‘एक पालिका एक पर्यटकीय गन्तव्य’ अन्तर्गत बन्यो सिद्ध लखन भ्यूटावर

गोरखा । गण्डकी प्रदेश सरकारको ‘एक पालिका एक पर्यटकीय गन्तव्य’ कार्यक्रमअन्र्तगत गोरखाको शहिद लखन गाउँपालिकामा रु ५१ लाखभन्दा बढीको लागतमा सुन्दर भ्यूटावर निर्माण सम्पन्न भएको छ । प्रदेश सरकार आर्थिक सहयोग र स्थानीयवासीसमेतको जनश्रमदानबाट भ्यूटावर निर्माण भएको गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिए । 

“प्रदेश सरकारबाट कूल विनियोजित रु ४३ लाख ५४ हजार २८७ अनुदान उपलब्ध गराएको थियो”, उनले भने, “त्यसबाहेक स्थानीय उपभोक्ता समितिबाट समेत झण्डै रु आठ लाख बराबरको जनश्रमदान भएको छ ।” धार्मिक पर्यटकको अत्यधिक सम्भावना रहेको शहिद लखन गाउँपालिकास्थित बक्रेश्वरी थानडाँडामा निर्माण गरिएको उक्त भ्यूटावरले त्यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य गाउँपालिकाको रहेको उनको भनाइ छ ।

“बक्रेश्वरी मन्दिरमा बोली नफुटेका वा बोली स्पस्ट नभएका बालबालिकाले भाकल गरी पूजाआजा गरेमा बोली फुट्छ वा स्पस्टसमेत हुन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ”, उनले भने, “दृष्यावलोकनका हिसाबले पनि बक्रेश्वरी डाँडा अत्यन्त मनमोहक रहेकाले यसलाई गाउँपालिकाले पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न चाहेको हो ।”

गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका हरेक पालिकामा एउटा पर्यटकीय गन्तव्यको विकास गर्ने योजनाअन्तर्गत शहिद लखन गाउँपालिकाले धार्मिक दृष्टिकोणमा समेत महत्वपूर्ण आस्थाको केन्द्र मानिएको बक्रेश्वरी थान डाँडामा धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित आकर्षक भ्यूटावर निर्माण गरेको उनको भनाइ छ । विसं २०७७ जेठ १२ गते निर्माण सम्झौता भएको उक्त भ्यूटावर गत असारमा निर्माण सम्पन्न भएको थियो ।

सिद्ध लखन भ्यूटावरस्थल ऐतिहासिक हिसाबले समेत गुरु गोरखनाथबाट लखन थापाले शिद्धता प्राप्त गरेको ठाउँ भएकाले त्यसको विशेष महत्व रहेको पाइन्छ । नवनिर्मित भ्यूटावरबाट हिमालका सुन्दर दृष्यावलोकनका साथै सूर्याेदय र सूर्यअस्तसमेतलाई नजिकबाट नियाल्न पाउने छन् । नवनिर्मित भ्यूटावरको गण्डकी प्रदेशसभा सदस्य लेखबहादुर थापाले सोमबार एक कार्यक्रमका बीच उद्घाटन  गरेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर