• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

सोमबारदेखि पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनशिप 

पोखरा । सोमबारदेखि पोखरामा ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट १ र २ शुरु हुने भएको छ । प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको आयोजक कास्की जिल्ला टेनिस संघले आइतबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । 

एशियन टेनिस महासंघको कार्यक्रम अनुसार हुन लागेको प्रतियोगितामा हङकङ, पाकिस्तान, भारत र नेपालका गरि सय बढि खेलाडीहरुले सहभागिता जनाउने आयोजक संघ कास्कीका अध्यक्ष दोर्जे लामाले जानकारी दिए । प्रतियोगिताले पोखरामा टेनिस विकासका लागि थप सम्भावना खुल्ने भएकाले पनि यसलाई अवसरका रुपमा लिएको उनले बताए । 

प्रतियोगितामा सहभागि खेलाडीले नगद पुरस्कारका लागि नभई अंकका लागि प्रतिस्पर्धा गर्ने टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले बताए । सर्किट १ सकिए लगत्तै सर्किट २ का खेलहरु शुरु हुने छ । दुवै सर्किटका खेलहरु १० दिनसम्म चल्नेछन् । 

होटल टे«कर्स इनले मुख्य प्रायोजन गरेको प्रतियोगिताको पहिलो सर्किटमा पुरुष ३२ र महिला २५ र दोश्रो सर्किटमा पुरुष ३० र महिला २२ जना खेलाडीको सहभागिता जनाउने संघ कास्कीका महासचिव नविन चालिसेले जानकारी गराए । उनले खेलाडीहरुलाई रातको समयमा पनि अभ्यास गर्न मिल्ने गरि फ्लोड लाइट जडान गर्न लागिएको बताए । 

प्रतियोगितामा १४ वर्ष मुनि नेपालका शिर्ष वरियताका खेलाडीहरु आरभ हाडा, अकी राउन, प्रणव मानन्धर लगायतको सहभागिता रहने छ भने महिलातर्फ पनि नेपालकै शिर्ष वरियताका खेलाडीहरु सलोनी तामाङ्ग, सर्भानी श्रेष्ठ र इशा श्री शाहको पनि सहभागिता रहनेछ । पोखराका पाँच पुरुष र तीन महिला खेलाडीले सहभागिता जनाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न झण्डै ६ लाख खर्च लाग्ने संघका कोषाध्यक्ष राजु गुरुङ्गले जानकारी दिए ।  

पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले पोखरामा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुले यहाँ खेल पर्यटनको विकास हुने अपेक्षा प्रकट गरे । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर