• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

रकम फिर्ता गर्न नक्कली भूकम्पपीडितलाई निर्देशन

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झूटो विवरण बुझाएर भूकम्पपीडित अनुदान लिनेलाई आगामी पुस १५ गतेभित्र सम्बधित कार्यालयमा रकम फिर्ता गर्न निर्देशन दिएको छ । 

झुटो विवरण पेश गरेर भूकम्पपीडित अनुदान लिएको भनी उजुरी परेपछि त्यस्ता व्यक्तिबाट रकम असुलउपर गर्ने प्रक्रिया अघि बढाइएको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारीे दिए । प्रधानमन्त्री अध्यक्ष रहने प्राधिकरण निर्देशक समितिको गत भदौ २१ गते बसेकोे बैठकले झूटो विवरण पेश गरेर अनुदान लिएकाबाट रकम फिर्ता गराउने निर्णय गरेको थियो । 

प्राधिकरणका अनुसार भूकम्पले क्षतिग्रस्त घरबाहेक सोही स्थान वा नेपालभर अन्य कुनै स्थानमा बस्नयोग्य घर भएका र एकभन्दा बढी स्थानबाट अनुदान रकम लिएकाहरुले रकम फिर्ता गर्नुपर्नेछ । अन्यथा अनुदान लिएको रकम सरकारी बाँकीसरह असुलउपर गर्ने चेतावनी प्राधिकरणले दिएको छ । 

झूटो विवरण पेश गरेर लिइएका अनुदान जिल्लास्थित आयोजना कार्यान्वयन एकाइमा बुझाउन सकिने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर