• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

स्थानीय तहको निर्वाचन : नीति र नेतृत्वको अपरिहार्य समायोजन

गाउँ नगरका घरघर जाऊ, माओवादी केन्द्रलाई विजयी गराऔं ! 
 

सपना त्यसले देख्छ, जसले जीवन र जगतको परिकल्पना गर्छ । समाजलाई त्यसले रुपान्तरण गराउन सक्छ, जसले सपना देख्छ । कला त्यसले प्रदर्शन गर्छ जोसँग सीप र ज्ञान हुन्छ । नेतृत्व त्यसले गर्न सक्छ, जसले वर्ग र समाजलाई बुझेको हुन्छ । वर्गीय मुक्तिको आधार त्यसले खडा गर्न सक्छ, जो वर्गीय मुक्ति संघर्षबाट खारिएको हुन्छ । दिशानिर्देश त्यसले गर्न सक्छ, जोसँग वैचारिक धार प्रष्ट हुन्छ । 

इतिहासदेखि बर्तमानसम्मका शृंखलाबद्ध घटनाक्रम बुझ्नेले मात्रै माओवादी केन्द्रलाई बुझ्न सक्छन् । नेपालमा माओवादी केन्द्र मात्र त्यस्तो पार्टी हो, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति बुझ्न एक दशक वैचारिक तयारीमा बिताएको छ । माओवादी केन्द्रले एक दशक सशस्त्र बिद्रोहको अनुभव हासिल गरेको छ । अर्को एक दशक शान्ति र संविधान निर्माणमा आफूलाई केन्द्रित गरेको छ । माओवादी केन्द्रले बिचार निर्माण गर्न निरन्तर पक्ष र बिपक्षका बीचमा छलफल बहस गरिरहेको छ । यो पार्टीले उतारचढाव झेलेको छ तर आफनो लक्ष्य र उद्देश्यमा बिचलित भएको छैन र असफल पनि भएको छैन । माओवादी केन्द्रले अबको दशक आफ्ना नेता कार्यकर्ता, समर्थक, शुभचिन्तकलाई बिकास र समृद्धिका योजना कार्यान्वयनमा केन्द्रित गर्नेछ ।

छापामार संघर्ष गर्दागर्दै शान्तिपूर्ण संघर्ष गर्न सक्ने, शान्तिपूर्ण संघर्ष गर्दागर्दै सशस्त्र संघर्षमा होमिन सक्ने पार्टी माओवादी केन्द्र हो । माओवादी केन्द्र समाजको गतिसँगै आफूलाई गतिशिल बनाउन सक्ने पार्टी हो । शहीद, वेपत्ता, घाइते र जनमुक्ति सेनाका योद्धाका सपना र ती सपनालाई साकार पार्न लामबद्ध युवाहरुले भरिएको पार्टी माओवादी केन्द्र हो । किनकी उनीहरुको मर्म र भावना बुझन सक्ने अर्को पार्टी नेपालमा छैन । उनीहरूको सम्मान र पुनस्र्थापना गर्ने गतिलो योजना बनाएर कार्यान्वयन गराउन सक्ने पार्टी माओवादी केन्द्र हो । दश वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको कोरियोग्राफर र त्यसलाई सफलताको उचाईमा पुर्‍याउने माओवादी केन्द्र हो । नेपाली जनताले उपभोग गरिरहेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जननी पनि माओवादी केन्द्र हो । 

माओवादी एउटा संगठित शक्ति मात्रै होइन, संगठित बिचार पनि हो । संगठित बिचारलाई कार्यान्वयन गर्ने संगठित संगठनले हो । माओवादीको संगठित बिचार र संगठित संगठनलाई परिचालन गर्दा त्यसले सफलता प्राप्त गरेको छ, संगठित बिचारमा संगठित शक्ति परिचालन नहुँदा माओवादीले असफलता पाएको छ । नेपालमा बिगतदेखि बर्तमानसम्म भएको तथ्य यहि हो । जोसँग त्यो बिचारमा अडिन सक्ने क्षमता हुन्छ त्यसले मात्रै माओवादीलाई बुझन सक्छ । सशस्त्र र शान्तिपूर्ण वर्ग संघर्ष, संसदीय र गैरसंसदीय संघर्ष, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश बुझेको व्यक्ति मात्रै नेतृत्वमा आउन सक्छ । भारत, चीनसहित दक्षिण एशियाका करिब तीन अर्व जनसंख्याको वरिपरि रहेको नेपालको नेतृत्व सन्तुलित परराष्ट्रनीति अवलम्बन गर्न सक्ने कुशल चाहिन्छ । माओवादी केन्द्रको मूल नेतृत्व त्यस्तो क्षमता राख्छ । 

एक पटक ०५२ साल यताका घटनाक्रमलाई छातीमा हात राखेर समीक्षा गरौं न । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउने माओवादी केन्द्र तर ०६३ यता शासन गर्ने, नेतृत्व र अभ्यास गर्ने संयन्त्रमा अर्को व्यक्ति र बिचार हावी भइदियो । समाजवाद उन्मुख संविधान लेख्ने माओवादी तर त्यो संविधानलाई कार्यान्वयनमा लैजाने विचार र नेतृत्व अर्कै भइदियो । मधेसीलाई राष्ट्रपति बनाउने माओवादी तर नेतृत्व अर्कै बिचारले निर्देशित भइदियो । चुलोचौकामा सीमित महिलालाई बिद्रोहमा सामेल गराएर जागरण ल्याउने र महिलालाई राष्ट्रपति बनाउने तहमा मुलुकलाई पु¥याउने माओवादी तर अर्कैबाट निर्देशित नेतृत्व भइदिनाले बिग्रियो । तराई, पहाड र हिमाललाई जोड्ने माओवादी तर मधेसी, पहाडी र हिमालीलाई लोभ्याउने अर्कै भइदियो । अशान्तिलाई शान्तिमा बदल्ने माओवादी तर दीगो शान्तिका लागि काम गर्ने अर्कै भइदियो । विपक्षीलाई प्रधानमन्त्री बनाएर भए पनि राष्ट्रलाई गतिशिल तुल्याउने माओवादी तर फरक बिचारबाट निर्देशित भइदिएर बिग्रियो । संविधानको मौलिक हकमा राखिएका अधिकारका लागि संघर्ष गर्ने माओवादी तर कार्यान्वयन गर्ने निकायमा माओवादीको बर्चस्व स्थापित हुनै पाएन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समाजवाद उन्मुख संविधान लेख्न नेतृत्व गर्ने माओवादी तर त्यसलाई बुझ्ने र कार्यान्वयन गर्ने व्यक्ति र प्रबृत्ति अर्कै भइदियो । यी यावत परिस्थितिका बाबजुद पनि नेपाली राजनीति माओवादीले अगाडि सारेका अजेण्डाभन्दा बाहिर पुग्न संभव नहुने अवस्था सिर्जना भएको छ । 

माओवादीबाट बैचारिक रुपमा निर्देशित जनजाति महिलालाई सभामुख बनाउँदा विधायिकालाई गतिशिल बनाएर देखाइदिएको छ । मुलुकमा १८ घण्टा अँध्यारोमा बसेका नेपालीलाई माओवादी नेतृत्वको सरकारले लोडसेडिङमुक्त नेपाल बनाइदिएको छ । माओवादी नेतृत्वको संघर्षले प्राप्त गरेको समावेशी र समानुपातिक प्रतिनिधित्व अहिले राजनीति, सेना, प्रहरी र कर्मचारी सर्वत्र महिला, दलित र जनजातिको उपस्थितिले देखिएको छ । एक धर्म र एक संस्कृतिलाई माओवादीले नै धर्मनिरपेक्षतामा रुपान्तरण गराउँदा नेपालमा धार्मिक सहिष्णुता कायम भएको छ । नेपाल सबै नेपालीको साझा फुलवारी हो भनेर प्रमाणित गराउने माओवादी केन्द्र हो । 

नीति अनुसारको नेतृत्व हुँदा मात्रै व्यवहारिक प्रतिफल प्राप्त हुन्छ । मुलुकलाई आर्थिक समृद्धिको दिशामा अग्रसर गराउन सक्ने साहसी नेतृत्व माओवादी केन्द्रसँग छन् । समाज रुपान्तरणका लागि आफूलाई समर्पित गराउन सक्ने हजारौ नेता कार्यकर्ता माओवादी केन्द्रमा छन् । माओवादी केन्द्र र यो पार्टीको संगठन नेपालभर र विश्वभर फैलिएकै कारण प्रतिगमनकारी हर्कत परास्त हुन्छन् ।  राष्ट्र र जनतालाई समर्पित गर्न सक्ने दुरदर्शी नेतृत्व माओवादी केन्द्रमा भएकै कारण समाजवाद उन्मुख संविधान च्यातिनबाट जोगिएको छ । त्यसैले शान्ति, सुशासन, दिगो बिकास र समृद्धिको सपनालाई साकार पार्न जनमुखी स्थानीय सरकार र त्यो सरकारको नेतृत्वमा माओवादी केन्द्रद्धारा निर्देशित नेता कार्यकर्तालाई पुर्‍याउनै पर्ने परिस्थिति सिर्जना भएको छ ।
 
गणतन्त्र, संघीयता, समावेशीता, समानुपातिक प्रतिनिधित्व र धर्मनिरपेक्षता जोगाउन, समाजवाद ल्याउन,समन्वय,सहमति र समझदारीको राजनीतिलाई अगाडि बढाउन, महामारी, विपद जस्ता संकटको सामना गर्न राष्ट्रिय राजनीतिलाई एकताबद्ध गराउन,स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्न,सुशासन, समृद्धि र दिगो बिकास गर्न, उद्यमशिलता र रोजगारीका अवसर बृद्धि गराउन माओवादी केन्द्रको नेतृत्व नेपालका लागि अनिवार्य आवश्यकता बनेको छ । असन्तुलित वातावरणलाई सन्तुलनमा राख्न र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न अनि अनुकुलनका योजना बनाएर कार्यान्वयन गर्ने हरितक्रान्तिको नेतृत्व गर्न पनि माओवादी केन्द्र नै चाहिएको छ । त्यसैले एक पटक शिक्षक, विद्यार्थी, किसान, मजदुर, महिला, दलित, जनजाति, उद्योगी, व्यापारी, स्वदेश तथा विदेशमा सीप र ज्ञान हासिल गरेका नेपालीले माओवादी केन्द्रका उम्मेदवारलाई रोज्ने र उनीहरुलाई जनताको सेवकका रुपमा परिचालन गर्ने आँट र साहस प्रदर्शन गर्नु पर्ने वेला आएको छ ।

व्यक्तिगत लोभ र स्वार्थलाई तिलाञ्जली दिएर राष्ट्र र जनताको सेवामा समर्पित हुने हिम्मत र साहस माओवादी केन्द्रका नेता कार्यकर्ताले मात्रै प्रदर्शन गर्न सक्छन भन्ने तथ्य जनयुद्धमा देखाइसकेका छन् । फेरी एकपटक त्यहि निस्वार्थी भावना, त्याग र बलिदानीका किर्तिमान कायम गर्ने लक्ष्य र उद्देश्यसहित राष्ट्र र जनतालाई समृद्ध बनाउन माओवादी केन्द्रका उम्मेदवार तपाईका टोल टोलमा आइरहेका छन् । जनताको मौलिक हकको रुपमा स्थापित गरिएको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीका ठोस योजना बनाएर कार्यान्वयन गर्ने कार्यक्रमसहित नेकपा माओवादी केन्द्रका उम्मेदवार स्थानीय तहको निर्वाचनमा तपाईको घर आँगनमा पुगिरहेका छन् । सिंहदरवारमा कैद भएका अधिकार गाउँघरमा ल्याउने माओवादी केन्द्रका उम्मेदवार सूचना प्रविधिको प्रयोगलाई व्यापक उपभोग गर्दै सार्वजनिक प्रशासनलाई सहज बनाउने योजना लिएर आइरहेका छन् । 

अवको दशकमा स्थानीय सरकारलाई समाजवादको आधार खडा गर्ने निकायको रुपमा बिकास गर्ने योजना बनाएर माओवादी केन्द्रले आफना नेता तथा कार्यकर्ता परिचालन गर्नेछ। विगतको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका गाउँ नगरमा खडा भएको समृद्धिको आधारले पनि यो पार्टीको बिचारबाट निर्देशित उम्मेदवारले तपाईको गाउँ नगरको मुहार फेर्ने बिश्वास गर्न सक्नुहुनेछ। नेपाली समाजलाई सबैभन्दा राम्रोसँग बुझने नेता कार्यकर्ता भएको पार्टी हुनुको नाताले बिकास र समृद्धिको दशक बनाउने आँट,क्षमता र कौशलता नेकपा माओवादी केन्द्रसँग छ ।

तर त्यसका लागि तपाईको मत नेकपा माओवादी केन्द्रका उम्मेदवारको पक्षमा हुनु पर्नेछ। तपाई हामीलाई आफनो अमूल्य मत दिनुस्, हामी बिकसित र समृद्ध समाज बनाउने योजना कार्यान्वयन गर्ने नीति,योजना र कार्यक्रम लिएर आउनेछौं । संसारभर छरिएको नेपाली श्रम, पुँजी र लगानीलाई केन्द्रिकृत गरेर तपाईकै साथ र सहयोग लिई हामी दिगो बिकासको अवधारणा लागू गर्दै समृद्ध नेपाल बनाउनेछौं । त्यसैले माओवादी केन्द्रलाई बिश्वास गरौं । नीति अनुसारको नेतृत्व स्थापित गर्नका लागि माओवादी केन्द्रका  उम्मेदवारलाई जिताउन गोलाकारभित्रको हसिया हथौडा चिन्हमा मतदान गरौं । स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रलाई बिजयी बनाऔं, आफ्नो र राष्ट्रको भविश्यलाई उज्यालोतर्फ अगाडि बढाऔं । 

(सिन्धुपाल्चोक निवासी सापकोटा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर