• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

पञ्चेबाजा संरक्षणमा लागे हुँगीका एकै परिवार

कमल अधिकारी/पाल्पा । नेपालको लोक संस्कृति तथा बाजा भन्नासाथ पञ्चेबाजाको नाम अगाडि आउने गर्दछ । पञ्चेबाजाको तालले मानिसलाई निकै लठ्ठ पार्ने काम गर्छ । तर, पछिल्लो समयमा पश्चिमेली सभ्यता र संस्कृतिको प्रभाव बढेसँगै पञ्चेबाजा बजाउन जान्ने व्यक्ति नै पाउन कठिन भएको छ । एकातर्फ बाजा नै लोप हुने अवस्थामा रहेको छ भने अर्कोतर्फ सीपको पुस्तास्तान्तरण हुन सकेको छैन । 

यसैबीच पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीमा भने एकै परिवारले धानेको पञ्चेबाजा संरक्षणका लागि पुस्तास्तान्तरण भइरहेको छ । हुँगीका पदमबहादुर परियारको परिवारबाट सुरु भएको पञ्चेबाजा संरक्षणमा उनका छोरा हुँदै नातिसम्म आइपुगेको छ । विशेषगरी विवाह तथा शुभकार्यमा बजाइने पञ्चेबाजाको संरक्षणका लागि विद्यालय जाने उमेर समूहका बालकले बाजा बजाउने गरेका छन् ।

उनीहरु विद्यालय पनि जान्छन् । तर, बिदाको दिन र नजिककै बाजा बजाउन हिड्नुपरेमा स्कुल जान छाडेरसमेत उनीहरु बाजा बजाउन हिड्ने गरेका छन् । सानादेखि ठूलासम्म सबैले बाजा बजाउन सिक्नुपर्ने हुँदा उनीहरुलाई नजिकको दुरीमा बाजा बजाउनसँगै हिडाल्ने गरेको प्रशिक्षक तथा स्थानीय बासिन्दा धनबहादुर परियारले बताए । पछिल्लो समय बाजा बजाउने मानिसको कमी भए पनि धेरैजसो शुभकार्यमा बाजा बजाउने चलन रहेको हुँदा आफूहरुलाई पोखरा, काठमाडौं, बुटवल, नारायणघाटदेखि समेत बाजा बजाउन बोलाउने गरेको परियारले बताए ।

परियारले आफूहरुले नजिकको दुरीमा १७ देखि २५ हजार र टाढाको दुरीमा ५० देखि ७० हजारसम्ममा पारिश्रमिक लिने गरेको जानकारी दिए । देशमा बेरोजगारी बढिरहेको बेला पञ्चेबाजा बजाएर राम्रै आम्दानी हुने गरेको उनको भनाइ छ । उनले बाजा संरक्षण सँगसँगै आफ्नो परम्परा र संस्कृतिको समेत जगेर्ना हुने भएकाले स–साना बालबालिकालाई समेत बाजा सिकाएको बताए ।

सानै उमेरमा बाजा बजाउन जान्ने भएका रम्भा–१ हुँगीका रमेश दर्नालले स्कुल बिदा भएको दिन बाजा बजाउन सिकेको र पछि जान्ने भएको सुनाए । उनले अहिले दमाहा, ढोलकी, ट्याङ्कु राम्रोसँग बजाउन जान्ने भएको सुनाउँदै भने, ‘पुर्खाले गरिआएको पेसालाई अँगालेर सीपको विकासमा लाग्दा खुसी लाग्दोरहेछ ।’

पछिल्ला वर्षमा मनोरञ्जनका साधनको विकासका कारण पनि नेपालीको मौलिक पहिचान र संस्कृितको पहिचान बोकेका पञ्चेबाजा लोप हुने अवस्थामा पुगेको छ । जसको संरक्षणका लागि सम्बन्धित निकायको ध्यान पुग्न जरुरी देखिन्छ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर