• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018/ 02:53 pm

तिहार पर्वबारे फरक दृष्टिकोण

चाडपर्व भौतिकवादी तरिकाले मनाउनुपर्छ

विश्वमा संस्कृति दुई प्रकारको हुन्छ । एउटा काल्पनिक ईश्वरको आडमा सिर्जित आध्यात्मिक संस्कृति र अर्को विज्ञानको मूल्य मान्यतामा उभिएको भौतिकवादी संस्कृति ।  यी दुई संस्कृतिका बीचमा नाफाको मानसिकताले जोडिएर आएको अर्को संस्कृति छ, पुँजीवादी संस्कृति । पुँजीवादी संस्कृतिले विज्ञानको विकासलाई प्रयोग त गर्छ तर उसको मूल ध्येय नाफा कमाउनेसँग भएकोले यसले अमूक धर्मलाई संरक्षण गर्नेभन्दा नाफाका लागि जुन धर्म र संस्कृतिलाई विभिन्न समाजमा घुसाउन सकिन्छ, पुँजीवादी संस्कृतिले त्यही गर्छ । पुँजीवादी संस्कृति आधुनिक विज्ञानसम्मत जस्तो देखिए पनि प्राकारन्तरले सामन्तवादले हुर्काएको धार्मिक संस्कृतिलाई बजार र व्यापारसँग जोडेर लैजाने भएकाले यो आध्यात्मिक संस्कृतिकै पक्षपोषक रहेको छ । 

पुँजीवादले साम्राज्यवादमा विकास गरेपछि भने यसले संस्कृति साम्राज्यवादमार्फत अतिक्रमण गर्दै आएको छ । कुनै पनि देशभित्र स्थापित पर्व वा संस्कृति नाफा प्राप्तिको लागि सहज छ भने पुँजीवादी संस्कृतिले त्यसैलाई नाफामूखी व्यापार र बजारविस्तारसँग जोड्छ तर कुनै पनि देशभित्रको पर्व वा संस्कृति नाफा प्राप्तिका लागि सहज छैन भने यसले त्यहाँको मौलिक संस्कृतिलाई नष्ट गरेर आफ्नो नाफामूखी संस्कृति थोपर्ने गर्छ । यस अर्थमा पर्व वा संस्कृति मनाइरहँदा संस्कृति साम्राज्यवादको नंग्राबाट बच्नेतर्फ पनि सोच्नुपर्छ । 

 लेखक

संस्कृति भन्ने कुरा मानिसको मस्तिष्कमा गहिरोसँग गडेको हुन्छ । धर्मसँग जोडिएर आएको र मस्तिष्कमा गडेको कतिपय मूल्य मान्यताले झुठ र सत्य खोज्दो रहेनछ । इस्लाम धर्मलाई नै हेर्ने हो भने त्यसमा रहेका गलत संस्कृतिको सामान्य आवाजमात्र उठाइयो भने पनि अन्ध धर्मपक्षधरहरुले गोली हान्ने धम्की दिने गर्छन । समाजमा गहिरोसँग जरा गाडेका यस्ता संस्कृति वा पर्वहरुलाई पूर्णतः निषेध गरेर नयाँ संस्कृति र पर्व तत्काल स्थापित गर्ने कुरा गाह्रो विषय हो । तसर्थ पर्व वा संस्कृतिका सवालमा पुरानोको गर्वभित्र पालिने र हुर्किने गरि पुरानोको निषेधमा जानुपर्दछ भन्ने माक्र्सवादी द्वन्द्ववादलाई आत्मसात् गर्नुपर्ने हुन्छ । यो भनेको चलिरहेको पर्व र संस्कृतिलाई धार्मिक अन्धता, आडम्बर र जातीय÷लैंगिक विभेदबाट पर लैजान प्रयत्न गर्नु हो । अर्थात पर्व र संस्कृतिहरुको संस्कृति रुपान्तरण गर्नु हो । 

यसै सन्दर्भमा नेपाली जनताका बीचमा लोकप्रिय रहेको चाड तिहारलाई पनि हेर्नुपर्ने हुन्छ । दसैं पर्वजस्तै तिहार पनि बहुसंख्यक जनताले रुचाएको पर्व भएकाले यस पर्वमा रहेका अन्धविश्वास र अविश्वासिला मिथकलाई हटाउँदै वैज्ञानिक ढंगले मनाउन जनतालाई प्रेरित गर्नुपर्छ । चाडपर्वविनाको समाज र मानव जीवन निरस र खल्लो हुन्छ । पर्व र मनोरन्जन नहुने हो भने आफन्तहरुबीचको नजिकपन र सामाजिकिकरणको अन्त्य भई मानवजीवन मेसिन र यन्त्रजस्तो बन्न पुग्छ । कुनै पनि देशमा रहेका सबै जातिहरुको महत्वपूर्ण सांस्कृतिक पर्वहरुको सांस्कृतिक रुपान्तरण गरी सबैले सबैको पर्व मनाउने वातावरण बन्नुपर्छ । यसले संस्कृति र जातीयताका आधारमा हुने विभेद हट्ने गर्छ ।

तिहार फूलहरु र बत्तीहरुको पर्व हो । यस पर्वमा दसैंमा जस्तो हिंसा संस्कृति मौलाएको देखिंदैन बरु प्रेम र सदभाव भेटिन्छ । चेतनाको विकास भएदेखि नै मानिसले आफूलाई फाइदा गर्ने चिजप्रति अनुग्रहित भई गुनगान गाउने गरेको र आफूलाई हानी गर्ने चिजप्रति भय हटाउन ती चीज र घट्नाको प्रार्थना गर्ने गरेको पाइन्छ । मानिसभित्रको यही अनुग्रह र गुनगान गाउने स्वभावले प्रकारान्तरमा काल्पनिक ईश्वरको पूजा आर्चना गर्ने प्रचलनको जन्मायो । वर्ग विभाजित समाजको विकास भएपछि उच्च वर्गकाले आफ्नो राज्यसत्ताको रक्षामा त्यो स्वभावलाई धर्मसँग जोड्दै ईश्वर/अवतारसम्म रुपान्तरण गरायो । अबको यस वैज्ञानिक शताब्दीमा पर्वहरु मनाउँदा आडम्बर र अन्धविश्वासी मिथकलाई मिल्काउँदै वैज्ञानिक चेतनाका साथ मनाउनु पर्छ ।

दसैंको पन्ध्र दिनपछि तिहार आउँछ । हिन्दी भाषाको त्योहार शब्दबाट विकृत भई तिहार बनेको अनुमान गरिन्छ । यसलाई दीपावली अनि दिवाली समेत भन्ने गरिन्छ । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीदेखि लिएर कार्तिक शुक्लपक्ष द्वितीया तिथिसम्म पाँच दिनसम्म मनाइन्छ । ज्योतिषशास्त्रमा उल्लेख हुने तिथिहरु र शुक्ल/कृष्ण पक्षको जुन विश्लेषण छ, त्यो वैज्ञानिक खोजको उपज हो । यही तिथिहरु र पक्षहरु केलाएर औंसी, पूर्णिमा, ग्रहणजस्ता विषय ज्योतिषिले ठ्याक्क ठ्याक्क मिलाउने गर्छन । तर जब तिथि र पक्षको विज्ञानलाई ग्रहको दोष, ग्रह शान्ति, भाग्य निर्माणजस्ता अन्धविश्वासमा जोडिन थालियो अनि ज्योतिषशास्त्रको वैज्ञानिक पक्ष कमजोर भयो । 

यो पर्व पाँच दिन मनाइन्छ । यो पाँच दिनमा पहिलो काग तिहार, दोस्रो कुकुर तिहार, तेस्रो गाई तिहार (लक्ष्मी पूजा), चौथो गोरु पूजा (गोबर्धन पूजा), पाँचौं भाइ तिहार पर्दछन् । यी सबै दिनका परम्परागत कथा र मान्यताहरु छन्, जसको चिरफार नगरी अवैज्ञानिक सोचाइँले मनाउन एक्काइसौं शताब्दीका मानिसलाई शोभा दिँदैन ।

परम्परागत कथानुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो गरी मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा उल्लेख गरिएको छ । यसरी सँगै बस्दा बैनी यमुनाको व्यवहारबाट खुसी भएर यमराजले बैनी यमूनालाई वर माग्न भनेको र यमुनाले प्रत्येक वर्ष आजकै दिन आउनुपर्ने र दाजुबैनीको माया सधैं कायम रहोस् भन्ने चाहना व्यक्त गरिन् । यमराजले पनि हुन्छ भनेपछि त्यही बेलादेखि यो परम्परा चलिआएको मानिएको हो । यस कथाको भावना साह्रै राम्रो छ तथापि यो घट्ना काल्पनिक कथा मात्र हो । हिन्दू धर्मशास्त्रको यमराज भनेको उमेरको हिसाबकिताब गरी उमेर पुगेकालाई उसको कर्मानुसार स्वर्ग वा नर्क लैजानै पात्र हो । विज्ञानले आजको जमानामा सबैभन्दा टाढाको आकाशगंगाबाट आउने सुक्ष्म किरणको समेत अध्ययन गर्न सकेको छ ।

त्यतिमात्र हैन चिकित्सा विज्ञानको माध्यमबाट विगतमा जुन रोगले मानिसहरु मर्थे अब त्यो रोगले नमर्नेसम्म बनाइसकेको छ । यस्तो अवस्थामा यमराजको कल्पना नै एउटा किम्वदन्ती हो । यस्तो किम्वदन्तीको पात्रलाई साँच्चैको पात्र मान्नु मुर्खता मात्र हो । अझ यमराजलाई सूर्यको पुत्र भन्ने कुरा झन् केटाकेटीलाई फुल्याउन भनिने कथाभन्दा कुतर्कपूर्ण छ । यस्तो अवस्थामा धार्मिक ग्रन्थमा उल्लेख यमराज केवल कल्पना मात्र हो र कल्पनाको पात्रलाई लिएर बनाएको कथा आफैंमा काल्पनिक कथा हुनजान्छ । तर एउटा कुरा के सबल देखिन्छ भने यस पर्वले एकातर्फ मानव तथा पशुबीचको प्रगाढ सम्बन्ध देखाएर पशुको समेत सम्मान गर्नुपर्छ भन्ने सन्देश दिएको छ भने अर्कोतर्फ दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय सम्बन्धलाई बलियो बनाएको छ ।

काग तिहार 
कागपूजा कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइन्छ । काग एउटा चलाख चरा हो । अन्नबाली काटेर घर भित्र्याए पछि खुसीयालीमा दसैं र तिहार मनाइने भएको सन्दर्भ त थाहा भएकै विषय हो । कागले रोपिएको अन्नबालीमा लाग्ने कीरा–फट्याङग्राहरू खाइदिन्छ । यसरी किसानको हितमा काम गरेकोले कागलाई त्यो दिन सम्मान गरिएको हुनसक्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा लिने र काग यमराजको अत्यन्त प्रियभक्त पनि भनिने कुरा भने एउटा काल्पनिक अनुमान र कथनी मात्र हो । यमराजको दुत भन्ने कुरा लेखिएकाले पहिले पहिलेका मानिसले आफ्नो उमेरभन्दा अघि मृत्यु नहोस् भन्नका लागि कागको पूजा गरेका हुन भन्ने कुरामा सन्देह छैन । जेहोस् कागलाई अन्नपानी, रोटी, दुधभात आदि दिइन्छ । मानिसलाई झक्झक्याउने भएकाले यो दिनले मानिसलाई पंक्षीको संरक्षण गर्नुपर्ने चेतना भने दिएको छ । त्यसैले यस दिनलाई रचनात्मक सन्देशको दिनका रुपमा बुझ्ने र पंक्षीको संरक्षण गर्नुपर्ने भन्ने चेतना विकासका दिनका रुपमा मनाउन सकिन्छ ।

कुकुर तिहार 

तिहारको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । यसका सम्बन्धमा पनि धार्मिक कथा बनेकोे छ । हामी सबैले बुझ्नुपर्ने कुरा के छ भने मानिसले चेतनाको अभावका कारण प्रकृतिका अचम्म लाग्दा कुराहरु, आफू र परिवारलाई कष्ट दिने कुराहरु र आफूलाई मद्दत गर्ने कुराहरुको पूजा गर्ने गर्थे र यसैबाट कालान्तरमा कतिपय देवता र देवताका प्रतीकको जन्म गरायो । ऋग्वेद पढ्ने जोकसैले यो कुराको अनुभूति गर्ने गर्छ । 

कुकुरलाई पनि यमदूतका रूपमा लिने र यसलाई अर्को प्रियभक्त मान्ने कुरा अविवेकी तर्क हो । तर, कुकुर सदियौंदेखि मानिसको आज्ञापालक एवं रक्षक रहँदै आएको छ । मानिस कविला युगमा रहेको बेलादेखि नै कुकुरले शिकार गर्ने र रक्षा गर्नेसम्मका काममा सहयोग गरेको छ । अझ पछिल्लो समयमा त अपराध गर्ने अपराधी पत्ता लगाउने तथा अपराधको अध्ययन÷अनुसन्धान गर्नमा सबैभन्दा सहयोगी कार्य पनि कुकुरले गरेको छ । हजारौं वर्षदेखि कुकुरले मानिसको घरको रेखदेख तथा चोर–डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । यसैकारण कुकुरलाई पूजा गर्ने परम्पराको थालनी भएको मान्न सकिन्छ । कुनै पनि पशुपंक्षीले मानिसलाई लगाएको गुनको सम्मान गर्नु नराम्रो कार्य हैन । मानिसलाई सहयोग गर्ने पशुपंक्षीका कार्यको बारेमा आफ्ना साना छोराछोरीलाई सम्झाउँदै ती पशुपंक्षीको संरक्षणको चेतना दिने दिनको रुपमा यसलाई लिन सकिन्छ । तसर्थ त्यो दिन कुकुर दिवसका रुपमा कुकुरलाई सम्मान गर्दै कुकुरलाई मनपर्ने खाना खुवाएर टीका र माला लगाउनुलाई रुढीवाद भनेर पन्छाइहाल्न ठीक नहोला । तर यसमा रहेका आध्यात्मिक कथा र रुढिवादी ढर्रा भने हटाउनैपर्छ ।

गाई तिहार (लक्ष्मी पूजा) 

हिन्दूहरु गाईलाई पवित्र जनावर मान्दछन् । अरु जनावरभन्दा गाई पवित्र के कारणले भएको हो र यसको गोबरदेखि गहुँतसम्मलाई पवित्र मान्दै प्रसादको रुपमा ग्रहण गर्नु कति स्वास्थका हिसाबले ठिक होला भन्ने कुरा त सामान्य चेतना भएका सबैले बुझ्नुपर्ने कुरा हो । तथापि गाई मानिसको लागि अति नै महत्वपूर्ण जनावर भने हो । त्यही भएका कारण गाईलाई माताका रुपमा पूज्ने चलन विगतदेखि भएको हो । तर हामी चेतनशील मानिसले भने गाईपूजा गर्नेभन्दा गाई दिवसका रुपमा गाईलाई सम्मान गर्नेतिर प्रयत्न गर्नुपर्छ । वैज्ञानिक सोचाइँका मानिसले पनि जनचेतनाका लागि पृथ्वी दिवस, वातावरण दिवस, कार्ल माक्र्स दिवस, मई दिवस इत्यादि मनाउने गरेका छौं भने गाई दिवस मनाउनु अन्यथा हुन्न । तर गाईलाई लक्ष्मीदेवी मानेर यसको गोबर र गहुँतलाई पन्चामृत भन्न थाल्छौं भने हामीहरु निश्चय नै एकखाले मनोरोगको शिकार भएको मान्नुपर्छ । यही मनोरोगको शिकार हुन र फोहोरवस्तुबाट बच्न पनि गाई दिवसको रुपमा चेतनासहित गाई तिहार मनाउनु ठिकै हुन्छ ।

कृषि र पशुपालन नै मुख्य उत्पादन रहेको तत्कालीन समाजमा गाईले पर्याप्त दुध दिने र दुधबाट अनेकौं पौष्टिक आहाराहरु प्राप्त गर्न सकिने भएकाले गाईलाई ईश्वरकै अंशका रुपमा त्यसबखतका मानिसले सोच्नु अनौठो कुरा हैन । गाईको दुधबाट मानिसलाई यति धेरै फाइदा हुने भएता पनि यदाकदा गाई मार्न र खान पाउनुपर्छ भन्ने सोचाइँलाई जबर्जस्त उठाउन खोज्नु सामाजिक रुपले पनि त्यति फाइदाजनक देखिन्न । जुन प्राणीले मानिसलाई जुन किसिमले गुन लगाएको छ त्यसलाई त्यही हदसम्म स्वीकार्नु ठिक हुन्छ कि !

अब रह्यो कुरा लक्ष्मी पूजाको । के लक्ष्मीको अस्तित्व जगतमा छ होला ! छैन । लक्ष्मी मानिसको कल्पनाले जन्माएको एउटा पात्र मात्र हुन् । लक्ष्मीको कल्पना गर्नासाथ काल्पनिक ईश्वर विष्णुले आफ्नो खुट्टा मिचाउँदै गरेको तस्बिर मस्तिष्कमा नाच्ने गर्छ । सामन्तवादी समाजमा महिलालाई पुरुषको दास मानिएको छ । यस अर्थमा पत्नीले पतिको खुट्टा मिचेर बस्नुपर्छ भन्ने संस्कार सामन्तवादले स्थापित गरेको थियो । यही सामन्तवादी चेतनाकै कारण वैदिक कालको पूर्वाद्धमा देखापरेका काल्पनिक ईश्वर विष्णुलाई सामन्तवादी युगमा मानिसजस्तै आकारको कल्पना गरियो र लक्ष्मीलाई उनको पत्नी बनाएर पत्नीको कथित कर्तव्यका रुपमा पति विष्णुको खुट्टामा गई बस्ने कल्पना गरियो । यो कल्पना नै पुरुषवादी अहंकारवादले ग्रस्त छ । अर्कोतर्फ लक्ष्मीलाई धनको देवी भनिएको छ । पहिले पहिले धेरै गाईवस्तु भएकालाई धनी भनिन्थ्यो । यस अर्थमा धेरै गाई हुनेकोमा लक्ष्मीको बास छ भनिन्थ्यो । अब त पैसा र नोटको चलन आएको समाजमा पैसा र नोटलाई लक्ष्मी भन्न थालिएको छ । समाजको विकासक्रममा मानिसको चेतनाको स्तर अनुसार ईश्वरको कल्पना गरिने गरेको यथार्थलाई हामीले बिर्सनु हुँदैन । मानिसलाई जंगली युगदेखि आजको वैज्ञानिक युगसम्म ल्याइपु¥याउने महत्वपूर्ण चीज भनेको मानिसको श्रम हो । 

श्रमले नै मानिसलाई चेतनशील बनाएको छ र श्रमले नै पुँजी, धन, पैसाको जन्म पनि गराएको हो । यस अर्थमा पुँजी श्रमको उपज हो । तर अहिलेको पुँजीवादी समाजलाई हेर्ने हो भने प्राकृतिक सम्पत्ति श्रममाथि कृत्रिम सम्पत्ति पुँजी हावी गराइएको अवस्था छ । हुन त दास युगमा पनि मालिकले हारेका राज्यका मानिसलाई दास बनाएर श्रममा लगाउने गर्थे र आफू बसिबसि खाने गर्थे । वास्तवमा आदिम साम्यवादी समाजको अन्त्यसँगै श्रमलाई निचोरेर सम्पत्तिलाई प्रधान बनाउन खोजिएको थियो । 

हिन्दू धर्ममा श्रमको देवता भनेर विश्वकर्मालाई मानिएको छ र धनको देवी भनेर लक्ष्मीलाई मानिएको छ । विश्वकर्मा पूजाको दिन केही सीमित कारखानामा मजदूरले पूजा गरेको देख्छौं तर लक्ष्मी पूजामा भने चौतर्फी बत्ती बालेर बडो तामझामले पर्व मनाउँछौ । उही धर्ममा उही पदनाममा बसेका काल्पनिक देवता विश्वकर्मा र काल्पनिक देवी लक्ष्मीबीच फरक सम्मान हुनुमा पनि सामाजिक विकासको कारण हो भन्ने स्पष्ट छ । श्रममाथि पुँजी (धन) हावी भएपछि सामाजिक संस्कृतिमा पनि यसको असर परेको हो । 

कार्तिक कृष्णपक्ष औंसीको दिन नै रावणको बध गरी रामले अयोध्या फर्केर राजगद्दी सम्हालेको हुँदा सो खुसीयालीमा दीपावली मनाउन थालिएको विश्वास पनि छ । एउटा सामन्तवादी राजकुमार रामले अर्को सामन्तवादी राजा रावणलाई मारेकोमा गरिखाने वर्गले खुसीयाली मनाउनुको औचित्य छैन । तत्कालीन समयमा जारी गरिएको उर्दीका कारण दीपावली भयो र त्यसले निरन्तरता पायो । अब हामीले गर्ने दीपावली रामको कथित सम्मानमा गरिएको भनेर ठान्ने वा धन दिने लक्ष्मीको बास होस् भनेर गरिएको मान्ने गर्नुहुँदैन । धन आफैंमा श्रमको शोषण हो । धन त त्यसबेला कमाइन्छ जब अर्काको श्रम लुटिन्छ । धन त्यसबेला कमाइन्छ जब अर्काकोमा डाँका र चोरी गरिन्छ । धन त्यसबेला कमाइन्छ जब व्यापार (एकप्रकारको वैधानिक ठगी) गरिन्छ । अब भन्नुहोस् धनको देवी आइदिउँन भनेर कामना गर्नु बेइमानी सिकाइदेऊ भन्नु नै हैन र ! त्यसको बदलामा श्रम गर्ने आदत आओस् भन्ने कामना पो गर्नुपर्ने हो त !

गोरु पूजा (गोबर्धन पूजा)

तिहारको चौंथो दिनलाई गोरु तिहार वा गोबर्धन पूजा भनिन्छ । पौराणिक कथानुसार गोकुल भन्ने ठाउँमा गोबर्धन नामको एउटा पर्वत थियो । त्यहाँका बासिन्दा गोपालले देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रबाट उनीहरुले केही पाउँदैन थिए । त्यहीँका एक जमिन्दारका पुत्र कृष्णले एकदिन गोकुलवासीलाई केही नदिने इन्द्रको पूजा गर्नुभन्दा खनिज, घाँसपानी दाउरा दिने गोबर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राखे । उनको कुरालाई मानेर सबैजना त्यसै गर्न राजी भई गोबर्धन पर्वतको पूजा गर्न थाले । आफ्नो सट्टामा गोबर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा ठूलो वर्षा गराए तर, भगवान कृष्णले गोबर्धन पर्वतलाई कान्छी औंलाले उचालेर सवै गोकुलवासीलाई आश्रय दिए । आखिर इन्द्रले आफ्नो हार मानी गल्तीको लागि कृष्णसमक्ष क्षमा मागे । त्यसैबेलादेखि गोबर्धन पूजाको चलन चलेको हो भन्ने गरिन्छ । 

यो कथामा केहीकेही सत्यता भए पनि कथालाई विभिन्न अलंकारले सजाएर प्रस्तुत गरिएको छ । संस्कृतमा गौ भनेको गाई हो । गाईपालनसँग सम्बद्ध समाज भएकाले गाईचरण हुने पहाडलाई गोबर्धन, गाईपालन हुने ठाउँलाई गोकुल र गाईपालकलाई गोपाल भनिएको हो । इन्द्र नाम नभएर पद हो । विभिन्न कालखण्डमा फरक–फरक इन्द्र रहेको देखिन्छ । वैदिक कृषि र पशुपालनको अवस्थामा इन्द्रको पूजा गरिन्थ्यो । इन्द्रलाई पूजा गरे आकासेपानी पर्छ भन्ने जनविश्वास पनि थियो । कृष्णले गोबर्धन पर्वतलाई आधार मानेर कृषि र पशुपालनको अर्थतन्त्रमा परिवर्तन ल्याए । कृष्ण र इन्द्रबीचको झडप र मनमुटाव यही पुरातन उत्पादन प्रथा र नयाँ उत्पादन प्रथाबीचको मतभेद नै हो । केवल कथालाई महिमामण्डन गर्दै कृष्णले कान्छी औंलाले गोबर्धन पर्वत उठाएर इन्द्रलाई तह लगाएको कथा बुनिएको हो । 

परम्परागत कृषि प्रणालीमा जोत्ने साधन हलगोरु थियो । त्यसबेला गोरुलाई सम्मान गरेर गोरु पूजा गर्ने र कृष्णको कथासँग जोडेर गोरुलाई पोषण दिने गोबर्धन पर्वतको पूजा गरिन्थ्यो । जतिजति कृषि अर्थतन्त्रमा वैज्ञानिक विकास हुन्छ त्यतित्यति कृषिमा गोरुको उपादेयता समाप्त हुँदै जान्छ । कालान्तरमा गोरुपूजाको सान्दर्भिकता समाप्त हुन पनि सक्छ ।

भाइ तिहार 
 
तिहारको अन्तिम दिन भाइ टीका मनाइन्छ । यो पर्वमा दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष माया र सम्मानका साथ टीका लगाइदिएर मनपर्ने कुरा ख्वाउने र दिदीबहिनीलाई उपहार दिने परम्परा छ । धार्मिक ग्रन्थ अनुसार यमराजलाई बहिनी यमुनाले दाजुका शत्रुहरु नास होउँन भन्दै मायाप्रेम प्रस्तुत गरेकी हुँदा त्यसदिनलाई भाइ तिहार भनिएको भनिन्छ । 

काल्पनिक कथालाई एकातिर थाति राखेर विश्लेषण गर्ने हो भने पनि भाइ तिहारले दाजुबैनी र दिदीभाइबीचको प्रेमसम्बन्धलाई प्रगाढ बनाएको छ । विवाह गरी गएका दिदीबैनीसँगको मायालाई बलियो बनाउने भूमिका खेलेर यो पर्वले सामाजिक सम्बन्धको औचित्यलाई थप मजबुत पारेको छ । टीका लगाउने प्रथा आध्यात्मिक सोंचले मात्र चल्दैन । यो त शुभकामना अभिव्यक्त गर्ने शैली पनि हो । सयपत्री र मखमलीको फूलको माला, सप्तरंगी टीकाले एकखालको भावनात्मक एकतालाई प्रस्तुत गर्दछ । 

घरबाट टाढा रहेका दाजुभाइ तथा दिदीबहिनीहरु जुनसुकै समस्यालाई झेलेर भए पनि यो दिन एकै ठाउँ भेला हुन्छन् । सामाजिक सम्बन्ध विकासको यो अभुतपूर्व कडी हो । अचेल भारतीय संस्कृतिको प्रभावमा परेर राखी मनाउने चलन आएको छ । भारतीय पुँजीवादले नेपालभित्र पनि राखीको प्रभाव बढाएर व्यापारिक गतिविधिको अर्को थप उपाय खोज्दैछ । वर्षमा दुईवटा दाजुभाइ दिदीबैनीको पर्व बनाउनतिर लाग्नु उचित हैन ।

तिहार र देउसी भैलो 

अयोध्यावासीले रामको अयोध्यामा आगमन भएको खुसीयालीमा दीपावली गरेका र मानिसले घरघरमा, गल्लीगल्लीमा ‘देव श्री राम’ को नारा लगाउँदै घुमेका थिए भनिन्छ । देव श्री रामबाट अपभ्रंस हुँदै देउसिरी राम भयो र त्योबाट पनि अपभ्रंस हुँदै देउसिरे भन्न थालिएको भनाई पाइन्छ । यसमा केही सत्यता त होला किनभने राम आखिर राजा नै थिए र रैतीले उनको जय जयकार गर्नु त्यसबेलाको युगमा अनिवार्य नै थियो । तर राम ईश्वर भने थिएनन् । एउटा चर्चित राजा रावणलाई मारेपछि उनी प्रख्यात भएका हुन ।

देउसी भट्याउँदा बलि राजाको प्रसंग पनि आउँछ । बलि राजा अत्यन्तै दानी र प्रजालाई माया गर्ने राजा थिए रे ! उनको लोकप्रियताले देवताहरु आतंकित भए । देवताहरुले भगवान् विष्णुको प्रार्थना गरे । त्यसपछि विष्णुले वामन (बाहुन्ने) को रुप लिएर बलि राजासँग तीन पाउ जमिन दानको याचना गरे । बलिले पनि सोचे कि ‘यो ब्राह्मण त्यसै सानो छ र यसका पाउहरु पनि अति साना छन् र यसले अति थोरै जमिन माग्यो भन्ने भ्रान्तिमा परे तर बलिले दान संकल्प के सकेका थिए वामनको रुप विराट भयो र एउटै पाउले समस्त पृथ्वी ढाकिदियो र अर्को पाउले आकाश ढाक्यो । त्यसपछि तेस्रो पाउभरिको जमिन कहाँबाट दिने भनी बलि अन्योलमा परे र उनले आफ्नो टाउको थापे, टाउकोमा विष्णुको पाउ पर्ना साथ बलि भाँसिएर पाताल पुगे । पातालमा भाँसिनुअघि बलि राजाले विष्णुसित वर्षमा एकपल्ट तिहारको बेला पृथ्वी घुम्ने अवसर दिइयोस् भनेर याचना गरे । यस प्रार्थनालाई स्वीकारेर विष्णुले बलिलाई वर्षमा एकपल्ट आउने अनुमति दिए । बलि राजा यही तिहारको मौकामा घुम्न आउँछन् भन्ने विश्वास गरी बलिको स्वागतमा दीप जलाइएको भन्ने पनि भनाई छ । त्यस्तै गरी बलिराजा आउन नसकेको खण्डमा उनका सहयोगीहरु पृथ्वीमा देउसेरेका रुपमा आउँछन भन्ने भनाइका साथ ‘हामी त्यसै आएनौ, बलिराजाले पठाए’ भनेर देउँसीभैलो समेत खेलिन्छ ।  स्त्रीले बलिको स्वागतमा बलिगीत गाउने गर्थे रे ! त्यही बलिगीत अपभ्रंश भएर भैली गीत भएको समेत भनिन्छ । 

यस कथामा वामन अवतार भनेको कुनै देवगणको पक्षधर पुड्के मानिस हुनुपर्छ । दानव राजाको दानकार्य वा जनमुखी कार्यको प्रभावले गर्दा यस जगतका मानिसमा दानवप्रति आस्था बढ्ने भएको हुँदा देवता गणले बलि राजाको प्रभावलाई निस्तेज गर्न छल गरी उनको अवसान गराएको हो । यो राजनैतिक दाउपेचकै एउटा कडी मान्न सकिन्छ । अहिलेको विश्व राजनीतिलाई हेर्दा पनि हामीले देख्छौं कि न्यायपूर्ण समाजवादी राज्यसत्तालाई पुँजीवादीले अनेक दाउपेच गरेर परास्त गर्न खोज्दछन् । अहिले पनि निजीकरण, उदारीकरण र भूमण्डलीकरण भन्ने नारा पुँजीवादी नवबामन अवतारले सर्वाहारा वर्गको राज्य स्थापना हुन नदिन अघि सारेका तीनवटा पाउहरु नै हुन् । पुँजीवादीले अघि सारेका यी तीनवटा पाउलाई राख्ने ठाउँ नदिने राज्यसत्तालाई उनीहरु लोकतन्त्रविरोधी भन्दै ढाल्न तम्सन्छन् अनि जब कुनै समाजवादी वा न्यायपूर्ण वितरणका पक्षपाती राज्यसत्ताले यी तीनवटा पाउलाई राख्न राजी हुन्छन् तब त्यो राज्यसत्ता नाफाखोरको पन्जामा परेर सर्वाहारा श्रमजीवी वर्गको विरोधी बन्न पुग्छ । 

कथित विष्णु भनिएको त्यस पुड्के मानिसले कुनै अप्ठ्यारो स्थिति पारेर बलि राजासँग उनको राज्यको अधिकांश भूमि मागेको हुनुपर्छ । त्यसैगरी दान गरिएको भूमिमाथि र आकाशमा पनि बलि राजाको अधिकार हुन नहुने सर्त वामन (पुड्के) मानिसले गरेको हुनुुपर्छ । तसर्थ, तीन पाउ भूमि भन्ने माग गरेको भन्नु नै बलि राजाको अधिनमा रहेको भूमि र आकाशमाथि आफ्नो अधिकार रहोस् भनेर माग गर्नु हो । 

अन्तमा बलि राजालाई पाताल पु¥याउनु भनेकै बली राजालाई देश निकाला गरेको वा लखेटेको हो अनि सम्पूर्ण राज्यमा कथित विष्णुका नाममा देवता गणले अधिकार कायम गरेको हो, जसलाई तेस्रो पाउ राखेको भनी धार्मिक साहित्यमा लेखिएको हो ।

धार्मिक कथाले जेभने पनि वा देउसी भैलोको चलन जसरी चलेको भए पनि अहिले नेपाली समाजमा देउसीभैलो लोकप्रिय चलन भएको छ । सामाजिक विकासक्रममै देव श्री राम भन्ने कुरा देउसिरेमा बदलिएको र बलिगीत पनि फेरिएर भैलीगीत भएको अवस्थामा यसलाई परम्परागत मान्यतामै रहेको भन्न पनि सकिन्न । कम्युनिस्टले समेत देउसीभैलोलाई सामाजिक चलनका रुपमा वैचारिक रुपान्तरणको दायरामा देउसीभैलोलाई राखेर सबैभन्दा बढी र सक्रिय ढंगले मनाएका छन् । 

निष्कर्ष 
तिहार वा चाडपर्व मान्ने र नमान्ने मानिसको व्यक्तिगत अधिकारको कुरा हो । कसैलाई मान्नैपर्छ भन्ने दबाव दिनु पनि हुँदैन । तर फेरि तिहार मनाउनु हुँदैन भनेर सोच्नु पनि अबको सन्दर्भमा समाजबाट एक्लिने अवस्थामा पुग्नु हुनजान्छ कि ! तर, तिहार मान्ने नाममा रुढिवादी ढर्रालाई पछ्याउँदै लक्ष्मी र गोबर्धनको पूजामा रम्ने कार्य वैज्ञानिक भने छैन । समाजका अधिकांश मानिसले दीपावली गरेको बेला आफ्नो घरलाई दीपावलीविहीन राखेर अलगथलग देखिने चरित्रले समाजमा घुलमिल हुन सकिन्न र समाजमा घुलमिल नभई संस्कृतिमा रुपान्तरण ल्याएर श्रमप्रतिका आस्था जगाउने संस्कारको विकास पनि गर्न सकिन्न । तिहारका बेला भारतबाट आयात हुने पटाका, झिरझिरे, भुइचक्कडका कारण नेपाली अर्थतन्त्रलाई गम्भिर आघात पार्ने गर्छ । साम्राज्यवादीहरु यस्तै खाले पर्वलाई बढी मलजल गरेर प्रस्तुत हुने गर्छन् अनि बढीभन्दा बढी नाफाआर्जन गर्दै साना देशलाई आर्थिक कंगाल पारेर उपनिवेश बनाउन योजना तयार गर्छन । संस्कृति मान्दा यस कुरामा हेक्का राख्नुपर्छ । अर्कोतर्फ समाजमा चलिरहेको संस्कृति वा पर्वलाई विस्थापित गरेर नयाँ चलन चलाउने प्रयत्न पनि साम्राज्यवादीले सांस्कृतिक हस्तक्षेपमार्फत गरिरहेका हुन्छन् । त्यस हस्तक्षेपबाट जोगिन परम्परागत रुपले चलेका पर्वमा सांस्कृतिक रुपान्तरण गर्दै मनाउन जरुरी हुनसक्छ । 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मदनले माओलाई औंला ठड्याएपछि......

  • २८ कार्तिक, २०७५

(स्वर्गको थिएटर कक्ष । आज नेपाल सम्बन्धी बहस मञ्चन हुने भएकोले हल खचाखच भरिएको छ । दर्शक दीर्घामा सबैका आकर्षण थिए—कार्ल माक्र्स, एंगेल्स् । उनीहरु

नेपालको बामपन्थी अर्थराजनीतिको अबको धरातल के हो ?

  • २५ कार्तिक, २०७५

मुलुकभर ८० लाख मानिस निरपेक्ष गरिबीको रेखामुनि छन् । देशमा रोजगारी नपाएर दैनिक झण्डै १५ सय मानिस वैदेशिक रोजगारीमा गइरहेका छन् । त्यसरी रोजगारीमा

चाडबाडका विकृति र विसङ्गति सुधार्दै जानुपर्छ

  • २१ कार्तिक, २०७५

काठमाडौं । तिहार भनेपछि यमुना र यमराजको सम्बन्धको कथा जोडिएर आउँछ । परापूर्वकालमा यमपञ्चकमा बहिनी यमुनाले दाइ यमराजलाई टीका लगाइदिएर यस परम्पराको