रुपाताल बाँध निर्माण परियोजना, मुआब्जा लिन स्थानीयको निवदेन

कास्की । मुअब्जा रकममा पुर्नमूल्यांकन नभएपछि रुपाताल बाँध निर्माण क्षेत्रका प्रभावित स्थानीय बासिन्दाले तोके अनुसारकै मुआब्जा लिन लिखित निवदेन दिएका छन् । गत साउनदेखि मुआब्जा वितरण गर्ने रुपताल संरक्षण एकीकृत विकास परियोजनाले योजना बनाए पनि स्थानीयबासीले मुआब्जा रकममा पुर्नमूल्यांकन हुनुपर्ने माग गर्दै लिन अस्वीकार गर्दै आएका थिए । तर, मुआब्जा रकममा सरकारी मूल्यांकनभन्दा नबढ्ने संकेत देखिएपछि स्थानीयले पुरानै रकममा लिन राजी हुदैं फारम भरेको परियोजनाका इन्जिनियर कृष्ण बिकले जानकारी दिए ।

‘पहिलो चरणमा २ सय ५० रोपनीको मुआब्जा दिने छौं,’ उनले भने, ‘आठ दशजनाले लिइ सक्नुभएको छ । २५ जना जतिको फारमलाई मालपोत कार्यालय कास्कीमा पठाइसकिएको छ ।’ मुआब्जा वितरण समितिले पानीले डुबान गर्ने क्षेत्र जहाँ पैदलमार्ग बनाइने ठाँउको लागि र बाँध बाँध्ने स्थलमा छुट्टाछट्टै मुआब्जा निर्धारण गरेको थियो । पैदलमार्गको लागि प्रतिरोपनी ८ लाख ६२ हजार निर्धारण गरिएको छ । बाँध बाँधिने क्षेत्रमा भने समितिले प्रतिरोपनी १२ लाख ९२ हजारसम्मको मूल्य तोकिएको छ । त्यति मुआब्जा रकम अपुग भएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेपछि मुआब्जा लिन स्वीकार गर्दा झण्डै दुई महिना लम्बिएको थियो ।

स्थानीय बासिन्दाले प्रतिरोपनी ५० लाख रुपैयाँभन्दा बढी मुआब्जा दिनुपर्ने माग गर्दै आएका थिए । मुआब्जा समितिले निर्धारण गरेको रकम तीन वर्षअघि बेचबिखन हुँदाको भन्दा पनि कम तोकिएको जनाउँदै विरोध गरेपछि वितरण गर्ने काम रोकिएको थियो । मुआब्जा वितरणको काम रोकिदा बाँध निर्माणको कामसमेत ठप्प भएको थियो । वितरण गरिने मुआब्जा खोलोका किनार, बाँध बाध्नेस्थल र फुट ट्रयाक निर्माण गरिने क्षेत्रको हो । ‘मुआब्जा  बढेर आउने आशामा लिएका थिएनौं तर बढेर आएन । अब यही पनि नलिँदा समस्या हुँदा लिन करै लाग्यो ।’ स्थानीय एक पीडितले भने, ‘तर, ताल संरक्षण गर्न जग्गाको मुआब्जा लिए पनि दान गरेजस्तै भएको छ ।’ रुपातालमा बाँध बाँध्ने परियोजना सफल हुनुपर्छ भन्ने मानसिकता स्थानीय बासिन्दाको रहेकाले पनि पुरानै मूल्यांकन अनुसार मुआब्जा लिन तयार भएको प्रभावितहरु बताउँछन् ।

बाँध बाँध्न पहिलो वर्ष १२ करोड निकासा भएको थियो । मुआब्जा वितरणको लागि पहिलो चरणको लागि २५ करोड रुपैयाँ परियोजनाले माग गरेको थियो । परियोजनाले आवश्यकता अनुसार जग्गा अधिग्रहण गर्दै मुआब्जा वितरण गर्दै जाने उल्लेख छ । स्थानीयलाई मुआब्जा वितरण नहुदाँसम्म बाँधको मुख्य काम नै रोकिएको थियो । ‘अब मुआब्जा वितरणको काम टुग्याई बाँध बनाउने टेण्डरको बन्दोबस्ती गर्ने हो ।’ इन्जियिनर विकले भने, ‘मुख्य काम ठेक्का हुनुपर्छ । त्यसको लागि मुआब्जा वितरणको काम टुग्याउदैं छौं ।’ डुबान क्षेत्र अन्तर्गत पर्ने १४७२ रोपनी क्षेत्रफलको मुआब्जा दिनुपर्ने प्रारम्भिक अध्ययनले देखाएको छ । परियोजनाले तालको उत्तर तर्फ सिल्टेसन ट्यांक निर्माण समेत गरेको छ । तीन वटामध्ये एक ट्यांक निर्माण कार्य पूरा गरिसकिएको अवस्था छ ।

तालको दक्षिणतर्फ ५७५ मिटर लम्बाईको बाँध निर्माण गरिने छ । ५० मिटर चौडाइयुक्त बेस रहने छ । १० मिटर उचाई र १० मिटर चौडाईको बनाइने छ । पञ्च वर्षीय योजना अन्तर्गत सरकारले बाँध निर्माणको लागि ४ अर्ब ५१ करोडको लागत अनुमान गरिएको परियोजना प्रमुख अर्यालले बताए । बाँध हालेपछि रुपातालको सतह १७४ हेक्टर पुग्ने अनुमान छ । अहिले पानीको सतह भने १०४ हेक्टर मात्रै छ । उत्तरतर्फको दोभान, जिमिरे, चिसाखोला लगायतका खोलाले वर्षेनी बगाउने माटोले तालको सतह घट्दै गएको छ । नापी विभागको २०३२ सालको तथ्यांक अनुसार रुपातालको क्षेत्रफल १३५ हेक्टर थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर