• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

विकासको लहर गाउँ–गाउँमा  

दोलखामा पर्यटन, कृषि र शिक्षा पहिलो प्राथमिकतामा

दोलखा । २० वर्षपछि स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि चयन भएसँगै अहिले विकासका लहर गाउँ–गाउँमा फहराउन थालेको छ । जनप्रतिनिधि भएको र नभएकोमा धेरै फरक आभास हुन थालेको छ ।

अहिले स्थानीयले पनि यसको महसुस गर्न थालेका छन् । प्रदेश तीन भित्र रहेको दोलखा जिल्ला धार्मिक तथा पर्यटकीय दृष्टिकोणले निक्कै महत्वपूर्ण छ । ९ स्थानीय तहमा विभाजन भएको यो जिल्लामा दुई नगरपालिका र सात गाउँ पालिका छन् ।

दोलखामा दुई नगरपालिका भिमेश्वर र जिरी रहेका छन् भने, तामाकोशी, मेलुङ, कालिन्चोक, गौरीशंकर, सैलुङ, वैत्यश्वर र विगु गाउँपालिका छन् । दोलखाको स्थानीय तहमा तत्कालीन नेकपा एमालेले नै वर्चश्व जमाएको भएपनि विकास निर्माणका सवालमा सबै राजनीतिक दलहरुको एउटै मत हुने गरेको छ ।

नौ स्थानीय तहमध्ये सात तहमा नेकपा एमालेले जितेको छ भने, दुई स्थानीय तहमा वैत्यश्वर गाउँपालिका र विगु गाउँपालिकाको अध्यक्ष कांग्रेसले जिते पनि उपाध्यक्ष भने तत्कालीन नेकपा माओवादी केन्द्रले जितेको थियो । 

केपी शर्मा ओली नेतृत्वको सरकारले ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणको अभियान चलाइरहेका बेला दोलखाले भने, समृद्ध दोलखा र सुखी दोलखाली बनाउने लक्ष्य राखेको छ । यो लक्ष्य आगामी चार वर्ष भित्रमा पुरा गर्ने जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जानकारी दिए । 

उनले भने, ‘सबै स्थानीय तहले विकास निर्माणको प्रोफाइल निर्माण गर्ने काम गरिसकेका छन् भने अब योजनाको काम सुरु गर्दै छन् । प्रोफाइल र योजना बनाउने काम सकिएपछि अब विकास निर्माणको कामले गति लिने छ । जनताले नजिकैको घर दैलोमा रहेको स्थानीय सरकार पाउने छन् ।’

स्थानीय तहभित्र पनि गाउँपालिका र नगरपालिका कार्यकारी भुमिका रहेपनि समन्वय समिति समन्वयकारीको भुमिका रहेको पाण्डेको भनाई छ । उनले गत आर्थिक वर्षमा केही कमि कमजोरी भएपनि यो आर्थिक वर्षबाट विकास निर्माणको कामले गति लिने बताए ।

भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले आफ्नो नगरलाई समृद्ध बनाउन योजनाबद्ध रुपमा काम गरिरहेको बताए । उनले आफु नगरपालिका प्रमुख भएर आएपछि धेरै सुधारका काम भएको दाबी गरे । उनले यातायात, शिक्षा, स्वास्थ्य र पर्यटनलाई आफूले प्राथमिकतामा राखेको उल्लेख गरे ।

उनले नगरपालिकाभित्र रहेका सडक सञ्जाललाई १२ महिना सवारी साधन सञ्चालन गर्ने गरी योजना बनाएर अगाडी बढेको बताए । उनले नगरलाई समृद्ध बनाउनका लागि पनि दक्ष जनशक्तिको आवश्यकता अनुसार नगरले काम गरेको केसीले बताए । 

नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर सामुदायिक र नीजि विधालयको शिक्षक र विधार्थीको ड्रेस एउटै राखेको बताए । मेयर केसीले नगरपालिकाबासीलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउन पर्यटन उद्योगमा लागनी बढाउने बताए । अहिले नयाँ नयाँ पर्यटकीय गन्तव्यको खोजी गरी आन्तरिक तथा बाह्य पर्यटक दोलखामा भित्र्याउन स्थानीय लागि परेको पनि उनले स्पष्ट पारे । 

जिरी नगरपालिकाले पनि अहिले जनताका माग सम्बोधन गर्ने गरी नयाँ नयाँ कार्यक्रम अघि बढाएको छ । सुरुमा काम गर्नै अन्यौलता भएको भन्दै अहिले जनताको माग अनुसार यातायात, विद्युत, शिक्षा, सञ्चारको विकासमा आफ्नो नगरले काम गरिरहेको नगरपालिकाकी उपप्रमुख कृष्णमाया बुढाथोकीले बताइन् । 

जिरी नगरपालिकाले पनि भिमेश्वर नगरपालिका जस्तै आर्थिक उपार्जनको आधार पर्यटनलाई नै बनाएको छ । पर्यटनको प्रबद्र्धनका लागि सरकारी र निजी क्षेत्रले हातेमालो गरेर अघि बढ्ने योजना रहेको उपप्रमुख बुढाथोकीले सुनाइन् । 

केहि क्षेत्र बाहेक जिल्लाका सम्पूर्ण क्षेत्र अहिले सडक सञ्जालले छोएका छन् । नगरपालिकाको तुलनामा केही विकट मानिएका गाउँपालिकामा पनि विकासका लहर विस्तारै फरफराउन थालेका छन् ।

गाउँपालिकामा जनआकांक्षा अनुसार खानेपानीको व्यवस्था, बिजुलीलगायतको उचित प्रबन्ध मिलाउन जनप्रतिनिधिले काम गरिरहेको कालिन्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले बताइन्  । 

जनप्रतिनिधिले विकासका क्रमले गति लिएको दाबी गरिरहँदा दोलखाका स्थानीयबासी पनि २० वर्षपछि निर्वाचित भएर आएका जनप्रतिनिधिको कामबाट सन्तुष्ट नै देखिएका छन् ।

भिमेश्वर नगरपालिकाकी स्थानीयबासी सीता केसीले जनप्रतिनिधि आएपछि संस्थागत तथा अन्य विकासका कामले गति लिएको बताइन् । हिमाली पहाडी जिल्ला दोलखा पर्यटकहरुको लागि आकर्षक गन्तव्य हो ।

यही आकर्षणलाई टेकेर जिल्लाको समृद्धिका लागि स्थानीय सरकारले योजना पनि बनाएका छन् । स्थानीय सरकार गठन भएको एक वर्षमा जनप्रतिनिधिले जनतालाई खुसी हुने गरी काम गरेका छन् ।

ऐतिहासिक स्थल दोलखाको नामबाट नामाकरण गरिएको यस जिल्लाका केही स्थानहरुमा किरात वा लिच्छवीकालदेखि नै वस्ती बसेको अनुमान छ । भीमेश्वर, कालिञ्चोक, जिरी, शैलुङ र गौरीशंकर दोलखाको आकर्षक गन्तव्य हो । भीमेश्वर हातामा कुमारी घर, त्रिपुरा सुन्दरी, तलेजु भवानी, महादेव मन्दिर र चैत्य छन् ।

कालिञ्चोकबाट दर्जनौं हिमाल देख्न सकिन्छ । नेपाली घुम्न रुचाउने अर्को गन्तव्य जिरी हो । जिरीलाई नेपालको स्विटजरल्यान्ड भनिन्छ । पर्यटकिय र धार्मिक हिसाबले पनि दोलखा निक्कै परिचित छ । अहिले सबै स्थानीय तह दोलखालाई समृद्ध बनाउन लागि परेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर