• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

उद्यममा युवाः ८ करोड लगानीमा कृषि फर्म,१५ सय लिटर दुध उत्पादन 

विराटनगर । होटल व्यवसायमा लामो समय बिताएका विराटनगरका दुई युवाले आधुनिक कृषि उद्यममा हात हालेका छन् ।

पहिलो चरणमा ८ करोडको लगानीमा विराटनगर १२ का सञ्जय चापागाँई र गजेन्द्र शर्मा बञ्जराले सोही वडाको दरैया बस्तीमा आधुनिक कृषि उद्यम सञ्चालन गरिरहेका छन् ।

लामो समय होटल व्यवसाय गरेका चापाागाइँ र बन्जराले ५० करोड रुपैयाँ लगानी गर्ने लक्ष्यसहित बञ्जरा कृषि फार्म स्थापना गरेका हुन् । दुई सय वटा गाई पाल्ने लक्ष्यसहित स्थापना गरिएको फार्ममा अहिले ५० वटा गाई छन् । अहिले पहिलो चरणको काम अगाडि बढ्दै गर्दा फार्मले दैनिक ८ सय लिटर दूध उत्पादन गर्न थालेको छ । आउँदो वैशाख महिनादेखि दैनिक १५ सय लिटर दूध उत्पादन गर्नेगरी कामलाई तीब्रता दिएका छन् । वैशाख अघिनै गाईको संख्या एक सय वटा पु¥याउने सञ्चालक सञ्जय चौलागाईँले बताए ।

अहिले फार्ममा २५ देखि ४२ लिटरसम्म दूध दिने होलस्टेन जर्सी गाईहरू छन् । केही दिन भित्रै थप १५ वटा गाई भारतको पञ्जाबबाट आइपुग्ने फार्मले जनाएको छ । फार्मले पहिलो चरणको काम सम्पन्न गर्नासाथ उत्पादित गुणस्तरीय दूधलाई आउँदो वैशाख महिनादेखि बोटलिङ गरी बजारमा लैजाने तयारी गरेको छ ।

तीन चरणमा ५० करोड लगानी गर्ने लक्ष्य राखेर ८ महिनाअघि सुरु गरेको कृषि फार्मले अटोमेटिक प्रविधिमा आधारित डेरी उद्योग सञ्चालनको तयारी पनि गरेको छ । अटोमेटिक प्रणालीमा जाँदा कम जनशक्तिमा धेरै काम गर्न सकिने भएकोले फार्मलाई पूर्णरुपमा अटोमेटिक बनाइने गरी संरचना निर्माणको काम जारी छ । गाईलाई घाँस तथा पानी खुवाउने, गोबर सोहोर्ने, दूध दुहुने सबै काम आधुनिक उपकरणबाट स्वचालित हुनेछन् ।

उपकरणकै कारण दुई सय वटा गाई दुहुनका लागि दुई जना जनशक्ति लाग्ने फार्मले जनाएको छ । फार्म पूर्णरुपमा सञ्चालनमा आएपछि दैनिक ५ हजार लिटर दूध र ५ सय किलोग्राम तरकारी उत्पादन गरी बजारमा पठाउने योजना अनुसार फार्मले काम गरिरहेको छ ।

दरैयाबस्तीमा ५ बिघा जग्गा खरिद गरेर सुरु गरेको फार्ममा पालिएका गाईलाई फार्म आफैंले उत्पादन गरेको गुणस्तरीय साइलेज खुवाउने गरिएको छ । त्यसका लागि सुनसरीको देवानगञ्जका किसानहरुसँग ५० बिघा खेतमा मकैखेती गर्ने सम्झौता गरेको छ । किसानहरुले वर्षको दुई सिजन मकैखेती गरी साइलेज बनाउन यो फार्मलाई दिने गरेका छन् ।

फार्मले मकै काट्ने र साइलेज बनाउने ‘मोवाइल मेसिन’ किसानको खेतमै पु¥याउने गरेको छ । खेतमा रोपेको मकै ८५ औं दिनमा काटेर साइलेज बनाइरहेको र आगामी दिनमा थप क्षेत्रफलका लागि किसानसँग सम्झौता गर्ने तयारी भइरहेको चापागाईँले जानकारी दिए ।

फार्मले दूधसँगै विकसित जातका गाईको नश्ल उत्पादनमा विशेष जोड दिँदै उन्नत जातका गाईका बाछीहरु किसानहरुलाई उपलब्ध गराउने लक्ष्य पनि राखेको छ । युवा जनशक्ति कृषि पेशाबाट विमुख भइरहेको बेला चापागाईं र बन्जराले पेशा परिवर्तन गरी कृषिमा लगानी गर्ने आँट गरेको भन्दै पशु सेवा विभागका उप–महानिर्देशक डाक्टर लेखराज दाहालले सरकार र अन्य सरोकारवालाहरुले प्रोत्साहन गर्नुपर्ने बताएका छन् । मंगलबार फार्मको अनुगमनका लागि आइपुगेका उप–महानिर्देशक दाहालले भने ‘यसरी कृषिक्षेत्रमा लागेका उत्साही युवाहरुले अरुलाई पनि प्रेरित गरिरहेका हुन्छन् ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर