तिहारमा पनि बिकेन फूल 

सोचेजस्तो व्यापार नहुँदा फूल व्यवसायी निरास

धनगढी । तिहारमा फूलको व्यापार नहुँदा धनगढीका फूल व्यवसायी निरास बनेका छन् । यस अघिका तिहारमा फूलबाट राम्रो कमाइ गर्ने फूल व्यवसायीले यस वर्ष भने लगानीसमेत असुल नभएको गुनासो गरेका छन् । 

धनगढी उप–महानगरपालिका वडा नम्बर–२, का चन्द्रबहादुर नेपालीले ८ कठ्ठा जमिनमा व्यवसायिक फूल खेती गरे । सोबाट उनले करिब तीन लाख रुपैयाँसम्म कमाउने लक्ष्य राखेका थिए । उनले सोचे अनुसारको व्यापार यस वर्ष नभएको बताए । सोचे अनुसार फूलको व्यापार नहुँदा अहिले उनी निक्कै दुःखी छन् । तिहारमा १० हजारसम्मको पनि फूल नबिकेको भन्दै उनले लगानीसमेत असुली नभएको दुखेसो पोखे । 

गत वर्ष १ कठ्ठा जमिनमा फूल खेती गरेर ३० हजार आर्जन गरेका उनले यस वर्ष ८ कठ्ठा जमिनमा फूल खेती गरेका थिए । ‘गत वर्ष राम्रो कमाइ भएपछि यस वर्ष थप कमाउने उद्देश्यले ८ कठ्ठा जमिनमा फूल खेती गरेँ,’ उनले भने, ‘यस वर्ष भने लगानीसमेत असुलिएन, फाइदाको त कुरै नगर्नुस् ।’ फूल बेचेर तीन लाखसम्म आम्दानी गर्ने सोच बनाएका उनले बीस हजार बढी आर्थिक नोक्सानी व्यहोर्नु परेको बताए । यस वर्ष तिहार ढिला हुँदा खेतमै फूल बिग्रेका कारण घाटा भएको उनले बताए । 
‘हामीले लगाएको फूल छिटो फुले,’ उनले भने, ‘तिहार सुरु हुने समयसम्म फूलमा ढुसी पलाइसकेको थियो, अलि अली बचेको फूल पनि बिक्री हुन पाएन ।’ गत वर्ष प्रतिमाला २ सय रुपैयाँसम्माम बेचेका उनले यस वर्ष भने ५०–६० रुपैयाँमै एक माला बेच्नुपरेको बताए । तिहारअघि फूल टिप्न र माला बनाउन उनी निक्कै व्यस्त थिए । तीन वर्षअघि टेलिभिजनमा देखेको समाचारले आफूलाई फूल व्यवसायी बनाएको सम्झँदै उनी भन्छन्, ‘तिहारको समय थियो, समाचारमा फूलको हाहाकार भन्ने सुनेपछि मैले घरमा सजावटका लागि लगाएका दस÷बाह्र बोटमा फूलेका फूल बेचेँ ।’ 

बजार लगेको आधा घण्टामै फूल बेचिएपछि आफू हौसिएको बताउँदै उनले भने, ‘त्यो वर्ष दस÷बाह्र बोटमा लगाएको फूलले नै १५ सय रुपैयाँ आम्दानी भयो र पो हौसिएँ ।’ थोरै फूलले राम्रो आम्दानी भएपछि व्यवसायिक फूलखेतीतर्फ आकर्षित भएको बताउँदै उनी भन्छन्, ‘अर्को वर्ष एक कठ्ठा जमिनमा फूल रोपेँ, त्यसबाट पनि तीस हजार रुपैयाँ आम्दानी भयो ।’ एक पटक घाटा हुँदैमा फूल व्यवसाय गर्न भने नछोड्ने उनले बताए । 

उनीजस्तै  धनगढी–१३, एयरपोर्टका पुष्प पन्तले पनि यस वर्ष सोचे जस्तो फूलको कारोबार नभएको बताए । फूल बेचेरै सोचेभन्दा राम्रो आम्दानी हुने गरेको विगत सम्झँदै उनले भने, ‘गत वर्षको तिहारमा मात्रै मैले ११ हजार माला बेचेर ९ लाख कमाएको थिएँ तर यस वर्ष भने एक हजार माला पनि बिक्री भएनन् ।’ उनले दुई बिघा जमिनमा फूल रोपेका थिए । यो तिहारमा विगतमा भन्दा बढी आम्दानी हुने आशा बोकेका पन्तले भने, ‘अहिले घर–घरमा फुल फूलेका कारण पनि ग्राहकलाई फूलको आवश्यकता परेन, अनि कसरी व्यापार  बढ्थ्यो ।’ पछिल्लो समयमा प्लास्टिकका मालाभन्दा स्थानीय फूलका मालामा आकर्षित हुने गरेको उनको अनुभवले बताउँछ । 

तिहारको समयमा फूलको माग अत्याधिक हुने भए पनि यस वर्ष घर–घरमा फूल फूलेका कारण ग्राहकले बजार धाउनु नपरेको चन्द्रबहादुर नेपाली बताउँछन् । स्वदेशमा फूल उत्पादन नहुँदा भारतबाट लाखौंको फूल आयात हुने गरेको भन्दै उनले विदेश जानुभन्दा आफ्नै देशमा मिहिनेत गर्न सिक्नुपर्ने उनले बताए । ‘कुनै पनि काममा सधैं सफलता पाइदैंन’ उनले भने, ‘यो वर्ष घाटा भयो भन्दैमा सधैं यस्तै हुन्छ भन्ने छैन, अर्को वर्ष समय हेरेर फूल खेती गर्छु ।’ फूल खेती सकिएपछि सोही जमिनमा तरकारी खेती गर्ने गरेको नेपालीले बताए । ‘मिहिनेत गरे आफ्नै माटोमा सुन फलाउन सकिन्छ, ‘उनले भने, ‘विदेश गएर न त सम्मान नै पाइन्छ, नत मिहिनेत अनुसारको दाम नै ।’  कैलालीमा मात्र भारतीय र नेपाली गरी दर्जन बढी पुष्प व्यवसायी रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर