पोखरामा बेलुनको व्यवसायिक उडान सुरु

कास्की । पोखरा आउने पर्यटकले थप मनोरञ्जन पाउने भएका छन् । बेलुन नेपाल प्रालिले पोखरामा ‘हट एयर’ बेलुनमा उडेर पोखरा, फेवाताल र हिमालका मनोरम दृश्यको अवलोकन गर्न पाइने भएको छ ।

शनिबारदेखि प्रालिले बेलुनमा उडेर मनोरञ्जन लिन पाउने गरी सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक प्रवीण महर्जनले जनाए । उनले दुईवटा बेलुनबाट सेवा सुरु गर्ने जानकारी दिए । उनले एउटा बेलुनमा आठ जनाले उडान भर्न सक्ने जनाउँदै कास्कीको धम्पुस र पोखरा महानगरपालिका २३ बाम्दीबाट उडान गर्नेे जानकारी दिए । धम्पुसबाट उडेको बेलुन मर्दी खोला किनारमा अवतरण गर्ने छ ।

उडानका लागि प्रालिले स्पेनको अल्ट्राम्याजिक बेलुन कम्पनीसँग बेलुन खरिद गरिसकेको छ । बेलुनका लागि आवश्यक पूर्वाधारको काम भइरहेको छ भने उडान सुरक्षित बनाउन भारतबाट तालिम प्राप्त बेलुन पाइटल आएको उनले बताए । प्रालिले नेपाली पर्यटकलाई प्रतिव्यक्ति ११ हजार तथा विदेशी पर्यटकका लागि प्रतिव्यक्ति १ सय ६० अमेरिकी डलर शुल्क लिने बताए । बेलुनमा चढेर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।

उद्घाटनपछि गुरुङले गण्डकी प्रदेशले २० लाख पर्यटक भित्राउन लक्ष्यका साथ अघि बढेको भन्दै नयाँ नयाँ थपिने क्रियाकलापले पोखराको प्रचार प्रसार गर्न टेवा पुग्ने बताए ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिरणबाट इजाजत लिइ बेलुन उडान सञ्चालन गर्न लागिएको मर्हजनले बताए । उनले निकट भविष्यमा ‘हट एयर’ बेलुनबाटै स्काइडाइभ, बन्जिजम्प र हट एयर बेलुनसँग सम्बन्धित अन्य साहसिक कार्यक्रम गर्दै जाने बताए । १ करोड ५० लाखको लागतमा सुरु भएको बेलुनसँगै २५ जनाले रोजगारी पाएका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर