• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

छठलाई स्वागत गर्न आतुर मिथिला

धनी गरिबलाई जोड्ने एकताको पर्व

धनुषासहित मिथिलाञ्चलका अन्य जिल्लालाई दीपावली, भातृ द्वितीयासहितका पर्व सम्पन्न भएलगत्तै अहिले छठ पर्वको रौनकताले छोएको छ । मिथिलाञ्चलबासीका लागि प्रमुख पर्वमध्ये यो एक मानिन्छ । जसरी दियोको पर्व दीपावलीको तयारी १५ दिन अघिदेखि सुरु हुने गर्दछ त्यसरी नै छठ पर्वको तयारी पनि ५÷७ दिन पहिलेदेखि नै सुरु हुने गर्दछ । 

कार्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु हुने यो पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुन्छ । यो पर्वमा खास गरी सूर्यदेवको उपासना गरिन्छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै रह्दै आएको मानिन्छ । त्यसले गर्दा समेत यस पर्वको परम्परालाई उक्त रुपले नै देखिन्छ । गरिब, धनी, ब्राह्मण, दलित, उचनिचको ख्याल नगरी यो पर्व एकै साथ मिलेर मनाइन्छ । जसले समाजमा रहेका छुवाछुतजस्ता विकृति हटाउन सहायक सिद्ध हुने गर्दछ संस्कृतिविद् डा. भोगेन्द्र झा बताउँछन् । 

छठ पर्वको पूजा विधान 
यस पर्वमा सप्तमी युक्त षष्ठी तिथिमा व्रत गर्ने परम्परा रहेको छ । सूर्य देवतालाई पहिलो दिनको अर्घ उक्त दिन नै अर्पण गरिन्छ । जसलाई मैथिली भाषामा ‘सझुँका अर्घ’ भनिन्छ । सूर्य देवतालाई खास गरी उक्त दिन अर्घ दिइने गरिन्छ जुन दिन उदयकालमा केहीबेरका लागि भए पनि षष्ठी तिथि परेको होस् । ठिक त्यसै अनुरुप उदयकालमा दिइने अर्घका लागि समेत त्यही विधि अपनाइन्छ र उक्त दिन पनि सप्तमी तिथि नै रहेको बेला ‘भोरका अर्घ’ दिइन्छ । 

छठ पूजामा जुन सामग्री साँझको समयमा सूर्य देवतालाई प्रसादको रुपमा अर्घ अर्पण गरिन्छ उक्त प्रसाद नै पुनः बिहानको समयमा अर्थात् ‘भोरका अर्घ’ मा दिइने परम्परा रहेको छ । हुनतः सूर्य देवतालाई अर्पण गरिएका प्रसाद साँझदेखि बिहानसम्म जलाशयमा बनाइएको घाटमा नै राखिन्छ । तर, केही स्थानमा जस्तै कि नदीमा अचानक आउने बाढी, जनावर वा असुरक्षाका कारण घाटबाट प्रसाद घर लगिन्छ र भोलि बिहान सूर्य उदाउनुभन्दा अगावै पुनः त्यो प्रसाद घाटमा ल्याइ छठ पर्व मनाइने वर्तालु जनकपुरधाम उपमहानगरपालिका–४ की मधु झा बताउँछिन् । 

छठ व्रत गर्नेहरु सबैजना चौठी तिथिका दिन नुहाइ धुवाई गरी चोखो भई अर्वाअर्वाइन खाने गर्दछन् । यही तिथिका दिनदेखि छठ पर्व औपचारिक रुपमा प्रारम्भ हुने गर्दछ । यस दिन व्रत गर्ने महिला र पुरुष नुहाइ धुवाई गरी शुद्ध वस्त्र लगाई शाकाहारी भोजन खाने गर्दछन् । कार्तिक शुक्ल पञ्चमी तिथिका दिनभरी पर्व गर्नेले उपवास बस्दछन् । उक्त दिन साँझमा माटोले बनाइएको नयाँ चुल्होमा नयाँ माटोको भाडामा अरबा चामलको खीर बनाउने गर्दछन् । सख्खर राखेर बनाइएको खीर देवी देवतालाई प्रसादको रुपमा चढाइन्छ र प्रसाद स्वरुप खीर व्रतीका साथै घरका अन्य सदस्यले ग्रहण गर्दछन् । जसलाई मिथिलाञ्चलमा खरना भनिन्छ । 

कार्तिक शुक्ल षष्ठी तिथिका दिन व्रत गर्ने महिला डुब्दै गरेको सूर्यलाई अर्घ दिने गर्दछन् भने जुन पुरुषले व्रत गर्ने गर्दछन् । पुरुष व्रत गर्नेले सूर्य देवतालाई अर्घ अर्पण गर्ने समयसम्म पोखरी, तालतलैयामा सूर्य देवतालाई हातमा नरिवल वा अन्य कुनै फलफुल लिइ उभिरहेका हुन्छन् । साँझको समयमा घण्टौसम्म जलमा रही नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायतमा राखिएका प्रसाद लिएर डुब्दै गरेको सूर्यलाई अर्घ चढाउने गर्दछन् । उक्त दिन छठ व्रत गर्नेको घरका सबै सदस्य प्रायः रातभर पोखरीको घाटमा जाग्राम बस्ने गर्दछन् ।

छठको प्रसादमा ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, सिंगारा, फलफूल, पान, सुपारी, धूप, दीप, अरतक पात, चना आदि रहन्छन् । पर्वको दिन व्रत गर्नेलाई यस मन्त्रबाट संकल्प लिनु आवश्यक ‘नमेऽद्य कार्तिक मासीय शुक्ल पक्षे षष्ठम्यां तिथौ (आ–आफ्नो गोत्रको नाम लिएर) जन्म जन्मान्तरार्जित ज्ञाताज्ञात कायिक वाचिक मानसिक सकल पाप कामावाप्ति काम अद्य प्रातश्च सूूर्यायार्घमहंदास्ये ।’

तत्पश्चात् अक्षत लिएर नमो भगवन सूर्य इहागच्छ यहतिष्ठतः उच्चारण गरी पूजाको थालीमा अक्षत राखी जल लिएर एतानि पाद्यार्घाचमनीयस्नानीय पूूनराचमनीय नमो भगवते श्री सूर्यनारायणय नमः उच्चारण गरी जल चढाइ फूलमा रातो चन्दनको लेप लगाइ, रातो फूल, दुबो अक्षता र प्रसादका लागि तयार पारिएका परिकारसहित जल लिएर सूर्यतिर हेर्दै ‘नमोस्तु सुर्याय नमः’ उच्चारण गरी सम्पूर्ण डाला उत्सर्ग गर्दै कथा सुन्ने गरिन्छ । त्यसपछि व्रत गर्ने महिला पुरुषसहित अन्य सबै सदस्य घर फर्किन्छ र भोजन गर्दछन् । जसलाई मैथिलीमा पारण भनिन्छ । पारण भएपछि ४ दिवसीय छठ पर्वको समापन हुन्छ । यस विधानले छठ पर्व मनाइन्छ । 

षष्ठी देवी
कार्तिक शुक्ल षष्ठी तिथिका दिन डुब्दै गरेको सूर्यका साथ साथै षष्ठी देवीको समेत पूजा गरिन्छ । पुराणका अनुसार प्रकृति देवीको एक प्रधान अंशलाई देवसेना भनिन्छ । जसलाई सबैभन्दा श्रेष्ठ मातृका समेत मानिन्छ । माता सृष्टिको सम्पूर्ण जीवको रक्षिका देवी हुन् । प्रकृतिको छैठौँ अंश भएका कारण उनको नाम समेत षष्ठी रहेको छ ।

षष्ठी देवीको पूजनको प्रचार प्रसार ब्रह्मवैवर्त पुराणका अनुसार राजा प्रियव्रतकको कालदेखि आरम्भ भएको मानिन्छ । यस कारण ‘छठि माता’ भन्ने मिथिलाञ्चलमा परम्परा छ । हुनत केहीले सूर्यको माता भनेर समेत षष्ठी देवीको पूजा गर्ने प्रचलन रहेको छ । 
   
छठको पौराणिक महत्व
लंका विजयपछि रामराज्यको स्थापनाका दिन कार्तिक शुक्ल षष्ठी तिथिका दिन भगवान राम र माता सीता उपवास बस्दै सूर्यदेवको आराधना गरेका थिए । उनीहरुले सप्तमी तिथिका दिन सूर्योदयको समय अनुष्ठान गरी सूर्यदेवबाट आशिर्वाद प्राप्त गरे । एक किसिमले छठ पर्वको आरम्भ यसै दिनदेखि भएको मानिन्छ ।

ऊर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यलाई मानिन्छ । यसैकारणले गर्दा हिन्दू शास्त्रमा सूर्यलाई प्रत्यक्ष देवताको रुपमा मानिएको छ । एक अर्को मान्यताका अनुसार छठ पर्व महाभारत कालदेखि सुरु भएको हो । छठ पूजाको सुरुवात सूर्य पुत्र कर्णले गरेको मानिन्छ ।

कर्ण भगवान् सूर्यको परम भक्त थिए । उनी हरेक दिन जलमा उभी सूर्यलाई अर्घ दिने गर्दथे । सूर्यको कृपाले उनी महान् योद्धा बन्न सफल भए । महाभारतमा सूर्य पूजाको अर्को वर्णन समेत पाइन्छ । पाण्डव पत्नी द्रौपदी आफ्नो परिवारजनको उत्तम स्वास्थ्यको कामना र दीर्घायुका लागि नियमित सूर्य पूजा गर्ने गर्थिन् । 

छठ पर्वको कथा
कथाका अनुसार राजा प्रियवद निसन्तानी थिए । त्यस समय महर्षि कश्यप पुत्रेष्टि यज्ञ गराएर उनकी पत्नी मालिनीलाई यज्ञाहुतिका लागि बनाइएको खीर खानका लागि दिए । यसको प्रभावले उनलाई सन्तानको रुपमा छोरा प्राप्त भयो तर उक्त छोरा पनि मृत नै जन्मिए ।

प्रियवद पुत्रलाई लिएर श्मशान गए र आ पुत्र वियोगमा प्राण त्याग्न लागे । ठिक त्यही समय मानस कन्या देवसेना प्रकट भइन् र भनिन् सृष्टिको मूल प्रवृत्तिको छैठौँ अंशबाट उत्पन्न भएका कारण मेरो नाम षष्ठी परेको छ । ‘हे राजन् तपाई मेरो पूजा गर्नुस् तथा अन्य व्यक्तिलाई समेत यसका लागि प्रेरित गर्नुस् ।’ राजा पुत्र इच्छाले देवी षष्ठीको व्रत गरे र उनलाई पुनः पुत्र प्राप्ति भयो । उनले गरेको यो पूजा कार्तिक शुक्ल षष्ठी तिथिको दिन भएको थियो । यस प्रकार कार्तिक शुक्ल षष्ठी तिथिको दिन अर्थात् छठि मैयाको पूजा गर्ने परम्परा बन्यो ।

छठ पर्वको वैज्ञानिक महत्व
छठ पर्वको परम्परा वैज्ञानिक र ज्योतिषीय दृष्टिले समेत महत्वपूर्ण रहेको पाइएको छ । षष्ठी तिथि एक विशेष खगोलीय अवसरको रुपमा रहेको छ जुन समयमा पृथ्वीको दक्षिणी गोलार्धमा सूर्य रहन्छ र दक्षिणायनक सूर्यको अल्टुभोइलेट किरण पृथ्वीमा सामान्यभन्दा बढी मात्रामा एकत्रित हुन्छ ।

किनभने यस समयमा सूर्य आफ्नो तलको राशि तुलामा रहेको हुन्छ । जसकारण दूषित प्रकाशको सीधा प्रभाव जीवको आँखा, पेट र छाला आदिमा पर्ने गर्दछ । सूर्यको प्रकाशलाई परावैजनी प्रकाशबाट जीवको हानी नोक्सानी नहोस् भन्ने अभिप्रायका साथ सूर्य पूजाको रहस्य लुकिएको विज्ञानका जानकारको भनाइ रहेको छ ।   

सामाजिक सांस्कृतिक महत्व
छठ पूजाको सबैभन्दा महत्वपूर्ण कुरा यसको पवित्रता र लोकपक्ष रहेको छ । भक्ति र अध्यात्मिक हिसाबले परिपूर्ण यस पर्वका लागि मन्दिर वा आडम्बरको आवश्यकता भने हुँदैन् । यो पर्वले समाजमा सबैको महत्व आ–आफ्नो स्थान उत्तिकै छ भन्ने कुराको आभाष समेत गराउँदछ ।

जसरी माटोका सामग्रीका लागि कुम्हाले, बाँसको सामग्रीका लागि डोम समुदाय, पूजाअर्चनाका लागि ब्राह्मण पुरोहितीनी, सख्खर, चामलका लागि किसान र व्यापारीलगायत, पूजाका प्रसाद बनाउनका लागि महिला, घाटमा लैजानका लागि पुरुष र जसरी कुनै दिनदुखी बिना चप्पल जुत्ता कसरी हिड्छन्, बिना साधन कुनै व्यक्ति कसरी काम गर्दछन्, यसको आभाष गराउनका लागि घाटमा प्रसाद लैजानेहरु धनी होस् या गरिब जुत्ता, चप्पलबिना हिँडेर नै लैजाने गर्दछन् । त्यसैगरी छठको विशेषतासहितको मैथिली लोक गीतसंगीतले जीवनलाई सार्थक बनाउन र पवित्र पर्वका लागि अझ बढी निष्ठावान् बनाउन सहयोग गर्दछ । 

छठको सन्देश
छठ पर्वमा स्थानीय उत्पादन, स्थानीय सीप र स्थानीय संस्कारको समिश्रण पाइन्छ । जस्तै स्थानीय समुदायद्वारा हस्तनिर्मित बाँसको नाङ्लो, कनसुप्ती, माटोद्वारा निर्मित सामग्रीहरु, ढकना, सरबा, दियो, हाथी आदि–इत्यादि सामग्री । हिन्दू धर्म संस्कृतिमा छठ पर्वको विशिष्टता आफैमा महत्वपूर्ण रहेको छ । यस पर्वमा उदाउँदो सूर्यका साथै अस्ताउँदै गरेको सूर्यलाई समेत एकैप्रकारको आस्था र निष्ठाका साथ पुजिन्छ ।

त्यसैगरी हरेक वर्ग, जात, समुदायका मानिस एकै घाटमा एकसाथ यो पर्व मनाउने गर्दछन् । जसले सृष्टि सबैका लागि समान हो यहाँ कोही उचनिच, धनी गरिब छैनन् भन्ने सन्देश दिएको हुन्छ । त्यसैगरी यदि वातावरणीय हिसाबले हेर्ने हो भने पनि छठ पर्वको ज्यादै नै महत्व रहेको छ । 

वर्षमा एक पटक भए पनि हामीले आफ्नो जीवनसँग अत्याधिक नजिक रहेका पोखरी, तालतलैया, नदीलगायत पानीको मुहान सरसफाई गरिन्छ । यसले प्रकृतिलाई संरक्षण गर्नुपर्छ भन्ने सन्देश पनि दिएको छ । 

तस्बिर : नेहा झा (फाइल फोटो)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर