• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

ओल्ट्याङ खोलाको कथा र ओलीको गिनिज वुक अफ वर्ल्ड रेकर्ड

तनहुँ जिल्लाको भीमाद नजिकै एउटा खोला पर्छ । जस्को नाम हो, ओल्ट्याङ खोला । भीमादमा मोटर बाटो नपुग्दासम्म वरपरका गाउँहरु र नजिकै जिल्लाका बुढापाकाले भीमादमा उल्टो दिशामा खोला बग्छ भनेर खुब गफ पिट्थे । अर्थात, दक्षिणबाट उत्तर तर्फ । झट्ट सुन्दा ओरालोबाट उकालो तर्फ । जस्ले यो खोला देखेका हुँदैनथे, उनिहरुलाई अलिअलि पत्यार पनि लागी हाल्थ्यो । कास्की, लमजुङ लगायतका जिल्लाका बासिन्दाले हो के रे भीमादमा उल्टो खोला बग्छ भनेर पत्याइ पनि हाल्थे । जब, मोटर बाटो खुल्यो, सबैको सोझो आउजाउ चल्यो, ओल्ट्याङ खोला कसरी बगिररहेको रहेछ, सबैलाई छर्लंग भयो । हाम्रा अधिकांश नदी, खोलाहरु उत्तर भएर दक्षिण तर्फको दिशामा बगिरहेका छन् । उत्तर उकालो भाग, दक्षिण ओरालो । तर, कतिपय भु–सतह दक्षिण तर्फ पनि उकालो पर्छ । ओल्ट्याङ खोलाको बास्तविकता पनि यहि हो । यो खोलाको केहि लम्बाई ओरालो सतहका कारण दक्षिणबाट उत्तर दिशामा बगेको छ । खोला उल्टो दिशामा बगेको आधारमा परापुर्वकालदेखि नै यो खोलाको नाम ओल्ट्याङ खोला नाम राखिदिए । तर, पानी त ओरालो तर्फ नै बगेको हो । एमालेका अध्यक्ष केपी ओली फरर कुरा गर्न माहिर छन् । बुधवार पनि उनले धेरै मध्ये एक आश्चार्यजनक कुरा ओकले । उनले भनेका थिए,‘एमालेसंग गिनिज वुकमा नाम लेखाउन धेरै बिषय छन् । गिनिज वुक अफ वर्ल्र्ड रेकर्डका आधा भाग त मेरा र एमालेका बिषयले नै भरिन्छ ।’ उनको यस्तो भाषणमा उनका कार्यकर्ताले परर ताली बजाए । फेरि उत्साहित हुँदै ओलीले भने,‘हामीले दावी गर्ने हो भने गिनिज वुकमा नाम लेखाउने एमालेका धेरै कामहरु छन् । दुई/दुई पटक किड्नी फेरेको प्रधानमन्त्री को होला बिश्वमा ? दुई पटक किड्नी फेरेर पनि त्यो पनि स्वस्थ व्यक्ति । सडकदेखि अस्पतालसम्मका एमालेका कामहरुले गिनिज वुकका आधा भागहरु भरिनेछन् ।’ झट्ट सुन्दा ओलीका कुराहरु, उहि ओल्ट्याङ खोला ओरालोबाट उकालो तर्फ बग्छ भने जस्तै हो । उनका अनुयायीहरुले तुरुन्त पत्याइदिन्छन् । जो, सत्य कुरामा बिश्वास गर्छन्, उनिहरु ओलीका कुराहरुलाई भर गर्ने आधार भेट्याउँदैनन् । ओलीको व्यक्तिगत जीवनमा उनले स्वास्थ्य प्रतिकुलताको ठुलो सामना गर्नुपर्यो । स्वास्थ्य प्रतिकुलताका बावजुद पनि उनि तीन पटक प्रधानमन्त्री भए । यो उनी भित्रको आत्मबिश्वासको परिणाम थियो । उनिसंग जति आत्मबिश्वास छ, त्यति उनिमा अभिमानको पारो पनि चढ्दो छ । गिनिज वुकमा नाम लेखाउन बिश्वका मानिसहरु आर्कषित हुन्छन् । फरक र अनौठा गतिबिधी गर्नेहरु यस्ता रेकर्ड राख्न सफल भएका उदाहरणहरु छन् । ओलीका जीवनमा पनि उनले उल्टो रेकर्ड राखे कि सूल्टो रेकर्ड राखे एक पटक पुनरावलोकन गर्न सकिन्छ ।
ओलीका हुँकारयुक्त अभिव्यक्तिहरु तनहुँको ‘ओल्ट्याङ खोला’ उल्टो बग्छ भनेर झुक्याए जस्तै हो । न ओल्ट्याङ खोला उकालो तर्फ बगेको हो, न ओलीका विगतका कदमहरुले उकालो चढेका छन् । यी दुवै प्रवृतिहरु ओरालो तर्फ नै बगेका हुन् । दिशा जुनसुकै होस, ओलीका विगतका कामहरु देश र जनताका लागि ओरालो परिणामका द्योतक नै हुन् । गिनिज वुक अफ वर्ल्ड रेकर्डका लागि ओलीका विगतका कामहरु तनहुँको ओल्ट्याङ खोला (उकालो) उल्टो दिशा तर्फ बग्छ भने जस्तै हो ।
जब उनले बहुमतको सरकार हुँदा हुँदै पहिलो पटक गत माघमा संसद विघटन गर्न राष्ट्रपति कहाँ सिफारिस गरे, तब उनले नयाँ रेकर्डको शुरुवात गरे । त्यसपछि, उनले ४ महिनापछि जेठमा दोस्रो पटक संसद विघटनको प्रयास गरे, ओलीका थप रेकर्डहरु थपिंदै गए । किनकी, ससारमा बहुमत सरकारको प्रमुखले आफ्नै सरकार ढलाएको उदाहरण कहिं छैन । यी दुवै विघटनका कामहरु ओलीका सबैभन्दा अनौठा र फरक प्रकृतिका कामहरु हुन् । यी रेकर्डहरुको परिणामबाट देशले बर्बादी भोगेपनि ओलीको जीवनमा भने रेकर्ड नै कायम गरेको छ । यस्ता जनता र देशलाई उल्टो परिणाम दिलाउने प्रकृतिका रेकर्डका कामहरु ओलीको दुबै प्रधानमन्त्रीत्वकालमा खुबै भए । तिनका फेहरिस्त आजको सुचनाको दुनियाँमा सारा नेपाली जनतालाई थाहा नै छ । त्यति मात्र ओलीले रेकर्ड राखेका छैनन्, सांसद नभएका युवराज खतिवडालाई मन्त्री बनाएर उनले अर्को रेकर्डको शुरुवात गरिदिए । नेपाल राष्ट्र बैंक र महालेखा परिक्षकले एउटा प्रतिवेदन तयार पारथ्र्यो त्यो बेला, तर ओली सरकारले अर्को रेकर्ड तयार गर्थ्र्यो । आर्थिक बृद्धिदरका प्रतिवेदनहरु ओली प्रधानमन्त्रीकालमा उल्टापुल्टा तयार गरिन्थे । बिश्वका मानवअधिकार संस्थाहरुको रेकर्डलाई उनले चुनौती दिन्थे । यस्ता अनेक हर्कतले ओलीले नयाँ नयाँ रेकर्ड राखेकै हुन् । एक साथ यति अस्पताल शिल्यान्यास,यति सडक निर्माण आदि जस्ता बिषय ओलीले जहिल्यै भाषणमा दोहोर्याउँछन् । उनले शिल्यान्यास गरेका यस्ता संरचना निर्माणको शुरुवात त के प्रारम्भिक प्रतिवेदन पनि तयार छैनन् । देशभरका सरकारी अस्पतालको हालत झन खराबकै अबस्थामा छन् । नयाँ स्वास्थ्य संरचना निर्माणको कुरा त धेरै परको कुरा । तथ्यहरुले पुष्टि गरेका बिषयलाई ओलीले उल्टोबाट ब्याख्या गरिदिन्छन् । उनका यस्ता फोहोरा जस्ता बाणीहरुलाई समर्थकले सजिलै फैलाइदिन्छन् । ओली सरकारले संबिधानकै खिलापमा काम गरेको सारा नेपालले बोल्दा पनि ओली टसकोमस भएनन् । उनि उल्टो दिशामै अडिग रहे । पार्टी भित्रको एउटा समर्थकको भीडका कारण ओली झन उत्साहित हुन्थे । आफ्नै कारणले प्रधानमन्त्री पदबाट हटाईंदा पनि उनि बिजयी जुलुशहरु निकालेर घरसम्म पुग्थे । पुरा अबधी नपुग्दै प्रधानमन्त्री पदबाट बाहिरिनु परेको आत्मग्लानी ओलीमा देखिएन । उनको यो आश्चार्य लाग्दो भाव पनि रेकर्डको अर्को बिषय हो । यस्ता, अनौठा प्रकृतिका वर्ल्ड रेकर्डले गिनिज वुकमा उनले नाम लेखाउन भने पक्कै सक्लान् । यहाँ देउवा सरकार उत्कृष्ट ओलीकाल निकृष्ट चित्रण गरिएको होइन । यस्ता केहि नकारात्मक तथ्यहरु छन्, जुन ओलीले नयाँ रेकर्ड कायम गर्न सफल भएका छन् भन्ने इंगित गरिएको हो । यो उनकै बोलीबाट निस्किएको वर्ल्र्ड रेकर्डका प्रसंगहरु पनि हुन् । केपी ओली भित्र जति आत्मबिश्वासको शक्ति छ, उति उनि भित्र अहंमताको शक्ति बलवान छ । यो अहंमताको शक्तिले पार्टी फुट्दा पनि उनि किञ्चित पश्चातापबोध गर्देनन् । बरु, अझ शक्तिशाली भएको भ्रम पैदा गरिदिन्छन् । यो भ्रम पनि उनको जीवनमा अर्को रेकर्ड नै हो । ओलीले सृजना गरेका र उनको पार्टीले तयार गरेका यस्ता अनौठा हर्कतको लामो लिष्ट नै तयार गर्न विगतलाई सरसरर्ती सम्झिए पुग्छ । यी त्यस्ता, रेकर्ड हुन्, जस्को कुनै सकारात्मक अर्थ छैन । नजिकबाट नियाल्न नसक्ने र नखोज्नेका लागि यस्ता रेकर्डहरु सुल्टा लाग्छन् । जब नजिकबाट सत्यमा टेकेर कसैले नियाल्न पुग्छ, ओलीका अहिलेसम्मका सबै कामहरु उल्टा देखिन्छन् । भ्रमले बिनास तर्फ डोर्याउँछ भने झैं, ओलीका यी भ्रमपुर्ण कुतर्कहरुले भविस्यमा एमालेलाई कति चकनाचुर पार्न सक्छ, अनेक कोणबाट व्याख्या गर्न सकिन्छ । ओलीका हुँकारयुक्त अभिव्यक्तिहरु तनहुँको ‘ओल्ट्याङ खोला’ उल्टो बग्छ भनेर झुक्याए जस्तै हो । न ओल्ट्याङ खोला उकालो तर्फ बगेको हो, न ओलीका विगतका कदमहरुले उकालो चढेका छन् । यी दुवै प्रवृतिहरु ओरालो तर्फ नै बगेका हुन् । दिशा जुनसुकै होस, ओलीका विगतका कामहरु देश र जनताका लागि ओरालो परिणामका द्योतक नै हुन् । गिनिज वुक अफ वर्ल्ड रेकर्डका लागि ओलीका विगतका कामहरु तनहुँको ओल्ट्याङ खोला (उकालो) उल्टो दिशा तर्फ बग्छ भने जस्तै हो । किनकी भ्रमका खेती गरेर बाली (फसल) घर भित्र्याउन सफल भएको उदाहरण बिश्वमा कहिं छैन ।
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर