जोशीको ‘कलायात्रा’ काउन्सिलमा 

काठमाडौं । अग्रज पौभा कलाकार दीपक कुमार जोशीको कला प्रदर्शनी हुँदैछ । 'कला यात्रा' अर्थात् ‘रेट्रोस्पेक्टिभ अफ दीपक कुमार जोशी’ शीर्षकमा नेपाल परम्परागत चित्रकला परिषदको आयोजनामा प्रदर्शनी हुन लागेको हो । नेपाल आर्ट काउन्सिल बबरमहलमा आगामी २७ कार्तिकदेखि ३० सम्म हुने उक्त प्रदर्शनीमा जोशीले बनाएका प्रारम्भकालदेखिका कलाकृति राखिदैंछ । प्रदर्शनीमा चार दशकभन्दा लामो समयदेखि नेपाली पौभा तथा अन्य कलाका विधामा काम गर्दै आएका जोशीको छोटो नालीबेली प्रस्तुत गरिने आयोजकले जनाएको छ । 

परम्परागत कला जगतका अग्रज कला व्यक्तित्व जोशीले कला रचना, शिक्षण तथा सैद्धान्तिक बहस गर्दै आएका छन् ।  उनले पौभा कला विधामा मौलिकपन दिई आफ्नो विशिष्ट स्थान बनाउन सफल भएका छन् । साथै उनले यो विधालाई प्रख्यात र सम्मानित महत्वपूर्ण भूमिका समेत निर्वाह गरेका छन् । 

सन् १९६३ को मे १८ मा काठमाडौंमा जन्मिएका कलाकार जोशीको बाल्यकालदेखि नै रुचिको विषय चित्रकला थियो । उनले नौ दश वर्षको उमेरदेखि चित्र कोर्न थालेका हुन् । उनले पौभा कलाका अग्रज कलाकार सिद्धिमुनि शाक्यको वीरेन्द्र कला संग्राहलयमा संकलित मञ्जुश्रीको पौभाचित्रले निकै प्रभावित बनायो र सो शैलीको चित्र बनाउन थाले । आफ्नो सीप र क्षमतालाई तिखार्न सन् १९७६ देखि पाँच वर्षसम्म अर्का वरिष्ठ परम्परागत चित्रकार प्रेममान चित्रकारसँग पौभाका गुण र शैलीको अनुभव बटुल्न थाले । यसपछि उनी स्वतन्त्र रुपमा कला सिर्जनामा लागे । 

सन् १९८१–८३ सम्म नेवाः परम्परागत कला तथा शिल्पकलामा काम गरे । त्यसैबेला तत्कालीन नेपाल सरकारको तालिम सामाग्री उत्पादन केन्द्रमा काम अवसर जु¥यो । उनले सन् १९८५ मा अडियो भिजुअल टे«निङ्गका साथै नेपाल टेलिभिजनको प्रोडक्सन डिजाइनको तालिम समेत लिए । साथै उनले युनिसेफको फिल्म एन्ड एनिमेसनको प्रोडक्सन टेक्निक तालिम, बंगलादेशबाट टेलिभिजन फिल्म ग्राफिक्स तालिम, टेलिभिजन ओरिएन्टेसन तालिम र टेस्ट टर्म राइटर्स टे«निङ्गसमेत लिए । 

नेपाल टेलिभिजनमा कला र कलाकारसम्बन्धी कार्यक्रमको सिनियर प्रोड्युसरको भूमिकामा ६ वर्ष काम गरे । सन् २००७ मा उनले नेपाल हस्तकला महासंघमा कला शिक्षकको भूमिका निर्वाह गरे । नेपाल हस्तकला महासंघको पौभा÷थांका विभागको संयोजक समेत रहेका जोशीले निरन्तररुपमा बौद्ध कला र बौद्ध धर्म दर्शनमा पनि प्रवचन दिँदै आएका छन् । उनले बज्रयान बौद्ध अभ्यासमा प्रख्यात पं. बद्री गुरुज्यूबाट दीक्षित भए भने श्रीधर राणाको पनि अति नै नजिकको शिष्य हुन् । हाल प्रचलित नेपाल टेलिभिजनको लोगोका सर्जक जोशीले नेपाल राष्ट्रिय कला प्रदर्शनी, सन् १९८६ (नाफा) मा प्रथम स्थान हासिल गरे । साथै सन् २०१२ मा उनी कला एकाडेमीको प्रथम पुरस्कारबाट सम्मानित भए । उनलाई नेपाल ललितकला मञ्चले अग्रज कलाकारबाट सम्मानित गरेको छ । 

सन् २०१२ मा नेपाल हस्तकला महासंघबाट ‘बेस्ट आर्टिष्ट अफ द इअर’ बाट सम्मानित गरिएको थियो । उनको कला यात्राको दौरान बुद्धिष्ट कला प्रतियोगिता (१९८२), यङ्ग आर्टिष्ट गु्रपको कला प्रदर्शनी, राष्ट्रिय युवा उत्सवको कला प्रदर्शनी लगायतमा प्रथम भएका छन् । साथै उनी दर्जनौ संघसंस्थाबाट पुरस्कार तथा सम्मानित भएका छन् ।

डेढ दर्जनभन्दा बढी सामूहिक कला प्रदर्शनी गरेका जोशीले अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा सहभागी भइसकेका छन् । उनी जापानको होकाइडोको कला प्रदर्शनी, संयुक्त राज्य अमेरिकाको अक्ल्याण्ड आर्ट म्युजियममा भएको चित्रकला प्रदर्शनी तथा कार्यशालामा सहभागी भएका छन् । 

त्यस्तै, जापानको फुकुओका कला मेला तथा प्रदर्शनीमा सहभागिता र फुकुओका एसियन आर्ट म्युजियममा भएको नेपाली कला प्रदर्शनीमा उनका कलाकृति राखिएको थियो । लण्डनस्थित रोयल फेस्टिभल हल साउथ बैंकमा कला डेमोन्स्ट्रेसन आदि उनको उल्लेखनीय अन्तर्राष्ट्रिय गतिविधि हुन् । कलाकार जोशी आफ्नो कला साधनामा मात्र सीमित नभइ विभिन्न कला तथा अन्य सामाजिक संघसंस्थामा आबद्ध रही समाजसेवाका क्षेत्रमा समेत क्रियाशील छन् । 

उनका कलाकृति नेपालका कला संकलक साथै प्रतिष्ठित स्थानमा संग्रहित छन् । त्यस्तै, अक्ल्याण्ड आर्ट म्युजियम, संयुक्तराज्य अमेरिका, फुकुओका एसियन आर्ट म्युजियममा पनि जोशीका कला संकलित छन् । त्यसैगरी  जर्मनी, संयुक्त अधिराज्य, फिनल्याण्ड, फ्रान्स, सिंगापुर, ताइवान, जापान, चीनमा समेत उनका कला संग्रहित छन् ।

नेपाली कलाको प्रचार प्रसार गर्ने उद्देश्यका साथ उनले नेपालका विभिन्न भू–भागका साथै भारत, बंगलादेश, चीन, हङ्गकङ्ग, थाइल्याण्ड, जापान, बेलायत, अमेरिकाको भ्रमण गरेका छन् । प्रदर्शनीमा उनको जीवनकालका रचिएका प्रायः कलाकृति राखिन लागिएको आयोजकले जानकारी दिएको छ ।    
    


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर