महिला हिंसाविरुद्ध आवाज उठाउने सशक्त चलचित्र ‘मालिका’

अयुष्मा बस्नेत/काठमाडौं । चलचित्र केवल एउटा मनोरञ्जनको साधन मात्र होइन समाजको ऐना पनि हो । यसले समाजको यथार्थ बोल्छ । कुनै न कुनै रुपमा समाजको परिवर्तनको लागि आवाज उठाउने काम चलचित्रले गरेको हुन्छ । माया प्रेम र हाँस्य व्यंग्य कथाहरु समेटिएको चलचित्रहरुको भिडमा रेखा फिल्म्सको पाँचौ प्रस्तुतीको रुपमा दर्शक माझ आएको चलचित्र ‘मालिका’ समाजको यस्तै एउटा ऐना हो । समाजमा नारीमाथि हुने गरेका अन्याय, अत्याचार र हिंसाको बारेमा बुलन्द रुपमा आवाज उठाउने चलचित्र बनेको छ मालिका ।  

तराइको परिवेश, छोरा र छोरीबीचको भेदभाव, बालिकाहरुलाई स्वतन्त्र रुपमा खेल्न रोकिएको, श्रीमानले श्रीमतीमाथि गर्ने हिंसा लगायतको दृश्यहरुबाट कथा सुरु गरिएको छ मालिकामा । तर त्यही समाजका पुरुषहरुले पाएको स्वतन्त्रता पनि चलचित्रमा देखाइएको छ । चलचित्रमा रेखा थापा (मालिका यादब) ,किशोर खडका (सर्वण), नरबहादुर कार्की( सहयोगीपात्र) कमला ओली (जया) लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रको निर्देशन रेखा थापाले गरेकी हुन् भने कथा तथा पटकथा लेखन नरबहादुर कार्की र रेखाले नै गरेका हुन् । 

‘मालिका’ समाज परिवर्तनका लागि महत्वपूर्ण भुमिका खेल्न सक्ने देखिन्छ । चलचित्रको परिवेश मुलुकको पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै बनाइएको देखिन्छ । तराइमा विद्यमान दाइजो प्रथा, नारीलाई उसको गुणको आधारमा भन्दा पनि सम्पतिमा तौलिएर बिवाह गर्ने हाम्रो समाजको तितो यथार्थलाई चलचित्रमा उतार्ने प्रयास गरिएको छ । छोरी भएर जन्मेपछि समाजले उसलाई मात्र एउटा बन्धनमा बाधिएर बस्नुपर्छ भनेर सिकाएको बाटोलाई वेवास्ता गर्ने एउटा शसक्त नारीको रुपमा रेखालाई देखाइएको छ।बिवाहको मण्डपमा पुगेर दाइजोको कारण बिवाह तोडिँदा पनि अन्यायको अगाडी लड्न सक्ने नारीको रुपमा मालिका यादब(रेखा)लाई उभाइएको छ ।

चलचित्रमा अर्का पात्र छिन ‘जया’ जो गाउँकै दाजुबाट बलात्कारको शिकार भएकी छिन् ।  त्यही बलात्कारको आवाज बन्द गर्न समाजले इज्जतको लागि भनेर त्यही बलत्कारीसँग बिवाह गर्न राजी हुन्छिन् । त्यो पनि बाल विवाह । ८ कक्षामा पढदै गर्दा बलात्कारको सिकार बनेकी जयालाई फेरी त्यही बलात्कारीसँग बिवाह गर्न बाध्य बनाइएको हुन्छ । तर बिवाहबाट उम्कन भागेर काठमाडौं पुगेकी जयालई गाडीमा, होटलमा जतापनि सबैले बहिनी भनेर मान्ने गरेपनि उनीहरुको नजर भने सधै गलत रहेको देखाइएको छ । जयाले पाएको दुख एकदमै कारुणिक रुपमा प्रस्तुल गर्नुले चलचित्रको कथाशैलाी कथा अनुसार नै बगेको छ । 

रेखाले जयालाई त्यो कालखण्डबाट बचाएर एउटा शसक्त बालिकाकोे रुपमा देखाउनुले पनि नारी शक्तिको लागि एउटा अभियानकै रुपमा चलचित्र उत्कृष्ट बनेको देखिन्छ । भाषाका कुरा गर्दा पनि कर्णाली डोटीको परिवेश भए पनि सरल र मिठास भाषाहरुको प्रयोग भएको छ । कथाले मागे अनुसार केही रमाइला पटकथाहरुले चलचित्रलाई अझ राम्रो बनाएको छ । चलचित्रका धेरै जस्तो संवादहरु आर्दशका भाव बोकेका छन् ।

मालिकाको राम्रो पक्ष
‘मालिका’ चलचित्रले उठाएको कथा आज हाम्रो देशमा भइरहेका निर्मला पन्त जस्ता धेरै बालबालिकाहरुको हकमा प्रतिनिधित्व गरेर बनेको चलचित्र हो । अधिकार मागेर बस्ने नारीहरुले आफ्नो अधिकार कसरी खोसेर लिन सक्नुपर्छ भन्ने सन्देश दिएको छ । 
नारी भएर जन्मनु अभिशाप मान्ने हाम्रो समाजले एकदिन त्यही नारीको पुजा गर्न बाध्य कसरी बनाउन सकिन्छ त्यो आभाष चलचित्रले गराएको छ ।

आज पनि हाम्रो समाजमा भएका बाल बिवाह, दाइजो प्रथा, महिला हिंशा, समाजको अन्धविश्वासलाई चिर्दै समस्यासँगै समाधानका बाटोहरु पहिलाउन चलचित्रले एउटा ठूलो बाटो देखाएको छ । जया, मालिका, अनि होटलको साउनी नै भए पनि नारी आवाजको उत्थान गर्ने पाटोको रुपमा नारीहरुलाई बलियो पात्रको रुपमा देखाएको पनि एउटा सबल पक्ष लिन सिकन्छ । 
एउटा बाल बिवाहबाट भागेर आएको जयाको हिम्मतलाई बढाएर समस्यासँग लड्न सक्ने बनाउनु पनि चलचित्रको सबल पक्षको रुपमा लिन सकिन्छ । 

चलचित्रमा मालिकाको नराम्रो पक्ष
चलचित्रमा उठाइएका सबै पक्षहरु राम्रो नै छ तर हरेक घटनाको उदार गर्न नायिका आफै मात्र उपस्थिति हुनुले नायक पनि आफै खलनायक पनि आफै भए जस्तो आभाष गराएको छ  । अन्यायमा परेको जयालाई हरेक ठाउँमा बचाउन आउने रेखा नै भएकोले हरेक पुरुष गलत नै हुन्छन् जस्तो देखाउनु त्यति उचित देखिदैन । 

कथा,पटकथा, भाषाशैली, परिवेश, द्धन्द्ध कथाले मागे अनुसारकै बनेको छ । चलचित्र हेर्दा एउटा परिकल्पनाको नाटक हेर्दै छु भन्दा नि मेरो आँखा अगाडि भएका घटना पर्दामा देखाइएको छ जस्तो लाग्ने महिला हिंशा विरुद्धको उत्कृष्ट चलचित्र मालिका हो । 
नारीमा उत्पन्न भएको डरले गर्दा आफु सधै अन्यायमा परिन्छ भन्ने भयलाई हटाएर त्यो चुनौतीलाई समाना गर्ने क्षमता विकास गर्नुपर्छ भन्ने सन्देश दिएको छ । कमजोर भएर भन्दा पनि आत्मबलका साथ बलियो भएर चुनौतीको सामना गर्न सके कुनै पनि समस्याबाट भाग्न पर्दैन । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर