१२ जीवन बीमा कम्पनीहरुको बोनसदर सार्वजनिक 

काठमाडौं । नेपालमा दर्ता भई सञ्चाल १८ वटा र विदेशी कम्पनीको एक शाखा कार्यालय सहित १९ जीवन बीमा कम्पनीमध्ये १२ वटाले बोनस दर सार्वजनिक गरेका छन् । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ को लागि बीमितले पाउने बोनस दर सार्वजनिक गरेका हुन् ।

हाल सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये नेशनल लाइफ, मेट लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, एशियन लाइफ, सन नेपाल लाइफ, सूर्या लाइफ, सिटिजन लाइफ, प्रभु लाइफ, एलआईसी नेपाल, रिलायन्स लाइफ र महालक्ष्मी लाइफले आर्थिक वर्ष २०७६/०७७ को लागि नयाँ बोनसदर सार्वजनिक गरिसकेका छन् । फयुचर प्रोभिजनको कारण अधिकाश बीमा कम्पनीहरुको बोनसदर घटेपनि सूर्या लाइफ, प्राईम लाइफ र नेशनल लाइफको बोनसदर भने यथावत् नै रहेको छ ।

१२ जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७६/७७ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्कीय मूल्यांकन गरी नयाँ बोनसदर घोषणा गरेका हुन् । त्यस अनुसार २०७७ असार मसान्तसम्म जारी भएका मुनाफमा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण हुन्छ । बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दावी, पूर्ण वा आंशिक अवधि भुक्तानी दावी, समर्पण मूल्य दावी, चुक्ता मूल्य दावी तथा चालु बीमालेखमा समेत लागू हुनेछ ।

हालसम्म प्रकाशित वित्तीय अनुसार नेशनल लाइफ इन्स्योरेन्स सबैभन्दा शक्तिशाली बन्ने देखिएको छ । बोनस दर सो कम्पनीको अन्य कम्पनीहरुको तुलनामा केही माथि हुने देखिएको हो । नियामक निकायले जारी गरेको फ्युचर बोनसका कारण जीवन बीमा कम्पनीहरुको बोनस दर र लाभांश प्रभावित हुने भएको छ । यद्यपि नेशनल, प्राईम, सिटिजन, एशियन र महालक्ष्मी लाइफ लगायतका कम्पनीहरुले यसअघि नै प्रोभिजन गरेकोले उनीहरुलाई कम असर पार्नेछ भने नेपाल लाइफ, एलआईसी नेपाल जस्ता ठूला कम्पनीहरु बढि प्रभावित हुनेछन् ।

नेशनल लाइफ इन्स्योरेन्स

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको छ ।कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । १२ कम्पनीले घोषणा गरेको बोनसदरमध्ये कम्पनीको बोनसदर सबैभन्दा धेरै रहेको छ।

कम्पनीको सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँ, सावधिक तथा आजीवन बीमा योजनामा न्युनतम ६४ रुपैयाँ देखि ६५ रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम ६३ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बीमितलाई बोनस पाउनेछन् ।

प्राइम लाइफ इन्स्योरेन्स

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुको लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण बीमा समितिबाट असोज ६ गते स्वीकृती पाएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीले न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ ।कम्पनीको सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा प्रति हजार न्यूनतम ३५ रुपैयाँ देखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने छन् ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेख बीमा अवधिको आधारमा न्युन्तम ३६ रुपैयाँदेखि ७५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक बीमालेखमा ४० रुपैयाँदेखि ७० रुपैयाँ र प्राइम जीवन उपहार अग्रिम भुक्तानीमा ३२ रुपैयाँ र सावधिक बीमामा ४० रुपैयाँ बोनस दर तोकिएको छ ।

मेट लाइफ इन्स्योरेन्स

अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ) ले आर्थिक वर्ष २०७६÷७७ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीको सावधिक जीवन बीमा र शिक्षा संरक्षण बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ बोनस पाउनेछन् ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना भने न्युनतम ४५ रुपैयाँ देखि ६५ हजार रुपैयाँ बोनस पाउने छन् ।

ज्योति लाइफ इन्स्योरेन्स

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७७ असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुको बोनस दर घोषणा गरेको हो । कम्पनीले न्युनतम ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्मको बोनस वितरण गर्नेछ ।

सावधिक, सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्षसम्म कायम रहने बीमालेख खरिद गर्ने बीमितले ४३ रुपैयाँ, १० देखि १४ वर्ष सम्मकोले ४५ रुपैयाँ, १५ देखि १९ वर्ष सम्मकोले ५० रुपैयाँ, २० देखि २४ वर्ष सम्मकोले ५५ रुपैयाँ र २५ वर्ष वा त्यस भन्दा मथिको बीमालेखमा बीमितले ७५ रुपैयाँ सम्म बोनस पाउनेछन् ।

यस्तै अग्रिम भुक्तानी बीमालेख अन्र्तगत १० देखि १४ वर्षको बीमालेखमा ४३ रुपैयाँ, १५ देखि १९ वर्ष सम्मकोमा ४५ रुपैयाँ र २० देखि २४ वर्ष सम्ममा बीमालेख खरिद गर्ने बीमितले ५० रुपैयाँ बोनस पाउने छन् ।

एशियन लाइफ इन्स्योरेन्स

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को लागि बोनसदर सार्वजनिक गरेको हो ।कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट कात्तिक ३ गतेको पत्रबाट स्वीकृत भएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको सावधिक तथा आजीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ, बालबालिका सावधिक जीवन बीमामा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, सावधिक जीवन बीमालेखमा न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा ४४ रुपैयाँ देखि ७० रुपैयाँ बोनस पाउनेछन् ।
त्यस्तै नवरन्त, जीवन संजीवनी, दाम्पत्ति सुरक्षा प्ल्स, एशियन वार्षिक धनलाभमा पनि बीमा अवधिको आधारमा बीमितले न्युनतम ३२ रुपैयाँदेखि ५८ रुपैयाँ सम्म बोनस पाउनेछन् ।

सूर्या लाइफ इन्स्योरेन्स

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट कात्तिक ५ गतेको पत्रबाट स्वीकृत भएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीको अग्रिम भुक्तानी सावधिक बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँ, सावधिक जीवन बीमामा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँ बोनसदर घोषणा गरेको हो ।

सिटिजन लाइफ इन्स्योरेन्स

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को लागि बोनसदर घोषणा गरेको छ । कम्पनीले न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीले अग्रमि भुक्तानी सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म, सावधिक जीवन बीमा योजनामा प्रति हजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म, सिटिजजन शुभारम्भ योजना (सावधिक) बीमालेखमा न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस घोषणा गरेको हो ।
त्यस्तै, वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्युनतम २५ रुपैयाँदेखि ३५ रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमालेखमा न्युनतम ३६ रुपैयाँदेखि ७० रुपैयाँसम्म बीमितले बोनस पाउनेछन् ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आर्थिक वर्ष २०७६/७७ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको हो ।

बीमितले सावधिक जीवन बीमा, जीवन विद्या, जीवन साथी बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५४ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।जीवन आनन्द र बाल सवाधिक बीमा योजनामा न्यूनतम ५५ रुपैयाँदेखि ७० रुपैयाँ बोनस पाउनेछन् ।

प्रभु लाइफ इन्स्योरेन्स

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को लागि बोनस दर सार्वजनिक घोषणा गरेको छ । कम्पनीले न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ, सावधिक तथा आजीवन बीमालेखमा बीमितले न्युनतम ३५ रुपैयाँ देखि ७० रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना भने न्युनतम ३५ रुपैयाँदेखि ५१ हजार रुपैयाँ बोनस पाउनेछन् ।

रिलायन्स लाइफ इन्स्योरेन्स

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को लागि नयाँ बोनसदर घोषणा गरेको छ ।बीमांकीय मूल्यांकन प्रतिबेदन बीमा समितिबाट असोज ६ गते स्वीकृति भएपछि कम्पनीले न्युनतम १९ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनसदर घोषणा गरेको हो ।

सावधिक तथा आजीवन बीमा योजनामा ३० रुपैयाँदेखि ६० रुपैयाँ,अग्रिम भुक्तानी सार्वधिक बीमा योजनामा ४१ रुपैयाँदेखि ४५ रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी मुद्दती नियमित शुल्क बीमा योजनामा न्युनतम २४ रुपैयाँदेखि ५४ रुपैयाँ र सामुहिक सावधिक बीमा योजनामा १९ रुपैयाँ बीमितले बोनस पाउनेछन् ।

सन नेपाल लाइफ

सन नेपाल लाइफले आज नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम् ७५ रुपैयाँसम्म पाइनेछ ।

कम्पनीको सन लाइफ सावधिक जीवन बीमामा न्यूनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाइने छ । त्यस्तै, भाग्योदय जीवन बीमालेख एकल भुक्तानी सावधिकमा पनि न्यूतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाइनेछ । त्यसैगरी, बालसमृद्धि बीमालेख सावधिक जीवन बीमालेखमा न्यूनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाइने छ ।

त्यसैगरी, नविन आजिवन बीमालेख सावधिक जीवन बीमालेखमा न्यूनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाइने छ । आज सार्वजनिक गरिएको चारै प्रकारका बीमालेखमा नौ वर्षसम्मको बीमालेखमा ३० रुपैयाँ प्रतिवर्ष प्रति हजार बोनस पाइने छ भने १४ वर्षसम्मको बीमालेखमा पनि ३० रुपैयाँ, १९ वर्षसम्मको बीमालेखमा ४० रुपैयाँ, २४ वर्षसम्म अवधीमा बीमालेखमा ६० रुपैयाँ र २५ वर्षभन्दा माथि अवधीको बीमा गर्दा ७५ रुपैयाँ बोनस पाइनेछ ।

त्यस्तै, धनञ्जय बार्षिक अग्रिम भुक्तानी अन्तर्गतको नौ वर्ष अवधीसम्मका जीवन बीमालेखमा न्यूनतम १८ रुपैयाँ प्रतिवर्ष प्रति हजार बोनस तोकिएको छ । सोही प्रकृतिको बीमालेख अन्तर्गत २० वर्ष वा सो भन्दा माथिको बीमालेखमा ३० रुपैयाँ बोनसदर निधारण गरिएको छ ।

महालक्ष्मी लाइफ
महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को लागि नयाँ बोनस दर घोषणा गरिसकेको छ। कम्पनीले न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको महालक्ष्मी सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५० रुपैयाँ देखि अधिकतम ७२ रुपैयाँसम्म बोनस पाउनेछन ।

कम्पनीले महालक्ष्मी सरल जीवन बीमा र महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा बीमा अवधिको आधारमा न्युन्तम ५० रुपैयाँ र अधिकतम ५१ रुपैयाँ बोनस दिनेछ । यस्तै कम्पनीले महालक्ष्मी वार्षिक धन फिर्ता बीमा योजनामा ४० रुपैयाँ र महालक्ष्मी सावधिक आजीवन बीमा योजनामा ५० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर