• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मस्कोलाई फन्को मार्दा

माइनस ७२.२ सम्म पुग्ने तापक्रम ७ डिग्रीमा पुग्दाको खुसीयाली

मस्काे । उड्नु अघिल्लो दिन झण्डै ४ घण्टाभित्र रसियाको भिसा लागेपछि मात्रै एक साता लामो मस्को भ्रमणको टुंगो लागेको थियो । दुबई हुँदै रसियाको डेमोडेडोभो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा रसियाबारे सुनेका अनेक हल्लाबाट उत्पन्न भएका प्रश्नहरुको भारी मनमा थियो ।

रसियाको स्थापित समाचार संस्था स्पुत्निक न्युज एजेन्सीले विश्वका विभिन्न ३४ देशका १५ देखि ३५ वर्षभित्रका ४१ क्रियाशील पत्रकारसँग गरेको एउटा अन्तर्क्रियाका दौरान ती प्रश्नको उत्तर खोज्ने मेसो मिल्दा दंग नहुने कुरै थिएन । 

माइनस ७२.२ डिग्री पुगेको रेकर्ड  
मध्य जाडोका बेला माइनस ३५ डिग्रीसम्म पुग्ने रसियाको मौसमको पूर्वानुमान थियो । डेमोडेडोभो अन्तर्राष्ट्रिय विमानस्थल झर्नेबित्तिकै पहिलो प्रहार चिसोले गर्यो । केहीबेर बाहिर बसेपछि मनै कमाउने जाडो । त्यसमाथि सिरसिर चल्ने चिसो स्याँठ ।

हरेकप्रकारका सवारी साधन, भूमिगत मेट्रो स्टेसन, पसल, अफिस, होटल घर तथा सार्वजनिक स्थानभित्र तापक्रमको सन्तुलन (हिटिङ सिस्टम) कायम गरिएको थियो । 

भित्र पस्नेबित्तिकै २३–२४ डिग्री र बाहिर निस्कनेबित्तिकै २–३ तापक्रमले बानी नपरेका हामीलाई सन्तुलन मिलाउन निकै कठिन भयो । त्यसका बाबजुद् नयाँ ठाउँ घुम्ने र नयाँ कुरा सिक्ने लालसाले सबै कठिनाइ बिर्सने रहेछ । 

चिसोकै कारण मस्कोका सडकमा मानिसहरुको चाप निक्कै कम, सवारी साधनमा पनि गर्मी मौसममा केही मात्रामा साइकल चल्ने तर जाडोमा नचल्ने, मोटरसाइकल पनि सडकमा नदेखिने । बाहिर जति जाडो भए पनि भित्र पस्ने बित्तिकै तातो ।

रेड स्क्वायरमा पर्यटकहरू

२–३ डिग्री जाडो हुने गरेको मस्कोमा ७ डिग्री पुग्ने पूर्वानुमान थाहा पाउँदा खुसीयाली मनाइने रहेछ । कार्यक्रमका दौरान स्पुत्निक न्युज एजेन्सीका वरिष्ठ पत्रकार ओलेग दिमित्रोभले भने, ‘भोली मस्कोको तापक्रम ७ डिग्री पुग्ने संभावना छ, केही तातो हुने भएकाले इन्जोए गर्नुहोला ।’ 

रुसको ओएमप्याकोन भन्ने ठाउँको तापक्रम झरेर माइनस ७१.२ डिग्रीसम्म पुगेको रेकर्ड रहेछ । सुन्दै अत्यास लाग्ने । रसियनलाई बानी परेको भए पनि हामी जस्ता दुई दिनका पाहुनालाई कान नछोपेका बेला चिसो हुँदाहुँदै दुख्न थाल्ने मस्कोको ठिही अत्यासलाग्दो थियो ।

राष्ट्रपति पुटिन कहाँ बस्छन् ?
विश्वका शक्तिशाली व्यक्तिमध्ये पहिलो, दोस्रो र तेस्रोमा रसियाका राष्ट्रपतिको नाम आउन थालेको धेरै भइसक्यो । अमेरिकाका राष्ट्रपति, चीनका राष्ट्रपति, रसियाका राष्ट्रपति, जर्मन चान्सलर आदि नाम विश्वका शक्तिशाली नेतामा पर्दछन् । 

रसिया पुगेपछि पुटिनले के खान्छन् ? कहाँ बस्छन् ? लगायतका चासो नहुने कुरै भएन । जिज्ञासाको भोक मेट्न मैले ३ जनालाई सोधें । उत्तर एउटै आयो रेड स्क्वायरमा । (हाम्रो सन्दर्भमा भन्दा वसन्तपुरमा भनेजस्तो) राष्ट्रपति पुटिन बस्ने घरको फोटो खिच्न मन लाग्यो भनेर हाम्रो कार्यक्रमको संयोजन गरिरहेका साथी निकितालाई सोधें । उनले पनि उत्तर दिए, ‘राष्ट्रपति पुटिन कहाँ बस्छन् मलाई त थाहा छैन, तपाईलाई कसरी भनुँ ?’ 

यसको अर्थ थियो, पुटिन बस्ने निवास र काम गर्ने स्थान रेड स्क्वायरभित्रै भए पनि कुन भवन हो भन्ने कुरा उनीहरुले गोप्य राखेका छन् । प्रधानमन्त्री निवास भने षडकबाटै देखिने रहेछ ।

दुवै तर्फकाे बीचमा देखिने झण्डा भएकाे प्रधानमन्त्री कार्यालय हाे ।

रेड स्क्वायरमा लेनिन हेर्ने लाइन
ठूल–ठुला चर्च, भि आइ लेनिनको शब राखिएको स्थान र इतिहास बोकेको हुनाले रुसको राजधानीस्थित क्रेमलिन, रेड स्क्वायर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेछ । नेता लेनिनबारे केही थाहा पाएको हुनाले विश्वचर्चित नेताकै देशमा पुगेपछि उनीबारे थप चासो जाग्यो । 

उनीलाई राखिएको ठाउँमा हेर्न लैजाने प्रस्ताव मैले हाम्रो भ्रमण दलका गाइडलाई के सुनाएको थिएँ, उनले मुख बिगारे । यसका लागि लामो प्रक्रिया, लामो लाइनमा पर्खनुपर्ने हुनाले तत्काल संभव नहुने उनको उत्तर थियो । लेनिनको मृत शरीर हेर्न सयौं मानिस रेड स्क्वायरको एउटा कुनापट्टी लाइन लागेर बसेका थिए ।

पहिला लेनिनग्राड भन्ने गरिएको र अहिले नाम फेरेर सेन्ट–पिटरर्सबर्ग बनाएको र सोही स्थानमा लेनिनको सालिक तोडिएको बारे मेरो अर्को जिज्ञासा थियो । उनले भने, ‘तपाईले सुनेको हल्ला गलत हो, लेनिनका धेरै शालिक छन् रसियामा, उनको शालिक अन्यत्र कतै सार्नका लागि हटाइएको हो ।

लेनिनकाे मृत शरिर हेर्न लाइनमा पर्यटक

उनीप्रति नकारात्मक भावले फोडेको होइन । अहिले पनि लेनिनप्रति रुसमा ठूलो सम्मान छ । नयाँ पुस्तालाई उनीबारे धेरै थाहा नभए पनि इतिहासका एक आर्दश पात्रका रुपमा मानिन्छ । रुसको राजनीति र अर्थनीति भने अहिले लेनिनले लिएको कम्युनिज्म हैन मार्केट इकोनोमीको बाटोमा छ ।’

कोट कलेक्सन कोठा
राजधानी मस्को र सायद अन्य स्थानमा पनि होला । हरेक पसल, रेष्टुरेन्ट, सरकारी तथा निजी अफिस र होटलहरुमा ढोकाबाट छिर्नेबित्तिकै एउटा कोठा हुने रहेछ । कोठामा प्रायः उमेर छिप्पिएका बुढाबुढी । त्यो कोठामा कोट तथा जाकेटहरु खोलेर राख्ने र बाहिरिदाँ लगाएर जाने गरिँदो रहेछ । बाहिर अत्याधिक जाडो हुनाले मानिसहरु बाक्ला र ठूला लुगा लगाएर जाने गर्दारहेछन् ।

भित्र पसेपछि हिटिङ सिस्टमका कारण साधारण र पातलो लुगाले नै काम गर्ने भएकाले लगाएका बाक्ला, ठूला लुगा फुकालेर राख्न त्यस्तो कोठाको व्यवस्था गरिएको हुने रहेछ । आगन्तुकका जाकेट तथा कोटमा ट्याग लगाइ दिएर पठाउने र त्यही ट्याग नम्बरका आधारमा सामान फिर्ता दिने व्यवस्थित चलन रहेछ ।

फराकिला र व्यवस्थित सडक
मस्को सहरको सडक देख्दा नलोभिने प्रायः कमै होलान् । अन्यन्त व्यवस्थित फराकिला र पिच गरिएका पक्की सडक । सडक आसपास सोभियत युनियनकै पालामा बसेका बलिया घर र पुलहरु रहेछन् । 

मध्य मस्काेकाे एक षडक खण्ड

मस्को सहर भएर बग्ने तीनओटा नदीमध्य मस्को नदी सबैभन्दा ठूलो रहेछ । यस्ता नदीमा स–साना पानी जहाजहरु पनि चल्ने रहेछन् । सडक आसपासका घरहरु परम्परागत शैलीका देख्दा आफ्नो इतिहास र परम्परागत संस्कृति जोगाउन त्यहाँको सरकार मात्र हैन नागरिक आफैं पनि सचेत रहेछन् भन्ने भान हुन्थ्यो । ट्राफिक जाम भने केही मात्रामा थियो । तर पनि फ्लाई ओभर, सव वे लगायतले मस्कोको सडक व्यवस्थित बनाएको देखियो । 

मस्काे नदीमा पानी जहाज

विश्वकप फुटबल आयोजना सम्पन्न गरेकोमा गर्व
विश्वकप फुटबल रुसमा हुने खबर सार्वजनिक हुँदै गर्दा कतिय पश्चिमा मिडियाले चर्को आलोचना गरेका थिए । सुरक्षा, व्यवस्थापन र तयारी जस्ता विषयमा गंभिर चासो व्यक्त गर्दै रुसमा विश्वकप सम्पन्न गर्नु कठिन हुने टिप्पणी गरेका थिए । जसमा अमेरिका लगायतले रुसलाई एक्ल्याउन खोजिरहेको राजनीतिक कारण पनि जोडिएको थियो ।

अन्तत ः रुसले जुन १४ देखि सुरु भएको खेल जुलाई १५ मा समापन गर्दै गर्दा विश्वनै नतमस्तक भएको थियो । किनकी विश्वकपका दौरान कुनै पनि व्यवस्थापकीय कमजोरी भएको कुरा सार्वजनिक भएन । सुरक्षा थ्रेट कतै देखिएन ।

हामीलाई गाइड गर्ने एक महिलाले गर्वका साथ सुनाइन्, ‘एक दिन इटाली, बेलायत लगायतका समर्थक चढेको गाडीमा म पनि थिएँ । बेलायती सर्मथक हुल हुज्जत गर्ने भनेर चर्चा भइरहेका बेला त्यसदिन समर्थकले झगडा हैन गलबन्दी साटासाट गरेका थिए । यो हाम्रो सफलता थियो ।’

विश्वकपका दौरान रुसले ठुलो लगानी गरेर मस्को लगायतका ११ सहररु आकर्षक र आधुनिक बनाएको थियो । जुन कुराको प्रशंसा गर्दै रसियनहरु आफ्ना राष्ट्रपति भ्लादिमर पुटिनप्रति गर्व गर्दा रहेछन् ।

विश्वकप फाइनल खेल भएकाे मस्काेस्थित जुज्निकी रंगशाला

विश्वकपमा सकेसम्म धेरै पर्यटक भित्राउन र पछि पनि रुस घुम्न आउने पर्यटक बढुन् भनेर राष्ट्रपति पुटिनले त्यतिबेला घोषणा गरेका थिए, ‘विश्वकप हेर्न आउने दर्शकहरुले सन २०१८ भर जहिले रुस आए पनि फेरी भिसा लगाउनु पर्दैन ।’

उसको रेकर्डमा विश्वकप हेर्न सबैभन्दा धेरै दर्शक अमेरिका, ब्राजिल, कोलम्बिया, जर्मनी, मेक्सिको, अर्जेन्टिना, पेरु, चीन लगायतका देशबाट आएको देखिन्छ ।

बारको अनुभव
‘रसियाको जाडो, सुन्दरी र रसियन भोड्का’ विश्वभर चर्चित छ । त्यसैले रसियन बारको अनुभव गर्ने रुचि नहुने सायदै होलान् ।
रसियन बार क्लासिकल खालका । तर आन्तरिक तथा बाह्य पर्यटकका कारण सधैं व्यस्त देखिने रहेछन् । राती ११ बजेसम्म खोल्न पाउने तर केहीले रातभरि खोल्ने अनुमति पनि लिएका हुनेरहेछन् । 

भारतका अभिसेक, इटालीका जिमार्को, मोरक्कोकी नौहा लगायत हाम्रो टिम मध्य मस्कोको होलिडे इन होटल नजिक बारतर्फ सोझियो । राती झण्डै १० बजिसकेकाले हामीले बारको अनुभव गर्न ४–५ रेष्टुरेन्ट धाउनु प¥यो । अन्ततः इजिप्टका वेटर भएको एउटा बारमा छिरियो । बारमा छिर्नै डर लाग्ने आवटलेट सेटिङ । बारमा छिरिसकेपछि त्यहाँको वातावरण छुट्टै मादक बन्यो ।

परम्परागत कला संरक्षण  
मस्कोका सहरहरुमा प्रशस्त परम्परागत संरचनाहरु देखिँदा रहेछन् । सडक आसपासमा रसिया फेडेरेसनकै बेला बनेका पूरा शैलीका घरहरु । पुल पुलेसा र बाटाहरु । चर्च र अन्य संरचनाहरु पनि सोभियत कालकै अधिकांश बाँकी रहेको हामीले थाहा पायौं ।

पछिल्लो चरणमा बनेका केही घरहरु पुरानो शैलीका त केही भने आधुनिक थिए । समग्रमा रसियाले आधुनिकताभन्दा मौलिकतालाई नै प्राथामिकता दिएको पाइयो ।

रसिया फेडेरेशनकाे बेलाकाे परम्परागत भवन

विश्वलाई सन्देश दिने मनसाय
रसियाले राजीतिक रुपमा पछिल्लो चरणमा ठूलो उपलब्धि हासिल गरेको छ । विश्वको एउटा ध्रुवको केन्द्रमा रसिया छ । कहिले राष्ट्रपति त कहिले प्रधानमन्त्री बन्ने र आफु जे बन्ने हो कार्यकारी शक्ति त्यतै केन्द्रित गर्ने राष्ट्रपति पुटिनले अहिले विश्वलाई सन्देश दिन चाहिरहेको अनुभव कार्यक्रमका दौरान भयो ।

सन् २०१८ भित्र रुसले विश्वभरका १ हजार नागरिकलाई न्यु जेनेरेसन पोग्राममार्फत रसिया लगेर विभिन्न क्षेत्रको विषयमा अन्तर्क्रिया गर्ने तयारी गरेको छ । यस्ता कार्यक्रमको लक्ष्य राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, व्यवसायिक सम्बन्धहरु वैज्ञानिक ढंगले रुस र विश्वका अन्य देशसँग जोड्ने राखिएको छ ।

विश्वमा फेरि पनि सर्वशक्तिमान बन्ने दौडमा रहेको रसिया आफू सामाजिक, आर्थिक हिसावले अब्बल देखिन चाहन्छ । सरकारी सहयोगमा चलेको स्पुत्निक न्युज एजेन्सीले विश्वमा सकारात्मक सन्देश फैल्याउनकै लागि विश्वका ४० भन्दा धेरै देश सहभागी गराएर कार्यक्रम आयोजना गरेको थियो ।

यस्ता धेरै विधाका कार्यक्रम आयोजना गरेर विश्वमा रसिया फेरि आफूलाई पुष्टि गराउन चाहन्छ ।

रेड स्क्वायरस्थित एक चर्च


 

मस्काेमा तै, कतै देखिने अाधुनिक भवन


 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर