• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

काँग्रेस महामन्त्रीका आठ आकाङ्क्षी  : कुन समूहबाट को-को ? 

कामठाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सन्निकट छ । कांग्रेसले महाधिवेशनमार्फत वडादेखि केन्द्रसम्म नै नयाँ नेतृत्व चयन गर्दैछ ।कांग्रेसको केन्द्रीय तहमा सभापतिपछि प्रभाव राख्ने पद महामन्त्रीमा अहिलेसम्म ८ जनाले उम्मेदवार बन्ने तयारी गरेका छन् ।

कांग्रेस विधानमा २ जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ । सो २ पदका लागि पार्टीभित्रका फरक–फरक गुटबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

महामन्त्री पदमा कांग्रेसको हालको संस्थापन समूह अर्थात् सभापति शेरबहादुर देउवानिकट समूहबाट बालकृष्ण खाँण, रमेश लेखक, डा. प्रकाशरण महत, विश्वप्रकाश शर्मा र एनपी साउँद भिड्ने तयारीमा छन् ।

खाँण हाल सरकारमा गृहमन्त्री समेत छन् भने शर्मा कांग्रेस प्रवक्ता हुन् । यो समूहबाट देउवाले आफ्नो टीममा यी नाममध्ये २ जना छान्ने सम्भावना रहन्छ तर कसलाई छान्नेछन् भन्ने तय भएको छैन । 

संस्थापनइतर समूहबाट डा. मिनेन्द्र रिजाल, गगन थापा, प्रदीप पौडेलले महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

रिजाल संस्थापनइतर समूहअन्तर्गत वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालानिकट मानिन्छन् । उनी हाल सरकारमा रक्षामन्त्री समेत छन् । थापा र पौडेल नेता कृष्णप्रसाद सिटौला समूहसँग निकट मानिँदै आएका छन् ।

अन्तिम समयसम्म आकांक्षी अझै बढ्ने सम्भावना पनि छ । नेता थापाले आफ्नै निर्वाचन क्षेत्र काठमाडौं–४ मा भदौ ३० गते आयोजित एक कार्यक्रममा महामन्त्रीमा उठ्ने घोषणा गरेका थिए । 

शर्माले संस्थापक नेता बीपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसर पारेर भदौ २४ गते सुन्दरीजलस्थित बीपी संग्रहालयमा आयोजित कार्यक्रममा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेता पौडेलले भने आफ्नै निर्वाचन क्षेत्र तनहुँ २ को शुक्लागण्डकी नगरपालिका–८ मा आयोजित एक कार्यक्रममा केही समयअघि उम्मेदवारी घोषणा गरेका थिए । महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेता पौडेलले कांग्रेसको संठन विस्तारसँगै आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै कांग्रेसको कार्य क्षमतालाई थप सशक्त बनाउने लक्ष्य आफूले राखेको बताए ।

‘कांग्रेसको संठनलाई निर्वाचनमुखी बनाउनु छ, आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै कांग्रेसको आन्तरिक र बाह्य कार्य क्षमतालाई थप सशक्त बनाउने उद्देश्य लिएर म महामन्त्रीका लागि अघि बढेको छु,’ पौडेलले भने । नेता थापा भने सभापतिमा देउवाइतर समूहलाई एकै ठाउँमा ल्याउन प्रयासरत छन् । उनले तेस्रो धारको नेतृत्व गरिरहेका पूर्वमहामन्त्री सिटौलालाई पनि सोही समूहमा ल्याउन आफू प्रयास रहेको बताउँदै आइरहेका छन् ।

संस्थापन समूहबाट भने देउवा आफैं सभापतिमा भिड्दै छन् । सो समूहबाट हालका उपसभापति विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले पनि सभापतिमा उठ्ने घोषणा गरेका छन् । यसैगरी, इतर समूहबाट वरिष्ठ नेता पौडेल, नेता सिटौला महामन्त्री डा. कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, नेत्री सुजाता कोइराला र युवा नेता कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् । राजधानी दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर