• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

प्रदेश १ को छठ पर्वमा साँस्कृतिक महोत्सव  

विराटनगर । छैठ पर्वलाई महत्व दिएको प्रदेश सरकारले बुधवार विराटनगरमा भब्य छठ पर्व विशेष साँस्कृतिक महोत्सव सम्पन्न गरेको छ । छैठ पर्व सबै जातजाती, धर्म र संस्कृति मान्ने नेपालीहरुको साझा पर्व भएको सन्देशसहित सरकारले हरेक वर्ष उदाउँदो सुर्यलाई अर्घ दिएपछि साँस्कृतिक महोत्सव आयोजना गर्ने परम्पराको सुरुवात गर्ने पनि जनाएको छ । 

प्रदेश १ का प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्द तुम्वाहाङको प्रमुख आतिथ्यता तथा कार्यबहाक मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको विशेष आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, सभामुख, उपसभामुख, प्रदेशसभा सदस्यहरु तथा प्रदेश तहका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिती रहेको थियो । 

साँस्कृतिक महोत्सवमा मुस्लिमहरुको पनि उत्साहपूर्ण सहभागिता रहेको थियो । मुस्लिम समुदायको साँस्कृतिक झाँकी, झाँगड, बाँतर, धिमाल, थारु, मगर, राई आदि जातजातीको सांस्कृतिक झाँकी प्रतियोगितात्मकरुपमा प्रदर्शन गरिएको थियो । थारु समुदायको तर्फबाट दुहवी नगरपालिकाले ल्याएको झाँकी कलात्मक र उत्कृष्ठ देखिएको थियो भने रंगेली नगरपालिकाको जनप्रतिनिधिहरुको मिश्रीत जातीय झाँकी अर्को आकर्षणको केन्द्र बनेको थियो । 

शुभकामना आदानप्रदानसमेत गर्ने उद्देश्यले आयोजना गरिएको साँस्कृतिक महोत्सवमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको छुट्टाछुट्टै झाँकी प्रदर्शन गरिएको थियो । सबै जातजाती र संस्कृतिबीच आपसी सद्भाव कायम गर्ने र सबैलाई एकताको सुत्रमा बाँध्नकालागि महोत्सव सफल भएको प्रदेश सरकारले जनाएको छ । 

कार्यवहाक मुख्यमन्त्री कार्कीले छैठ पर्वको साँस्कृतिक महत्व विस्तार हुँदै गएकोले सरकारले त्यसलाई सम्पुर्ण प्रदेशको पर्वको रुपमा मनाएको बताए । उनले समृद्ध प्रदेश सुखी जनताको नारालाई सार्थक बनाउन पनि सबैको पहिचानलाई संरक्षण र विकास गर्न सरकार लागि पर्ने बताए । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर