• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

आईतबारसम्ममा सम्झौता रद्द गर्न क्याम्पस प्रमुख घिमिरेलाई प्राध्यापक र स्ववियुको चेतावनी

सम्झौता खारेज हुनुपर्छ, दोषीलाई कारबाही हुन्छ – रेक्टर त्रिपाठी

भक्तपुर । सानोठिमी क्याम्पसको १३ रोपनी जग्गा मासिक ५ सय ९८ रुपैंयामा भाडामा दिएको विषय थप पेचिलो बनेको छ । शैक्षिक प्रयोजनका लागि प्रयोग गर्नुपर्ने क्याम्पसको जग्गा होटल संचालनका लागि कौडीको भाउमा १० वर्ष सम्म संचालन गर्न दिने सम्झौताप्रति प्राध्यापक र विद्यार्थी युनियन आन्दोलनमा उत्रिएका छन् । 

यस विषयमा समाचार दैनिक डटकमले बिहिबार कौडीको भाउमा सानोठिमी क्याम्पसको १३ रोपनी जग्गा भाडामा, क्याम्पस प्रमुख घिमिरेविरुद्ध अख्तियार जाने तयारी शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

प्राध्यापकको चेतावनी
प्राध्यापकले शुक्रबार क्याम्पस प्रमुख रामचन्द्र घिमिरेलाई भेटेर आईतबार सम्ममा सम्झौता रद्द गरि निर्णय नसच्याएमा थप आक्रामक आन्दोलन गर्ने चेतावनी दिएका छन् । ‘आज हामी प्राध्यापकहरुले संयुक्त रुपमा क्याम्पस प्रमुखलाई भेटेर आईतबार सम्ममा निर्णय सच्याएको सुचना दैनिक पत्रिकामा निकाल्नुस् नत्र हामी थप आन्दोलनमा उत्रन बाध्य हुनेछौं भनेर आएका छौं,’ प्राध्यापक अम्बरजंग लिम्बुले समाचार दैनिकलाई बताए । 

जवाफमा क्याम्पस प्रमुख घिमिरेले आफुले १२ रोपनी मात्रै जग्गा भाडामा दिएको र ९ बुंदे सर्तनामाका विषयमा प्राध्यापकहरुसँग छलफल गर्न खोजेका थिए । तर प्राध्यापकहरुले सम्झौताका कुनैपनि सर्तनामाका बुंदामा छलफल नगर्ने भन्दै सम्पूर्ण सम्झौता तत्काल रद्द गर्न चेतावनी दिए ।

स्ववियुको आन्दोलनको तयारी
सानोठिमी क्याम्पसको स्ववियुले समेत क्याम्पस प्रमुख घिमिरे विरुद्ध आन्दोलनको तयारी गरेको स्ववियु उपाध्यक्ष सतिश श्रेष्ठले समाचार दैनिक डटकमलाई जानकारी दिए । ‘क्याम्पस प्रमुखले जग्गा भाडामा दिने लगायत धेरै विषयमा भ्रष्टाचार गरेका छन्, श्रेष्ठले समाचार दैनिकसँगको कुराकानीमा भने, ‘हामीले १५ गतेपछिका सवै निर्णय खारेज गर्न क्याम्पस प्रमुखलाई भनेका छौं, अन्यथा स्ववियुले यस विषयमा छिट्टै आधिकारीक विज्ञप्ती दिनेछ ।’

आफुहरुले यस विषयमा कुरा गर्न जाँदा क्याम्पस प्रमुखले यो निर्णय आफुले मात्र नभई कार्यसमितिले नै गरेको प्रतिक्रिया दिएको श्रेष्ठले बताए । क्याम्पसको अवस्था जिर्ण हुंदै गएको, विद्यार्थी भन्दा प्राध्यापक धेरै हुन थालेको, नयाँ भवनको ५ करोडको टेण्डर गर्दा समेत क्याम्पस प्रमुखले जथाभावि गरेको श्रेष्ठले आरोप लगाए ।

के भन्छ त्रिभुवन विश्वविद्यालय ?
सानोठिमी क्याम्पसमा भएको अनियमितताका विषयमा केन्द्रिय निकाय त्रिभुवन विश्वविद्यालयले समेत चासो व्यक्त गरेको छ । विश्वविद्यालयकी रेक्टर सुधा त्रिपाठीले केन्द्रिय निकायसँग छलफल नै नगरी शैक्षिक गतिविधि गर्नुपर्ने स्थानमा होटल संचालन गर्न दिने निर्णय सरासर गलत भएको बताईन । 

समाचार दैनिक डटकमसँग कुरा गर्दै त्रिपाठीले भनिन्, ‘हामीसँग मौखिक रिपोर्ट आएको छ, लिखित रुपमा आएको छैन, यदी त्यो विषय हो भने क्याम्पस चिफले त्यो गर्न पाउंदैनन्, जथाभावि रुपमा गरिएका यस्ता सम्झौता खारेज हुनु पर्दछ । दोषीले सजायँ भोग्नु पर्दछ ।’

क्याम्पस प्रमुखले किन यस्तो निर्णय गरे ?
क्याम्पस प्रमुख घिमिरेले राजनीतिक सम्बन्ध र आर्थिक प्रलोभनमा परेर सरकारी जग्गालाई कौडीको भाउमा निजी होटल सँचालन गर्न दिएको श्रोतको दावी छ । सो जग्गामा प्राध्यापकहरुका लागि आवास बनाउने भन्दै यस अघिनै एउटा घर समेत बनाईएको छ । 

प्राध्यापक घिमिरेले क्वाटरमा कोहीपनि बस्न चाहेन भन्ने हल्ला गर्दै होटल सँचालन गर्न जग्गा कौडिको भाउमा दिएको श्रोतले बतायो ।

प्राध्यापक घिमिरेले यस्तो निर्णय गर्नमा राजनीतिक मिलिभगत समेत रहेको श्रोतले बतायो । पूर्व एमाले र पूर्व माओवादी केन्द्र निकटका केही व्यक्तीहरुले प्राध्यापकसँग मिलेर क्याम्पसको जग्गा लिजमा दिने निर्णय गरेको कांग्रेस निकट श्रोतले बतायो । 

क्याम्पसको जग्गा लिजमा दिलाउने काममा क्याम्पस प्रमुखसहित लक्ष्मण लम्साल, सन्तोष खड्का लगायतका राजनीतिक व्यक्ती समेत अनैपचारिक रुपमा संलग्न रहेको श्रोतले बतायो ।

क्याम्पस प्रमुखले बोल्न चाहेनन् 
यस विषयमा समाचार दैनिक डटकमले क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको समेत प्रतिक्रिया लिन चाहेको थियो । उनको मोबाईलमा  पटक–पटक फोन गर्दा उनले फोन उठाएनन् ।

याे पनि पढाैं...

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर