दसैँ तिहारमा पर्यटकको चहलपहल बढेपछी व्यवसायी उत्साहित

गण्डकी । कोरोना महामारीका कारण दुई वर्षयता थलिएको घरबास (होमस्टे) पर्यटनमा दसैं तिहारको समयमा आन्तरिक पर्यटकको चहलपहल बढेसँगै केही राहत मिलेको छ ।

दसैं तिहारका बीचमा गण्डकी प्रदेशभित्रका चर्चित होमस्टेहरूमा पर्यटकको चहलपहल बढेसँगै व्यवसायीलाई पनि उत्साहित बनाएको छ । यस अवधिमा कास्कीको सिक्लेस, स्याङ्जाको सिरुबारी, पर्वतको भुकदेउराली, मुस्ताङको ठिनी, नवलपुरको अमलटारी लगायतका होमस्टेमा पर्यटकको उपस्थिति उत्साहजनक रहेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले बताए।

“कोरोनाका कारण सुनसान जस्तै बनेका प्रदेशभित्रका अधिकांश घरबास (होमस्टे)मा दसैँतिहारको अवधिमा आन्तरिक पर्यटकको राम्रै उपस्थिति देखियो,” उनले भने, “समग्रतामा क्षमताको ४० प्रतिशत पर्यटक होमस्टेमा पुगे पनि यसले आगामी दिनका लागि राम्रो सन्देश दिएको छ ।”

गण्डकी प्रदेशका हिमालपारिको मनाङ, मुस्ताङ हुँदै पहाडी जिल्ला कास्की, तनहुँ, लम्जुङ, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा, गोरखा र तराईको नवलपुर सबैका होमस्टे सञ्चालनमा आएका छन् । नेपालमा नै पहिलोपटक स्याङ्जाको सिरुबारीमा होमस्टेको सुरुवात भएका कारण यस प्रदेश होमस्टेको जननी पनि हो । हिमालदेखि पहाड हुँदै तराईसम्म समेटिएको गण्डकीमा हिमालपारिको जिल्ला मुस्ताङको ठिनी सामुदायिक घरबाससहित यहाँ छवटा सामुदायिक घरबास सञ्चालनमा छन् । 

त्यस्तै हिमालपारिको अर्को जिल्ला मनाङमा पनि ओढार सामुदायिक घरबास सञ्चालनमा आएको छ । पहाडी जिल्लातर्फ नेपालमा नै पहिलोपटक सुरु भएको सिरुबारी घरबासदेखि लम्जुङको घलेगाउँ सामुदायिक घरबास जस्ता घरबासले पर्यटकलाई स्वागत गर्दै आएका छन् । प्रदेशको तराईस्थित नवलपुरको अमलटारी सामुदायिक होमस्टेलगायत  थारू एवम् मगर आदि जातजातिले सञ्चालन गर्दै आएका १० वटा घरबास सञ्चालनमा छन् । पछिल्ला दिनमा प्रदेशमा घरबास थपिने क्रम पनि उत्तिकै बढेको र हालसम्म ३०० भन्दा बढी घरबास सञ्चालनमा रहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

कोरोना कहर साम्य भइनसकेका कारण घरबास सञ्चालकले स्वास्थ्य मापदण्ड पालनालाई पनि जोड दिँदै आएको सञ्चालकहरू बताउँछन् । कोरोना कहरबीचमा होमस्टे सञ्चालकहरूले समयको सदुपयोग गर्दै पूर्वाधारलाई व्यवस्थित बनाउने काम गरेको मिलेनियम भैँसेगौडा सामुदायिक होमस्टे, स्याङ्जाका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिए । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोड्ने सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पर्ने मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेमा दसैंतिहारको समयमा समूहसमूहमा पर्यटकहरू आएको उनले जानकारी दिए । उनका अनुसार सहस्राब्दी पदमार्ग क्षेत्रमा हाल १३ वटा घरबास सञ्चालनमा आइसकेका छन् ।

गण्डकी प्रदेशमा कोरोनाका कारण सुस्ताएको पर्यटन दसैँतिहारको समयमा केही मात्रामा भए पनि चलायमान भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले जानकारी दिए । पर्यटनलाई चलायमान बनाउन आगामी दिनमा प्रवद्र्धनका कार्यक्रमलाई अघि बढाइने उनले बताए । कोरोनाका कारण रोजगारीसमेत प्रभावित भएका पर्यटन क्षेत्रमा क्रियाशील मजदुरलाई केही न केही राहत पुगोस् भन्ने् उद्देश्यका साथ युएनडिपीसँगको सहकार्यमा बोर्डले बिग्रेभत्केका पदमार्गको मर्मत तथा सुधार लगायतका कामलाई पनि अघि बढाएको उनले जानकारी दिए ।

गण्डकी प्रदेशभित्र मर्दी पदमार्ग, घलेखर्क–सिक्लेस पदमार्ग, कास्कीकोट–सराङकोट पदमार्ग, डेभिजफल्स–विश्वशान्ति स्तूप पदमार्ग लगायतका स्थानमा पर्यटन मजदुर परिचालन गर्दै पदमार्गको स्तरोन्नतिसँगै मर्मत एवम् सुधारका काम गरिएको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर