• २०७८ मङ्सिर २० सोमबार
  • Monday, 6 December, 2021

कुखुरापालक कृषकका कष्ट, खर्च बढ्दै आम्दानी घट्दै

राज्यको स्पष्ट नीति नहुँदा समस्या

 

 

झापा । आम्दानीको गतिलो श्रोत बनेको कुखुरा पालन व्यवसायमा समस्याहरु अधिक छन् । प्राय कृषकहरुले आफ्नै बल बुद्धी लगाएर यो व्यवसाय सञ्चालन गरिरहेका छन् । यसबाट मनग्गे आम्दानीपनि लिन उनीहरु सफल भएका छन् । तर प्राय कुखुरा पालकहरुको साझा गुनाशो भनेकोनै ज्ञानको अभाब हो । राज्यले तालिमको व्यवस्था सहज रुपमा उपलब्ध गराईदिए अझ यो व्यवसायले सोचेभन्दा बढि प्रगती गर्न सकिने कुखुरा पालक कृषकहरुको बुझाइ छ ।

थोरै लगानीमा धेरै आम्दानी लिन सकिने व्यवसाय मध्ये कुखुरा पालन व्यवसायपनि एक हो । व्यवस्थित रूपमा पाल्ने हो भने घरमै बसी महिनामा १ देखि डेढ लाख सम्मको आम्दानी गर्न सकिन्छ । पहिले पहिले नेपाली बजारमा चाडपर्वहरुमा मात्रै मासुको खपत बढ्ने देखिन्थियो भने, बढ्दो व्यवसायिक कुखुरापालन संगै हिजोआज दैनिक जीवनमा पनि उत्तिकै बिक्री हुने गरेको छ ।

व्यावसायिक कुखुरापालनबाट बजारमा मासु सस्तो हुँदै जानु र सर्वत्र रुपमा उपलब्ध हुनुले ग्राहकलाई यसले आकर्षित गरेको छ । अझ कृषकहरु पछिल्लो समय लोकल कुखुरा पालन भन्दापनि ब्रोईलर कुखुरा पालनमा आकर्षित हुने गरेको पाईन्छ ।

झापा कमल गाउँपालिकाकी कुखुरा पालक कृषक फुलमाया बुढाथोकीले पहिला लोकल कुखुरा पालेकी थिईन । तर, फाईदा कम भएपछि यस पटक उनले ब्रोईलर कुखुरा पालेकी छन् । लोकलबाट भन्दा ब्रोईलर कुखुराबाट आम्दानी छिटो लिन सकिने भएकाले आफुले ब्रोईलर कुखुरा पालेको उनी सुनाउछिन् ।

हेर्दा खासै ठुलो लगानी नदेखिएपनि भित्री रुपमा हुने दुखका बारेमा सोही ठाउका अर्का कुखुरा पालक कृषक युवराज चापागाई भन्छन्, “मरीमरी दुख गर्यो बजार भाउँ ओरालो लागिदिन्छ बेच्ने बेलैमा । अनि कहाँबाट फाईदा हुनु र ?” बिचौलियाका कारणपनि आफुहरु मर्कामा परेको उनी बताउँछन् । आफुले जतिमा बेच्यो त्यसमा थपेर मासु किन्नुपर्दा उनलाई निराशा सिवाय केहि लाग्दैन । उनलाई यो कुखुरा पालन व्यवसाय नखाउ भने दिनभरीको सिकार, खाउँ भने कान्छा बाउको अनुहार भनेझै भएको छ ।

सोही ठाउँकी सोभा चापागाई मानिसलाई भन्दा बढि स्याहार सुसार गर्नुपर्ने तर बजार भाउ भने खासै नपाउँने अवस्थाले यो व्यवसायबाट हात धुने अवस्थामा आफु आईपुगेको गुनाशो गर्छिन ।

कुनै बेला तीब्र गतिमा कुखुरा पालनका फर्महरु स्थापना हुने गर्छन् भने बन्द पनि हुने गर्दछन् । यसै कारणले गर्दा कुखुरा पालनमा सरकारी नीति एवं देशको आवश्यकता अनुसार पूर्णरुपले अपेक्षाकृत विकास हुन नसकेको बैदेशिक रोजगारीबाट फर्किएर कुखुरा पालन व्यवसायमा लाग्नुभएका ऋद्धी चापागाईको भनाइ छ ।

प्राय कुखुरापालकहरुको साझा गुनाशो भनेकोनै ज्ञानको अभाब रहेको र राज्यले तालिमको व्यवस्था सहज रुपमा उपलब्ध गराईदिए अझ यो व्यवसायले सोचेभन्दा बढि प्रगती गर्न सकिने अर्का कुखुरा पालक कृषक बिरेन्द्र बरालको बुझाइ छ ।

आफुले गरेको व्यवसाय दिनप्रतिदिन घाटा हुँदै जान थालेपछि किसानहरुले कुखुरा पालन व्यवसायलाई अतिरिक्त आयको लागि सहायक पेशाको रुपमा लिएको पाइन्छ । समग्रमा भन्ने हो भने कुखुरा पालन व्यवसाय नाफा मुलक बनाउन कुनै एक पक्षको मात्रले सम्भव नहुने देखिन्छ । यस विषयलाई गहिरिएर अध्ययन विश्लेषण गर्ने हो भने यो व्यवसायलाई कहिले पनि सहायक पेशाको रुपमा गर्न सकिन्न । किनभने यो व्यवसायलाई पूर्णरुपमा सफलतापूर्वक चलाउनका लागि हर समयको रेखदेख अति आवश्यक पर्ने पशु पन्छी चिकित्सक मात्रिका भट्टराई बताउँछन् ।  

 अझ पछिल्लो समय बैदेशीक रोजगारको मोह त्यागेर स्वदेशमै केहि गर्छु भन्नेहरु यो व्यवसायमा आकर्षित भएको पाईन्छ । तर राज्यको प्रष्ट नीति र झोले कृषकले अनुदान पाईरँदा व्यवसायिक रुपमै यो व्यवसायमा लाग्न चाहानेलाई प्रोत्साहन भन्दापनि निरुत्साहन गरेझै लाग्ने गरेको बैदेशिक रोजगारी त्यागेर स्वदेशमै कुखुरा पालन व्यवसायमा भबिष्य खोजिरहेका ऋद्धी चापागाई बताउँछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर