• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नबन्ने भयो पोखरा फुटबल रंगशाला, साग महिला फुटबल नहुने 

कास्की । अन्तत: पोखरा फुटबल रंगशाला नबन्ने निश्चित भएको छ । दुई–दुई पटकको टेन्डरपश्चात् पनि रंगशाला नबन्ने भएपछि पोखरेली आक्रोशित हुन थालेका छन । राष्ट्रिय खेलकुद परिषदले डेढ वर्षअघि रंगशाला भत्काएर भताभुंग पारेको पोखरेलीको आक्रोश पोखे । पोखरा रंगशालाको फुटबल प्याराफिट नबन्ने भएपछि पोखरामा हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला फुटबल नहुने भएको छ । महिला फुटबल सशस्त्र प्रहरीको मुख्यालयको मैदानमा हुने जनाइएको छ । १ अर्ब ३२ करोडको लागतमा बन्न लागेको फुटबल रंगशालाका लागि परिषदले ५३ करोड छुट्टाएको थियो । अब त्यो रकम पनि खर्च नभई फिर्ता जाने भएको छ ।

पोखरेलीको प्रश्न र आवेग
रंगशाला नबन्ने भएपछि पोखरामा हुँदै आएको आहा रारा गोल्ड कप र कास्की जिल्ला फुटबल संघले आयोजना गर्ने मनकामना फुटबल कप समेत नहुने भएको छ । पोखरेलीको प्रमुख आर्कषणका रुपमा रहेको आहा रारा गोल्डकपमा २० देखि २५ हजार दर्शक हुने गर्दछन । यति धेरै दर्शकको रोमाञ्चपूर्ण फुटबल नेपाल सरकारसँगै परिषदका कारण नहुने पक्का भएको छ । 

पोखरेलीको एउटै प्रश्न छ, ‘नबनाउने भए किन रंगशाला भत्काइयो ? कास्कीबाटै प्रतिनिधित्व गर्ने मन्त्री यसबारे किन बोल्दैनन ? परिषदले रंगशाला बनाउन चासो नदेखाएको उनीहरुले आरोप लगाएका छन् । भत्काउने बेलामा मैदान घेरिएको तारजाली समेत लथालिङ्ग पारियो । तार जालीसम्म भए पनि मैदानको संरक्षण भइरहने थियो भन्ने आम खेलप्रेमीको बुझाइ छ ।

के भन्छन सदस्य सचिव विष्ट ?
पोखरामा फुटबल रंगशाला बन्नमा ढिलाइ भइरहेकोमा आफू पनि निकै चिन्तित रहेको परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बताए । उनले भने, ‘१३ औँ सागमा महिला फुटबल पोखरामा नै गर्नपर्छ भन्दा काठमाडौंमा मसँग विवाद पनि भयो तर अहिले अख्तियारले हातखुट्टा बाँधेको स्थिति छ ।’ उनले जति बजेट खर्च हुने हो त्योे सुनिश्चितता नभई अख्तियारले टेन्डर नगर्नु भन्ने सूचनानै जारी गर्न नसकेको गुनासो गरे ।

युवा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयले जबसम्म बजेटको सुनिश्चितता गर्दैनन् तबसम्म टेन्डर खोल्न नसकिने सदस्य सचिव विष्टले बताए । अहिले चीन र नेपालको र अर्को नेपाल र भारतको जोइन्ट भेन्चर गरी दुईवटा कम्पनीले टेन्डर प्रस्ताव गरेका छन् । 

युवा तथा खेलकुदमन्त्री विश्वकर्माको भनाई
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले पोखरा रंगशालाको फुटबल प्याराफिट भनेजस्तै गरी समयमा नै निर्माण प्रक्रिया सुरु गर्ने बताए । उनले भने, ‘म अहिले ८औँ राष्ट्रिय खेलकुदको तयारीका लागि बझाङमा छु भोलिबाटै यो विषयमा म सबैसँग चलाउने छु ।’ १३ औं सागको महिला फुटबल पनि पोखरामा नहुने भयो नि भन्ने प्रश्नमा उनले यो सबै विषय हल्लाको विषय मात्रै भएको जिकिर गरे । मन्त्री विश्वकर्माले भने, ‘हेर्नुस म काठमाडौं फर्कनेबित्तिकै यसबारे काम थाल्ने छु र पहिले भनेजस्तै गरी पोखरामा नै साग खेलकुदमा महिला फुटबल पनि हुनेछ, ढुक्क हुन म सबैलाई आग्रह गर्छु ।’

कास्की जिल्ला फुटबल संघको प्रयास
कास्की जिल्ला फुटबल स्रंघ (एन्फा) ले कहिले रंगशाला बन्ला र काम गरौँला भन्ने सोचका साथ बसे पनि लगालग आएका दुईवटा फुटबल प्रतियोगितालाई मध्यनजर गर्दै आफ्नो तर्फबाट काम सुरु गरेको छ । अहिले मैदानमा झार गोड्ने र रोप्ने कामलाई तिव्रता दिँदै एन्फा कास्कीले २० जना कामदार खटाएको छ । मैदानमा दुबो रोप्ने, पानी हाल्ने र मैदानको वरपर सरसफाई गर्ने काममा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । उनले भने, ‘प्याराफिट बन्ने त त्यस्तै भयो कम्तिमा पनि आहा रारा र मनकामना कपका लागि भए पनि मैदानको कामलाई तिव्रता दिएका छौं ।’ उनले मन्त्रालय र परिषद्को यो हेलचेक्रयाइले पोखराको फुटबल धेरै खस्कियो साथै नयाँ खेलाडी उत्पादन नहुने वातावरण सिर्जना भएको आरोप लगाए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर