• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

भ्रम र यथार्थ 

एउटा गिदी
फोहोरी आहालमा नुहाउँछ अनि
स्निग्धताको लामो लेक्चर छाँट्छ ।
मैले त सोचेको थिएँ 
युवा मुटु, कलेजो मात्र स्वार्थको बजारमा बिक्छ
यहाँ त गिदी पनि मासुको भाउमा बिक्दोरहेछ
अवसरको लागि, आम्दानीको लागि, आरामदायी जीवनको लागि।

आमा बलात्कृत हुँदा
निसाफ खोज्न मुखिया बा कहाँ हिँडेको छोरा 
सबै बिर्सेर मुखिया बा कहाँ पाखुरे बसेपछि
अचेल बलात्कृत आमा काँचो मासुको ब्यपारमा लागेका छन्
मालिक रिझाउन हो कि सास अडाउन !

आमा यता दिनहुँ लुटिन्छन् पहिचानको लागि
उता छोरा पहिचान बेच्छन् ऐश आरामको लागि
कागले वर्तमानको कान टिपेर लगेदेखि
विश्व महाबजारीय कागको पछि पछि दगुरिरहेछ मेरो वर्तमान 
अपाहिज चेतनाको खुट्टाले लर्याङ लर्याङ ।

यस रैती चेतनाको कुष्ठरोगले ग्रसित मेरो राष्ट्र 
उपचारको अभावमा विश्व सामु लुला लङ्गडा हुनेभयो
एक समय विश्व थर्काउनेका नामले परिचित हाम्रो इतिहास 
एक चम्चा पानीमा डुबेर मर्ने भयो 
यद्यपि मलाई पर्वाह छैन मेरो हारको
तर एउटा नमेटिनु पर्ने ज्युँदो इतिहास मेटिएर जाने भयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर