प्रधानन्यायाधीश जबरा हटाउन गठवन्धनले छलफल थालेको प्रचण्डको संकेत

धनगढी । नेपालको न्यायलय इतिहासमा पहिलो पटक यसरी थलिएको छ । झण्डै एक महिना यता न्यायाधीशहरुको बहिस्कार तथा वकिलहरुको आन्दोलन जारी छ । यस्तो अवस्थामा पनि राजनीतिक दल तथा सरकारले न्यायालयको समस्या समाधान गर्न चासो नदिएको आरोप लागिरहेका बेला सत्तारुढ गठवन्धनको महत्वपूर्ण घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जबरा हटाउने विषयमा छलफल हुन थालेको संकेत गरेका छन् । 

बुधबार सुदूरपश्चिम प्रदेशको कैलाली पुगेका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरूको कुराकानीमा अदालतमा देखिएको समस्या राम्रो नभएको भन्दै एक स्तरमाथि बढेर समस्या समाधान गर्न गठबन्धन तयार रहेको बताएका हुन्। उनले न्यायालयको समस्यामा गठबन्धनका पाँच दलहरूको नै गम्भीर ध्यानाकर्षण भएको भन्दै दुई दिनको अवस्था हेरेर समस्या समाधान गर्ने बताए । 

अध्यक्ष प्रचण्डले भने, ‘यो विषय सकेसम्म अदालतले आफैँ सल्ट्याउन सक्दा राम्रो हुन्छ भन्ने कुरासम्म हामीले बोलेका छौँ। आजभोलिको अवस्था हेरेर फेरि गठबन्धनको बैठक बसेर, जरुरी परेमा एक स्टेप अगाडि बढेर समस्या समाधानका लागि के सहयोग गर्न सकिन्छ त्यतातिर सोचाइ बन्छ। मलाई के विश्वास छ भने केही दिनमा यसले एउटा निकास पाउँछ। यसबाट ठूलै समस्या हुन्छ कि भन्ने कतिपयले कल्पना गरेका छन्, त्यस्तो हुन्छ भन्ने गठबन्धनलाई लागेको छैन। यो समाधान हुन्छ र अहिले गठबन्धन जसरी सकारात्मक ढंगले अगाडि बढेको छ त्यो निरन्तर ढंगले जान्छ भन्ने कुरा नै हो।’

अध्यक्ष प्रचण्डले देशमा तत्काल राजनीतिक अस्थिरता नहुने बताउँदै अध्यक्ष दाहालले विकास, शिक्षा, स्वास्थ्य, राजनीतिक नियुक्तिदेखि राजदूत नियुक्ति गर्नेसम्मका निर्णयहरू सुदूरपश्चिमका मुख्यमन्त्री र पार्टी इन्चार्जहरूसँग छलफल गरेर मात्र अघि बढाउने बताए। उनले  सुदूरपश्चिम सरकार नढल्ने बताए। 

उनले संघीय, प्रादेशिक र स्थानीय निर्वाचन एकैपटक गर्दा राष्ट्रको अर्बौं सम्पत्ति बच्ने भएकोले एकैपटक निर्वाचन गराउनेबारेमा छलफल भइरहेको पनि दोहोर्‍याए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर