• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बाबुको शव देऊ : खशोग्जीका छोराहरु

वासिङ्टन । हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्जीका छोराहरुले साउदी सरकारसँग  आफ्नो बाबुको शरीर देखाउन आग्रह गरेका छन् ।

 अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनलाई दिएको अन्तरवार्तामा छोराहरुले खशोग्जीको शवको धार्मिक विधिअनुसार दाहसंस्कार गर्न साउदी सरकारसँग आग्रह गरेका हुन् । खशोग्जीलाई टर्कीको इस्तानबुलस्थित साउदी अरेबियाको महाबाणिज्यदूतावासमा अक्टोबर २ तारिखका दिन साउदी सुरक्षाकर्मीको एक टोलीले हत्या गरेको थियो । टर्कीका राष्ट्रपतिले उक्त हत्या साउदी अरेबिया सरकारको उच्च नेतृत्वको आदेशपछि भएको दाबी गर्दै आएका छन् । 

सिएनएनसँग वासिङ्टनमा कुरा गर्दै अब्दुल्लाह खशोग्जी र उनका भाइ सलाहले बाबुको शरीर साउदी अरेबियाको मदिनास्थित अल–बाकीमा दाहसंस्कार गर्नेगरी साउदी सरकारसँग आग्रह गरिएको बताए । टर्कीका सरकारी वकीलहरुले जमाल खशोग्जीलाई महाबाणिज्यदूतावासमा प्रवेश गरेलगत्तै हत्या गरिएको बताए । 

उनले खशोग्जीको शरीर टुक्राटुक्रा पारेको समेत बताए । टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोआनका सल्लाहकार यासिन आक्टेले शुक्रबार एक लेख प्रकाशित गरी जमाल खशोग्जीको हत्या पश्चात शवलाई तेजाबमा डुबाइएको हुन सक्ने बताए । खशोग्जीको हत्याको संयुक्तराज्य अमेरिका समेत विश्वभरबाट निन्दा र भत्र्सना गरिएको छ ।

खशोग्जीका छोराहरुले बाबुले गरेका कार्यहरुलाई राजनीतिक उद्देश्य हासिल गर्न प्रयोग गरिएको आशंका समेत व्यक्त गरेका छन् । सलाहले सिएनएनसँग भने, “मलाई जमालका बारेमा अति राजनीतिकरण हुन थालेको अनुभव भइरहेको छ । जमाल कहिल्यै साउदी सत्ताको विद्रोही थिएनन् । उनको अटल विश्वास राजतन्त्रप्रति थियो ।” 

अब्दुल्लाहले बुबाको हत्याका बारेमा स्पष्ट जानकारी र सूचना प्राप्त नभएको बताए । उनले प्राप्त जानकारीहरु भ्रमित गर्ने किसिमका रहेको जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर