• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

खाए मकै नखाए भोकै, कुमाल बस्तीको दुःख बगाएन कालीगण्डकीले 

पोखरा । मुलुकमा ठुल्ठूला परिवर्तन आए । कालीगण्डकी नदीमा कति पानी बगे बगे । तर नदी  किनारस्थित कुमाल बस्तीको दुःख न मुलुकमा भएका ठूलठूला परिवर्तनसँग परिवर्तन भए न कालीगण्डकीमा बगेका पानीले बगाए । यहाँको बस्तीमा अहिले पनि ‘खाए मकै, नखाए भोकै’ भन्ने उखान चरितार्थ हुँदै आएको छ । 

तनहुँ जिल्लाको दक्षिणी भेग घिरिङ गाउँपालिका–४ को उर्वरभूमि गड्यौलीटारमा सिँचाइ अभावका कारण स्थानीय बासिन्दा अहिले पनि मुख्य खाद्यान्न बाली मकैमा निर्भर रहँदै आएका छन् । 

बिहान उठेदेखि साँझ सुत्ने बेलासम्म विशेषगरी मकैकै भात, ढिँडो, आँटो, रोटी, भुटुवा र जाँडसमेत बनाउनाका साथैं वृद्ध र बालबालिकाका लागि सातुजस्ता परिकार बनाएर खानु–खुवाउनु पुस्ताँैदेखिको दैनिकी अहिले पनि कायमै छ । “बारीमा धान फल्दैन, विदेशबाट आएको र मजदुरी गरेर कमाएको पैसाले चामल किन्न सके मात्र भात खाने हो नत्र यही उब्जने मास, भटमास, बोडीको दाल र मकैको ढिँडो खाने गरेका छौँ”, गड्यौलीटारकी ४८ वर्षीया चन्द्रकुमारी कुमाल बताउँछिन् ।  

गाउँमा विद्युत् छैन, डिजेलबाट चल्ने कलमा कुट्दा महङ्गो पर्ने भएकाले परम्परागत कुटानी पिसानी गर्ने जाँतो र ढिकी प्रयोग गर्दै आएको र सिँचाइ अभावमा आकाशे वर्षाको भरमा खेती गर्दै आएका छौँ भन्दै उनी दिन्छिन्, “बालबालिका, युवा तथा वृद्ध जुनसुकै उमेरका हुन् यहाँका सबैको मुख्य आहारा भनेकै मकै नै हो, के गर्ने विकल्प छैन, ‘खाए मकै, नखाए भोकै’ । यहाँका मानिसलाई मात्र नभई गाईवस्तुलाई समेत मकैकै कँुडो पकाएर दिने गरिन्छ ।” 

वैशाख महीनाको पहिलो हप्ता बारीमा लगाएको मकै साउनमा पाक्ने नयाँटारका भीमबहादुर कुमाल बताउँछन् । मकै पाकेर भाँचेपछि भदौको पहिलो हप्तामा मास, बोडीको बीउ, भटमास र फेरी मकै बारीभित्रै छर्ने गरिएको उनको भनाइ छ । यहाँका प्रत्येक घरको आँगनमा भण्डारण गरेको मकैको सुली बाह्रै महीना देख्न पाइन्छ । 

भीमबहादुरका अनुसार गाउँपालिका–१ खुङलिङटार, जगौलीटार तथा वडा नं ४ को गड्यौलीटार र नयाँटारमा झण्डै ५५० घर कुमाल परिवारका साथै आसपासका करुवाटार, पिपलटार, रुपटार र पट्टाटारका अधिकांश बासिन्दाको खाद्यान्नको मुख्य आधार पनि मकै नै हो । 
उनका अनुसार गाउँपालिकामा उत्पादनका हिसाबले अन्न भण्डारका रूपमा रहेका अधिकांश फाँटमा सिँचाइको व्यवस्था गर्न सके खाद्यान्न र तरकारीमा जिल्ला आत्मनिर्भर हुने देखिन्छ । 

फाँटमा सिँचाइको व्यवस्था हुने हो भने कृषिबाट स्वरोजगार सिर्जना हुने भएकाले युवाशक्ति विदेशिनु नपर्ने स्थानीयवासीको भनाइ छ । आफूले लगाएको २५ रोपनी जग्गामा मकै राम्रो उत्पादन भएको र सो जग्गामा लगाएको मास बिक्रीबाट मात्र यस वर्ष लगभग रु छ लाख आम्दानी गर्ने लक्ष्य रहेको गड्यौलीटारका कृषक धनबहादुर कुमाल बताउँछन् ।  

“उत्पादित वस्तु बिक्री हुँदैन कि भन्नु पर्दैन, खरीदका लागि व्यापारी गाउँमै आउने गरेका छन्”, उनी भन्छन्, “मास, भटमास र बोडी प्रतिपाथी ५०० का दरले बिक्री हुने गरेको छ ।” 

कालीगण्डकी नदीको पानी लिप्टिङ प्रविधिमार्पmत फाँटमा सिँचाइ गर्न सक्ने हो भने स्थानीय कृषकको आर्थिक उन्नतिका साथै सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान सार्थक हुने उनीहरूको अपेक्षा छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर