• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

एमाले महाधिवेशनः प्यानल बनाएर उम्मेदवारी दिए कारबाही

चितवन । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनको संघारमा पुगेको छ ।  सबै तयारी पूरा भएको एमालेले जनाएको छ ।  व्यवस्थापकीय तयारी पुरा भएपनि एमालेले उम्मेदवारको टुंगो भने अझै लगाउन सकेको छैन । सर्वसम्म नाम पनि सार्वजनिक गर्न सकेको छैन । 

यसले पार्टीको नेतृत्वमा आउन चाहेका नेताहरुमा अन्योलता थपिएको छ । आकाँक्षीहरुलाई प्यानल बनाएर उम्मेदवारी दिन प्रतिवन्ध गरिएकाले उम्मेदवारी चयनको प्रकृया कसरी अघि बढ्छ र को को नेता चुनिएर आउनेछन् भन्ने कुराको अन्योल देखिएको छ । 

विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १० औँ महाधिवेशनमा भने रोक लगाएको हो । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताएका छन् ।  

कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाही हुने उनले बताए ।  एमालेले उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता सामग्री वितरण गर्न रोक लगाइएको छ । पर्सि ११ गते उम्मेदवारी दर्ता गर्ने र त्यही दिन उम्मेदवारी फिर्ता लिने कार्यतालिका रहेको सुब्बाले जानकारी दिए । ११ गते बेलुका अन्तिम नामावली प्रकाशन गर्ने र १२ गते मतदान गर्ने कार्यक्रम तय भएको छ ।

कस्तो छ मतदानको व्यवस्था ?
मतदानमा एक सय वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिने छ । ९२ वटा मेसिनहरु चुनावका लागि प्रयोग गरिने र ३ वटा मेसिन नमुना मतदानका लागि कार्यालय अगाडि खुला राखिने छ । ५ वटा मेसिन जगेडामा राखिने र कुनै मेसिनमा गडबडी आएमा प्रयोगमा ल्याइने आयोगले जनाएको छ । 

एक जना प्रतिनिधिलाई मतदान गर्न सरदर आधा घण्टा लाग्ने अनुमान छ । एउटा मेसिनमा झण्डै २२ जनादेखि ३० जनाले मतदान गर्ने छन् । मतदान सकिएको झण्डै दुई घण्टाभित्र नतिजासमेत आउने गरी मतगणनाको व्यवस्था गरिने छ । हरेक मेसिनबाट अलग अलग मतगणना गर्ने भएको हुँदा त्यति समय नलाग्ने आयोगको भनाइ छ । आपसी सञ्जालमा जोडिएको खण्डमा त्यो भन्दा चाँडो नतिजा आउनसक्छ ।  

नेकपा एमालेको विधान अनुसार विभिन्न ५० वटा क्लस्टरमा चुनाव गर्नुपर्ने हुन्छ । १५ जना पदाधिकारीसहित दुई सय २५ जनाको केन्द्रीय कमिटी हुनेछ । केन्द्रीय अनुशासन आयोगमा १५ र केन्द्रीय लेखा आयोगमा १५ गरी ३० जना निर्वाचित हुने छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर