• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

प्रदेश नेतृत्व चुन्न माओवादीलाई सकसः नेताले तान्ने कि विधिले छान्ने ?

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्र राष्ट्रिय सम्मेलनको संघारमा छ । पुस ११ गते डिसेम्बर २६ तारिखका दिन माओवादीले राष्ट्रिय सम्मेलन उद्घाटन गर्दैछ । १५ सय नेता कार्यकर्ता उपश्थित हुने भनिएको सम्मेलनका लागि प्रदेशहरुबाट प्रतिनिधि छान्ने काम पनि लगभग सकिएको छ । तर तीनै प्रदेशहरुलाई आफ्नो नेतृत्वको टिम छान्न भने हम्मे हम्मे परिरहेको छ । संघीय संरचनामा पार्टी संरचनालाई पनि ढालेको माओवादीका ७ भौगोलिक र ३ गैर भौगोलिक गरि १० प्रदेश छन् । यी १० प्रदेशमध्य कतिपयले सम्मेलन सकेर नयाँ नेतृत्व चयन गरिसके कतिपय प्रदेशमा रस्साकस्सी चलिरहेको छ । 

कसले चुने नेता ?
अहिलेसम्म तीन भौगोलिक प्रदेशले अध्यक्ष मात्रै र दुई गैरभौगोलिक प्रदेशले पदाधिकारीसहितको कमिटी गठन गरेका छन् । माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले केन्द्रीय पदमा भएकालाई तल्ला कमिटीमा नझर्न आग्रह गरेको थियो । सो आग्रह अनुसार केन्द्रीय नेताहरु प्रदेशको नेतृत्वमा नजाने भए पछि प्रदेशमै रहेका नेताहरुबीच चर्को प्रतिस्पर्धा भएको हो ।

सम्मेलनले प्रदेश कमिटीसँगै माओवादीको पुसमा हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको समेत छनोट गर्नेछ । प्रदेश पदाधिकारीमा अध्यक्ष, सचिव र कोषाध्यक्ष १÷१ र उपाध्यक्षमा तीन जना रहनेछन् । भने , सचिव– १ र सहसचिव– ३ तथा कोषाध्यक्ष– १ जना रहनेछन्। प्रदेश समिति २७५ सदस्यीय बन्नेछ । प्रदेश समितिमा अनिवार्य रुपमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाको प्रतिनिधित्व गराउनुपर्ने व्यवस्था छ । 

माओवादी केन्द्रका युवा नेता तथा प्रतिनिधिसभाका सांसद् सुदन किराँती माओवादीले निर्वाचन प्रकृयामाथि प्रश्न उठाइरहेकाले अहिले निर्वाचनमा नगई सहमतिका आधारमा नेतृत्वसहितको पदाधिकारी चयन गर्नुपरेको बताए । उनले भने,‘मत विभाजन गर्नु भनेको मन विभाजन गर्नु हो । निर्वाचन प्रणालीप्रति मेरो गम्भीर असहमति छ । माओवादीले प्रयोग गर्ने गरेको निर्वाचन प्रणाली पनि ठीक छैन । कांग्रेस र एमालेले प्रयोग गरेको निर्वाचन प्रणाली त झन् ठीक छैन । त्यसकारण आजको निर्वाचन प्रणाली कस्तो हुन्छ भन्ने कुरा पार्टीभित्र गम्भिर छलफल, बहस गर्नेगरी माओवादी केन्द्र अघि बढ्छ । 

कांग्रेस र एमालेले प्रयोग गरेको निर्वाचन प्रणाली खर्चिलो र भद्दा प्रकारको छ । यस्तो निर्वाचन प्रणाली जनताको सेवकले धान्न र थेग्न सक्दैन । यस्तो निर्वाचन प्रणालीले अक्षम, धनवाद र डनवादलाई प्राथमिकता दिने देखिन्छ । माओवादीले अख्तियार गरेको सहमतिको निर्वाचन प्रणाली पनि ठीक छैन । यि दुवै खराव भएकाले असल निर्वाचन प्रणालीको खोजी गर्नुपर्छ ।’

दुई वटा प्रदेशले महिला र एउटामा पुरुष अध्यक्ष

माओवादी केन्द्रले दुई जना महिलालाई प्रदेश पार्टीको अध्यक्ष बनाएको छ । गण्डकी र कर्णाली प्रदेशको अध्यक्ष माओवादीले महिलालाई बनाएको हो । भने लुम्बिनी प्रदेशमा भने पुरुष अध्यक्ष बनेका छन् । माओवादी केन्द्रले गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ निर्वाचित गरेको थियो । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय सचिवसमेत रहेकी गुरूङलाई अध्यक्ष बनाएको हो । प्रदेशमा ८ जना पदाधिकारीसहित २ सय २९ सदस्यीय समिति रहने व्यवस्था छ । माओवादी केन्द्र गण्डकी प्रदेशले अहिले अध्यक्षमा गुरूङसहित २ सय १ सदस्यीय कमिटी बनाएको छ । यस प्रदेशमा अध्यक्षबाहेक अन्य पदाधिकारी टुंग्याउन बाँकी नै छ । 

यस्तै, माओवादी केन्द्रले कर्णाली प्रदेश अध्यक्षमा विमला केसीलाई चयन गरेको छ ।  बुधबार बसेको प्रदेश समितिको पहिलो बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सिटी हलमा मंगलबार सम्पन्न प्रदेश अधिवेशनले २११ सदस्यीय प्रदेश समिति चयन गरे पनि पदाधिकारीको टुंगो भने लगाउन सकेको थिएन ।  प्रदेशमा अध्यक्ष पद टुंगिए पनि अन्य पदाधिकारी भने अझै टुंगो लागेको छैन । अध्यक्षमा चयन भएकी केसी कर्णाली प्रदेश सरकारको पूर्वमन्त्री समेत हुन् । केसी अर्थमन्त्री जनार्दन शर्मा नजिक मानिन्छिन् ।

माओवादी केन्द्रको लुम्बिनी प्रदेशले अध्यक्ष मात्रै टुंग्याएको छ । बाँकी पदाधिकारीमा आकांक्षीको संख्या धेरै भएपछि पार्टीको महाधिवेशनपछि मात्रै टुंग्याइने भएको छ । प्रदेश अध्यक्षमा भने गुल्मीका संविधानसभा सदस्य सुदर्शन बराल सर्वसम्मत चयन भएका छन् ।  अधिवेशनले २ सय १७ सदस्यीय कमिटी चयन गरेको र त्यही कमिटीबाट उनी अध्यक्ष भएका हुन् ।  बराल प्रदेशका पूर्व सामाजिक विकास मन्त्री हुन् । बराल माओवादी नेता वर्षमान पुन अनन्त निकटका हुन् ।  

तीन गैरभौगोलिक प्रदेशको अवस्था कस्तो छ ?

माओवादी केन्द्रको गैरभौगोलिक प्रदेशको रुपमा रहेको उपत्यका विशेष प्रदेशले पदाधिकारीसहितको कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । यस प्रदेशले अध्यक्षमा जगत सिंखडा र सचिवमा अखिल (क्रान्तिकारी)का पूर्व उपाध्यक्ष सुरेन्द्र बस्नेतलाई चयन गरेको थियो । यस प्रदेशले भने अन्य पदाधिकारी सहित सबै कमिटीमा रहनेको नाम पनि सार्वजनिक गरेको छ । सवैभन्दा पहिला प्रदेशको सम्मेलन गरेर पदाधिकारीको सर्वसम्म टुंगो लगाउनेमा विषेश प्रदेश समिति पर्दछ । 

माओवादी केन्द्रकोे सम्पर्क समन्वय समिती विशेष प्रदेशले भने अध्यक्ष पद मात्रै टुंग्याएको छ । यस प्रदेश कमिटीको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन भएका छन् भने बाँकी पदाधिकारी टुंग्याउन बाँकी रहेको छ । यस्तै माओवादीको अर्को गैरभौगोलिक प्रदेश अन्तर्गतको प्रवास प्रदेशको सम्मेलनको मिति नै तोकिएको छैन । यस प्रदेशको कहिले अधिवेशन हुने भन्ने नटुंगिएको हो । 

चार वटा प्रदेशको अवस्था कस्तो छ ? 

माओवादी केन्द्रले पदाधिकारी टुंग्याउन बाँकी रहेका ७ मध्ये ६ वटा प्रदेशको नेतृत्वमा चर्को प्रतिस्पर्धा हुने देखिएको छ । माओवादीको भौगोलिक ५ र गैरभौगोलिक २ गरी सात वटा प्रदेशमा कमिटी गठन हुन नसकेको हो । माओवादी केन्द्रको प्रदेश १ मा अध्यक्षका लागि केन्द्रीय नेता नै आकांक्षी देखिए पनि चर्को विवाद भएको थियो । प्रदेश ईन्चार्जसमेत रहेका पूर्व मन्त्री राम कार्कीले बुधबार केन्द्रीय नेतालाई विराटनगरमा राखेर छलफल गरेपछि विवाद हल भएको थियो । सो छलफलले कन्द्रीय पदमा रहेर अध्यक्षमा दाबी गरिरहेकाहरु सुरेश किराती, ईन्द्र आङ्वोहाङ् र हेमराज भण्डारीले दाबी छाडेका थिए । उनीहरुले आफ्नो दाबी छाडेपछि प्रदेशमै रहेका नेताहरुबीच नै चर्को प्रतिस्पर्धा देखिएको हो । 

प्रदेश १ मा अहिले मुक्सहाङ मेनेङ्वो, शिव डाँगी, हर्क नेम्वाङ ‘मिक्सो’ र देवान चाम्लिङ रहेका छन् । उनीहरुमध्ये एक जनालाई अध्यक्ष बनाउने तयारी भएको प्रदेशका एक नेताले जानकारी दिए । प्रदेशले पदाधिकारी विवाद हल गर्न र प्रस्ताव समेत पेस गर्नेगरी अजम्बर काङ्वोहाङको नेतृत्वमा सुरेस किराती, ईन्द्र आङ्वो र हेमराज भण्डारी सदस्य रहेको कमिटी बनाएको छ । सो कमिटीले प्रतिवेदन तयार पारेर आगामी ७ पुसमा बस्ने प्रदेश कमिटीको पहिलो बैठकमा पेस गर्नेछ । सहमतिमै अध्यक्ष टुंग्याउनेगरी तयारी भएको छ।

यस्तै प्रदेश २ मा बन्दसत्र नै सुरु भएको छैन । गत २५ मंसिरमा जनकपुरमा खुला सत्र गरे पनि बन्द सत्र भने सुरु हुन नसकेको हो । माओवादी केन्द्रका सर्लाही जिल्ला संयोजक कमल बुढाथोकीका अनुसार आगामी ३ पुस अर्थात भोली सर्लाहीको लालबन्दीमा बन्दसत्र सुरु हुनेछ । सकेसम्म सहमतिकै आधारमा नेतृत्वसहितको पदाधिकारी चयन गरिने नत्र निर्वाचनमा जाने बताए । 

यस्तै माओवादी केन्द्रको बागमती प्रदेशमा पनि आकांक्षीको संख्या धेरै देखिएको छ । बागमती प्रदेशमा प्रदेशको नेतृत्वमा भक्तपुर जिल्ला अध्यक्षसमेत रहेका डीपी ढकाल र सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल, काभ्रेपलान्चोकका पुराना नेता दिनानाथ गौतमले दाबी गरेका छन् । दोलखाको विशाल खड्काले पनि अध्यक्षमा दावी गरेका थिए । तर उनी बुधबार मात्रै बागमती प्रदेशको वन मन्त्री बनेकाले उनको दावेदारी स्वत अन्त्य भएको छ । 

ढकाल र पौडेलमध्ये एक जना अध्यक्ष हुने एक नेताले जानकारी दिए । सानै उमेरदेखि जनयुद्धमा लागेका र माओवादी केन्द्रको वैचारिक नेतासमेत रहेका ढकाल ‘अर्थ राजनीति’सँग सम्वन्धित विभिन्न ६ वटा पुस्तक समेत लेखिसकेका छन् । 

सुदूरपश्चिम प्रदेश ः माओवादी केन्द्र सुदूरपश्चिमको अध्यक्षका आकांक्षी धेरै देखिएपछि टुंग्याउन सकस परेको छ । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको २२३ सदस्यीय प्रदेश समिति गठन गरे पनि पदाधिकारी भने टुंग्याउन नसकेको हो । अध्यक्ष शरदसिंह भण्डारी, नरेन्द्र कुँवर, सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुुर धामी, प्रदेशसभा सदस्य वीरमान चौधरी, प्रदेश सचिव नेपबहादुर चौधरी, राष्ट्रियसभा सदस्य हरिप्रसाद चौधरी र हरि ज्ञवालीलगायतका नेता आकांक्षी छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर