• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

केन्द्रीय सदस्य पूरा नहुँदै माओवादी पदाधिकारी चयन भए विधान मिचिने

काठमाडौं । माओवादी केन्द्रको आठौं महाधिवेशनले अपूर्ण केन्द्रीय कमिटी चयन गरी सकिएको छ । आइतबार सकिएको माओवादीको महाधिवेशनले २३६ जना केन्द्रीय सदस्य मनोनय गरेको छ । माओवादी केन्द्रको महाधिवेशन हलबाट पारित विधानअनुसार केन्द्रीय सदस्य २९९ सदस्यीय हुने व्यवस्था छ । विधानअनुसार ६३ जना केन्द्रीय सदस्य बन्न बाँकी छ ।

माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक सोमबार अपरान्ह सानेपास्थित हेरिटेज गार्डेनमा बस्ने भएको छ । पहिलो बैठकबाट पदाधिकारी चयन गर्ने माओवादी केन्द्रले जनाएको छ ।

महाधिवेशन समापन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले भनेका भोलीको केन्द्रीय समितिको बैठकबाट पदाधिकारीलाई पूर्णता दिने बताएका थिए । उभने महाधिवेशन समापन गर्दै भनेका थिए, ‘हामीसँग अझै ८० सिट बाँकी छ, छुट्न गएकाहरुलाई पछि पनि मनोनयन गर्नेछौं र भोलि नै पदाधिकारी चयन गर्नेछौं ।’

पदाधिकारी बन्ने हक कुण्ठित 
माओवादी केन्द्रको केन्द्रीय सदस्यको सबै पदपूर्ती नगरी पदाधिकारी बनाउन लागिएको हो । केन्द्रीय सदस्य हुने व्यक्ति स्वतः पदाधिकारीको दाबेदार हुने माओवादी केन्द्रको विधानमा व्यवस्था छ । पद रिक्त राखेर केन्द्रीय पदाधिकारी बनाउँदा केन्द्रीय सदस्यको पदाधिकारी बन्ने हक कुण्ठित भएको माओवादी केन्द्रका नेताहरु नै बताउँछन् ।

माओवादी केन्द्रको निर्वाचन आयोगका सदस्य तथा अधिवक्ता मुरारी सापकोटाले भने,‘माओवादीको विधानमा केन्द्रीय सदस्यको संख्या २९९ सदस्यीय भनेको छ । महाधिवेशन हलबाट सर्वसम्मत चयन भएका २३६ जना हुन् । रिक्त पद ६३ जना हो । केन्द्रीय सदस्यमा चयन भएकाको संख्या विधानमा भएको व्यवस्थाको दुईतिहाइ संख्या हो । यो संख्याबाट पदाधिकारी चयन गर्दा वैधानिक नै हुन्छ । तर ६३ जना पद रिक्त राखेर पदाधिकारी चयन गर्नु राम्रो होइन । ६३ जनाले नै पदाधिकारीमा दाबी गर्न सक्छन् । केन्द्रीय समिति पूर्ण नभईकन पदाधिकारी चयन गर्दा उनीहरुको पदाधिकारी बन्न पाउने अधिकार कुण्ठित हुन जान्छ ।’

वरिष्ठ अधिवक्ता तथा माओवादी केन्द्रका नवनिर्वाचित केन्द्रीय सदस्य खिमलाल देवकोटाले भने केन्द्रीय सदस्य पूर्ण नभएपनि पदाधिकारी चयन गर्न सकिने बताए । बहुमत भन्दा ठूलो संख्याको केन्द्रीय समिति बनिसकेकाले थोरै संख्या छुट्दैमा फरक नपर्ने उनको भनाई छ ।

निवर्तमान अध्यक्ष तथा नवनिर्वाचित केन्द्रीय सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार महाधिवेशन आयोजक समितिको तर्फबाट २९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्द सत्र समक्ष प्रस्तुत गरेका थिए । खुल्लाबाट १११ जना र समावेशीबाट १२५ जना केन्द्रीय सदस्यहरूको नाम महाधिवेशनको बन्दसत्रले सर्वसम्मत रूपले पारित थियो । पदाधिकारीबारे निर्णय भने पनि आज नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बसेर टुंग्याइने बताइएको छ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर