• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आइतबारदेखि बुस्टर मात्राको खोप दिइने

काठमाडौं । नेपाल सरकारले भोलि (आइतबार)देखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ । अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
    
‘बुस्टर’ डोजका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ । ‘बुस्टर’ डोज कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छ महिना पूरा भएका व्यक्ति, अग्रपङ्क्ति र ६० वर्षभन्दा माथिका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका सबैलाई दिइने मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । 

रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामी पर्दछन् । 

कोरोना भाइरस सङ्क्रमण बढेसँगै सरकारले ‘बुस्टर’ डोज दिन थालेको हो । पुस ३० गते पाँच हजार ८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । ‘बुस्टर’ डोजमा पहिले जुन खोप लगाएको हो सोही खोप लगाउनुपर्ने हुन्छ । कोभिड–१९ खोप सल्लाहाकार समितिले ‘बुस्टर’ डोज खोप लगाउन सरकारलाई सुझाव दिइसकेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर