• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

‘मलाई कि मर्न देउ कि मार, म घर फर्किन्न’

एजेन्सी । बंगलादेशमा शरण लिएर बसेका म्यानमारका अल्पसंख्या रोहिंग्या मुसलमान समुदायका मानिसलाई घर फर्काउने प्रकृया बिहिबारदेखि सुरु हुँदैछ । बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको म्यानमारमा रोहिंग्या मुसलमानहरुलाई अवैध आप्रवासीको रुपमा हेर्ने गरिएको छ ।

रखाइन प्रान्तमा बसोबास गर्दै आएको उक्त समुदायमाथि गएको वर्ष म्यानमारको सेनाले कारवाही थालेपछि त्यहाँबाट लाखौँ मानिस भागेर छिमेकी बंगलादेश पुगेका थिए । तीनै भागेर बंगलादेशको शरणमा पुगेका शरणार्थीको घरफिर्ति प्रकृया आजदेखि सुरु हुन लागेको हो । तर झण्डै सात लाखको हाराहारीमा रहेका शरणार्थीहरु घर फर्किन चाहन्छन् त ? 

म्यानमार र बंगदाशेका अधिकारीहरुबीच क्रमैसँग शरणार्थीलाई घर फर्काउने सहमति भएको छ । तर शरणार्थीहरु घर फर्किन्छन् कि फर्किँदैनन् यो बारेमा भने अन्यौल कायम छ । 

शरणार्थीहरु एकदमै दयनीय अवस्थामा बंगलादेशको सिमा क्षेत्र कक्स बजारमा रहेका शिविरहरुमा दिन काटिरहेका छन् । शरणार्थीलाई घर फर्काउन तथा घर फर्काउन योग्य व्यक्तिको सूची तयार पार्न शिविरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । यसरी घर फर्किनेको सूचिमा परेकाहरु कोहि खुशी छन् भने कोहि भने सूचिमा आफ्नो नाम पर्ला भनेर चिन्तित छन् । धेरै जसो शरणार्थी आफ्नो परिवार जलेको ठाउँमा फेरी फर्किन चाहँदैनन् ।

बिबिसीले जनाए अनुसार केहि व्यक्ति त घर फर्किने व्यक्तिको सूचिमा आफ्नो नाम परेको खबर सुनेर शिविर छोडेर भागेको तथा लुकेका छन् । एकजना वृद्धले आफ्नो नाम सूचिमा परेको थाहा पाएर आत्महत्याको प्रयास समेत गरेको समाचारमा उल्लेख छ । ६० वर्षे ती वृद्धले भने, ‘मलाई कि मार कि मर्न देउ तर मलाई म्यानमार फर्किनु छैन ।’ 

अर्का वृद्ध भन्छन्, ‘जब म मेरो स्वदेश सम्झिन्छु, मेरो स्मरणमा दन्किरहेको आगो र नरसंहार मात्र आउँछ, मलाई फर्किन मन छैन ।’

पहिलो समूहलाई बिहिबार म्यानमार फर्काउने तयारी भइरहँदा सूचिकृत ५० परिवारका कसैले पनि म्यानमार फर्किने इच्छा नदेखाएको बंगलादेशका शरणार्थी आयुक्त ओहम्मद अबुल कलामले बताए । ‘कोहि पनि फर्किन चाहँदैनन्, उनीहरुको इच्छा विपरित जबर्जस्ती गर्नु पनि भएन’, उनले भने । 

रोहिंग्याहरुलाई अझै पनि म्यानमार खतरा रहेको विश्लेषकहरु बताउँछन् । उनीहरु त्यहि समुदायमा फर्किनुपर्छ जहाँबाट उनीहरु भागेका थिए । रखाइनका स्थानीयहरु रोहिंग्याहरुलाई अवैधानिक सम्झिन्छन् र उनीहरुलाई आतंकवादी भन्छन् । यस्तो अवस्थामा रोहिंग्याहरु फेरी त्यहि ठाउँमा निर्धक्कसँग फर्किन नसक्ने बिबिसी म्यानमारका पत्रकार बताउँछन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर