कांग्रेसको दाङको सभापतिमा शङ्करप्रसाद डाँगी निर्वाचित

दाङ । नेपाली कांगे्रस दाङ जिल्लाको सभापतिमा शङ्करप्रसाद डाँगी निर्वाचित भएका छन् । 

शनिबार भएको निर्वाचनमा डाँगीले ७७६ र उनको निकटतम  प्रतिद्वन्दी भूपबहादुर डाँगीले ५४५ मत  प्राप्त गरेका थिए । त्यस्तै, जानकीलाल बस्नेतले ४७१ र कमलकिशोर घिमिरेले ३१५ मत प्राप्त गरेका थिए । प्रथम हुने उम्मेदवारको ५१ प्रतिशत मत प्राप्त हुन नसकेपछि सभापति पदका लागि आज आइतबार पुनः निर्वाचन हुने भनिएको भए पनि भूपबहादुर र शङ्करबीच भएको सहमतिपश्चात् शङ्कर जिल्ला सभापति भएका हुन । 
 
भूपेन्द्रबहादुरले शङ्करलाई सभापतिमा समर्थन गरेपछि शङ्करलाई सभापति घोषणा गरिएको जिल्ला निर्वाचन समिति दाङका प्रवक्ता युवराज बस्नेतले जानकारी दिए ।  तेह्रौँ महाधिवेशनमा लोकप्रिय मत लिएर जिल्ला सचिवमा निर्वाचित भएका डाँगी यसपालिको अधिवेशनमा सभापतिका रूपमा  निर्वाचित  भएका हुन् ।  

विसं २०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु सभापति भएका डाँगी २०५७ सालमा नेविसङ्घ दाङका जिल्ला अध्यक्ष भएर नेतृत्व गरिसकेका छन् ।  विसं २०५९ मा नेविसङ्घको केन्द्रीय सदस्य भएर राजनीतिक यात्रालाई केन्द्रीय राजनीतिसँग जोड्न  सफल  भएका थिए ।

त्यसैगरी, उपसभापतिमा गिरीराज सुवेदीले ९१३ र कमानसिंह भारती ८६६ मत प्राप्त गरी विजयी भएका छन् । उनीहरुकाका प्रत्याशीहरु एकराज शर्माले २१०, प्रदीप खड्काले ३४९, बुद्धिप्रकाश चौधरीले ८४१, मिनकेतन चौधरीले ६९४ र यज्ञबहादुर वलीले १२५ मत प्राप्त गरी पराजित भएका छन् । 

त्यस्तै, सचिवमा बालिका लम्साल र अर्जुनकुमार योगी निर्वाचित भएका छन् । लम्सालले  एक हजार पाँच र योगीले एक हजार १५७ मत प्राप्त गरेका छन् ।  सहसचिव पदमा राजु आचार्यले एक हजार ५२ र सुबोधकुमार डाँगीले एक हजार ३४ मत प्राप्त गरी विजयी भएका छन् । अन्य पदको भने अहिले मत गणना सुरु भएको छ । 

जिल्लामा पार्टीका दुई हजार एक सय ९२ मतदाता रहेकामा शनिबार भएको मतदानमा दुई हजार एक सय ३८ मत खसेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर