पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ - नेता पौडेल

गण्डकी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाएर लैजानु अहिलेको  आवश्यकता भएको बताएका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि पोखरामा सुरु गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा उनले बिपीको विचार र सिद्धान्तबाट पार्टी अलग भइरहेको बताउँदै बिपीको आदर्श र चिन्तनलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए ।

समय र मागअनुसार कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिँदै उनले विगतको समीक्षाका आधारमा दीर्घकालीन योजनाका साथ क्रियाशील बन्नुपर्ने बताए । लोकतान्त्रिक पद्धतिबाट चल्न नसक्दा यसले पार्टी सङ्गठनलाई कमजोर बनाएको बताउँदै उनले पार्टीका आदर्श र सिद्धान्तलाई आत्मसात गर्दै सङ्गठित र एकताबद्ध बनाएर लैजाने नेतृत्व अहिलेको आवश्यकता भएको बताए ।

कांग्रेसका महामन्त्री डा.सशाङ्क कोइरालाले बिपीले देखाएको बाटोमा हिँड्न नसक्दा पार्टी कमजोर बन्दै गएको बताउँदै उनका आदर्श र चिन्तनलाई अवलम्बन गर्दै सङ्गठनलाई थप मजबुद र क्रियाशील बनाएर जानुपर्ने बताए । महाधिवेशनले आगामी दिनमा पार्टीलाई अझै सङ्गठित र एकताबद्ध बनाएर लैजाने उनले विश्वास व्यक्त गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महाधिवेशनले पार्टीको आन्तरिक सङ्गठनलाई चलायमान बनाएको बताउँदै यही जोश र उमङ्गलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

कांग्रेसका पूर्वमहामन्त्री एवं पूर्वसभामुख तारानाथ रानाभाटले महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई सशक्त  बनाएको बताउँदै निर्वाचित नेतृत्वले पार्टीलाई थप मजबुद र क्रियाशील बनाएर लैजानुपर्ने आवश्यकता औँल्याय । कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुर थापा, नेता देवराज चालिसेलगायतले बोलेका थिए । सङ्घीय संरचनाअनुसार पहिलोपटक हुन लागेको अधिवेशनका लागि नेताहरु अर्जुन जोशी, शुक्रराज शर्मा, यज्ञबहादुर थापा, देवराज चालिसे र रघुनाथ पौडेललगायतले पार्टीको प्रदेश सभापतिमा इच्छा देखाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर