुन नसक्ता समाजै छाडेर भाग्नु परेका घटनाहरू प्नि सुनिन्छन् । यस्तो भयावह समस्याको चुरो पहिचान गरी निकास पहिल्याउने काम बाँकी राखेर गरिएकाले विगतका क्रान्तिहरू संशोधनतर्फ मोडिए । अब हुने क्रान्ति पूर्व यी प्रश्नहरूको सम्बोधन भई स्पष्ट दृष्टिकोण बनाएर अघि लाग्नु जाती हुन्छ ।
४. कुनै पनि जाति वा समुदायका चाडपर्व किन नहुन् ती व्यक्तिविशेषसित जोडिएकै हुन्छन् । व्यक्तिको त्याग तपस्या योगदान मानवीय चरित्र निर्माणमा सफल पूर्वजको सम्मानस्वरूप पर्व महोत्सव मनाउने परम्परा बसेको पाइन्छ । यिनै परम्पराले धार्मिक आस्था र सांस्कृतिक मान्यता बनी जनमनमा दरिलो प्रभाव पारेका हुन् जसले वर्षौंदेखिका किंवदन्ती डोर्याउँछन् । समयान्तरमा विशेष योगदान गर्ने व्यक्ति वा राष्ट्रिय अभियानहरू थपिँदै जाँदा वर्षभरि नै महोत्सवमा सहभागी हुनुपर्ने तर महत्त्वपूर्ण कामहरू पछिपछि सर्दै जाने परिस्थिति देखिएको छ । 

अझ भिन्न भिन्न समुदायका विशेषतासमेत समेटिनुपर्दा त देशको प्रशासनिक तथा विकासका काम गर्ने दिन भन्दा पर्व महोत्सवमा सहभागी हुने दिन बढी हुँदै छन् । यसबाट देश विकास र सामाजिक प्रगतिमा बाधा पुगेकै छ । त्यसैले राष्ट्रिय विभूतिहरूमा सम्मान व्यक्त गर्ने साझा दिन निर्धारण गरी विभिन्न समुदायमा उच्च योगदान गरेका असल पूर्वजप्रति श्रद्धाप्रकट गर्ने पर्वरुपी किंवदन्ती पनि नयाँ महोत्सवसित जोडिँदा विदाका दिन घट्ने तर राष्ट्रिय विभूतिहरूप्रतिको सम्मान कम नहुने उपाय खोजिनुपर्छ । उदाहरणको रुपमा ः बुद्ध, अरनिको, विद्यापति, भानु, मोती, फाल्गुनन्द, इमानसिंह, जयपृथ्वीबहादुर, पहलमानसिंह, ताराप्रसाद, लक्ष्मी, हृदयचन्द्र, लेखानाथ, गोपालप्रसाद, बालकृष्ण, भूपी, सिद्धिचरण, हर्क, पारिजात, पासाङ, कृष्णसेन, लैनसिंह, देवकुमारी, केबलपुरे, गोविन्द, घनश्यामजयन्ती जस्ता साहित्यिक व्यक्तित्वको सम्झनामा एकसाथ सप्ताहव्यापी राष्ट्रिय महोत्सवलाई दसैंसित जोडेर मनाउने परम्परा पर्वविशेषले भित्र्याउने विसंगति घटाउने र जातीय सद्भाव बढाउने उत्तम विकल्प बन्न सक्छ । प्राचीन मान्यता डो¥याउँदै आएका पर्वहरूमा यस्तो नयाँ शैली थप्तै  जानु आवश्यक पनि हुन्छ । 

यसैगरी तीज र नारी दिवस, बकरिद–तिहार–छठ–उँधौली–बालाचतुर्दशी र संविधान दिवस, राजनीतिज्ञ र सहिद दिवस, कानुन र मजदुर दिवस, लोसार–माघी–वसन्त पञ्चमी–शिवरात्रि, होली र बाल दिवस जस्ता महोत्सवसँगै मनाउने विधि बसाउने हो भने पर्व संख्या घटाउन मात्र नभई समय बचाउन, खर्च कम गर्न, बहुजातिबिच भाइचारा बढाउन सकिन्छ । मेरो गोरुको बाह्रै टक्का भनी जिद्दी गर्न र अरूले के गर्दै छन् भनेर पछि लाग्न छाडेर हामीले के गर्ने भनी फराकिलो छातीले गतिशील चिन्तन बोकेर सम्मानजनक शैलीको छलफल–बहस चलाई वैज्ञानिक ढङ्गले व्यावहारिक निष्कर्षमा पुग्नु देश र जनहितअनुकूल हुन्छ । यस्तो प्रयास भविष्यद्रष्टा विकल्प पनि हो ।

५. वर्षौंदेखि थिचिएको समुदायलाई उठाउने काम गर्न साँच्चै खोजिएको हो र समाज परिवर्तनको भरिलो योजना छ भने बोली र व्यवहारले मेल खानु पर्छ । गुरु बनेर निर्देश गर्ने तर शिष्य बनेर अनुशासन पालना गर्नुपर्ने कर्मयोगी साधनासित डराएर भाग्ने विगतको शैलीमा सचिएर प्रस्तुत हुन बिलम्ब गर्नु हुँदैन । भविष्यमा यस्तो विचलन दोहोरिँदैन भनेर विश्वास पनि दिलाउनै पर्छ । कमसिकम सामाजिक, अआर्थिक, सांस्कृतिक रुपान्तरणका अगुवाको विचार स्पष्ट, मननीय र दूरगामी प्रभाव पार्न सक्ने हुनु जरुरी हुन्छ । आपूmमात्र नभई नजिकका साथीहरूको बुझाइ र व्यवहारमा पनि यस्तै दृष्टिकोण प्रस्ट झल्काउनु पर्छ अगुवाइ गर्छु भन्नेले । हाम्रा चाडपर्व हाम्रै साझा सम्पदा हुन् भने यिनको संरक्षण संवर्धन हाम्रै ढङ्गले गर्नु जाती हुन्छ नि होइन र ! अस्तु             
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मदनले माओलाई औंला ठड्याएपछि......

  • २८ कार्तिक, २०७५

(स्वर्गको थिएटर कक्ष । आज नेपाल सम्बन्धी बहस मञ्चन हुने भएकोले हल खचाखच भरिएको छ । दर्शक दीर्घामा सबैका आकर्षण थिए—कार्ल माक्र्स, एंगेल्स् । उनीहरु

नेपालको बामपन्थी अर्थराजनीतिको अबको धरातल के हो ?

  • २५ कार्तिक, २०७५

मुलुकभर ८० लाख मानिस निरपेक्ष गरिबीको रेखामुनि छन् । देशमा रोजगारी नपाएर दैनिक झण्डै १५ सय मानिस वैदेशिक रोजगारीमा गइरहेका छन् । त्यसरी रोजगारीमा

चाडबाडका विकृति र विसङ्गति सुधार्दै जानुपर्छ

  • २१ कार्तिक, २०७५

काठमाडौं । तिहार भनेपछि यमुना र यमराजको सम्बन्धको कथा जोडिएर आउँछ । परापूर्वकालमा यमपञ्चकमा बहिनी यमुनाले दाइ यमराजलाई टीका लगाइदिएर यस परम्पराको