• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

दमकका मेयर 'राम सर': लिङ्देन भोट माग्नै गएनन्, ओलीको मुख्यमन्त्री अस्वीकार गरे

काठमाडाैं । राप्रपा भित्रको कथा नै रोचक छ । वास्तवमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन दमकमा सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेर राम थापालाई मेयर बनाउने पक्षमै थिएनन् । त्यसैले चुनावी अभियानमा थापाका लागि भोट माग्न लिङ्देन एकदिन पनि मैदानमा उत्रिएनन् । सत्तारुढ गठबन्धनसँग स्थानीय स्तरमा राम थापाकै पहल र सक्रियातामा चुनावी तालमेल भएको हो । माओवादीका एक स्थानीय नेता दमक नगर कमिटी सहइन्चार्ज तथा चुनाव प्रचारप्रसार समितिका संयोजक शंकर बस्नेत भन्छन्, ‘स्थानीय विशिष्ठ अवस्थालाई मध्यनजर गर्दै आवश्यकताका आधारमा राप्रपाका राम थापासँग तालमेल गरिएको थियो ।

परिणाम पनि गठबन्धनको पक्षमा आएको छ ।’ राम थापाले गठबन्धनसँग यति विश्वास गरेका थिए कि उम्मेदवारीको प्रस्तावक समेत माओवादीका नेता बस्नेत नै बसेका थिए ।  गठबन्धनले गत २८ वैशाखमा दमक नगरपालिकाको मुख्य चुनावी सभा आयोजना गरेको थियो । राप्रपाका अध्यक्ष लिङ्देन २८ गते झापामै भएपनि चुनावी सभामा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन जाने कष्ट गरेनन् । बरु उम्मेदवार थापाले अध्यक्ष लिङदेनलाई बोलाउँदा व्यस्तता देखाउँदै आउन नसक्ने जवाफ दिएका थिए । 

अध्यक्ष लिङ्देनको यस्तो व्यवहारकाट मेयर थापा रुष्ट बने । स्थानीय राप्रपाका नेता कार्यकर्ता आश्चार्यमा परे । लिङ्देन दमकको चुनावी कार्यक्रममा किन एक दिन पनि हाजिर भएनन् त ? माओवादीका स्थानीय नेताको तर्क छ, ‘वास्तवमा लिङ्देन दमक आफ्नो पार्टीले लिने पक्षमा नै थिएनन् । उनी त एमालेसँग तालमेल गरेर एमालेलाई जिताउने पक्षमा थिए । राम थापाको एकल पहलमा सत्ता गठबन्धनसँग तालमेल भएको र राप्रपाको राम्रो आधार, गठबन्धनको भरपर्दो साथका कारण एमालेका अध्यक्ष केपी ओली नै दमकमा हार खान बाध्य भए ।  २८ गतेको मुख्य चुनावी सभामा माओवादीका तर्फबाट राम कार्कीसहितको टोली थापालाई भोट माग्न पुगेका थिए । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पनि सोही सभामा भोट माग्न दमक पुगे । तर झापामै भएपनि लिङ्देन पुगेनन् ।  

ओलीका अफरै अफर 

राम थापा विगतमा पटक–पटक चुनाव लड्दै र एमाले उम्मेदवारसँग हार्दै आएका थिए । यसपाली मेयरको उम्मेदवारी पक्का भएको दिन दमकका कतिपय मानिसहरुले खुसीले आँसु झारेका थिए । अन्ततः दमकको मेयरमा थापाले १७५२५ मत पाएका छन् भने उनकी प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १६९६६ मत ल्याइन् । उपमेयरमा पनि गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी रेगिना भट्टराईले जित हात पारेकी छन् । १७०७२ मत पाएकी भट्टराईले एमालेका अम्बिकाप्रसाद खनाललाई हराएकी हुन् । खनालले १६५७४ मत पाए । यस्तो अवस्थाको पूर्वानुमान चतुर राजनीतिज्ञ केपी ओलीले नलगाउने कुरै भएन । 

त्यसैले उनले थापालाई मेयरबाट फिर्ता लिन भएभरको शक्ति लगाए । अफरै अफर पठाए । राप्रपाका स्थानीय एक नेताले समाचार दैनिकलाई दिएको जानकारी अनुसार अध्यक्ष ओलीले थापालाई प्रदेश सांसद, रोजेको प्रदेश मन्त्री, मुख्यमन्त्रीदेखि मेयर नबनी नछोड्ने हो भने एमालेको सूर्य चिन्हबाट मेयरमै लड्न आग्रह गरेका थिए । तर थापाले ओलीका कुनै पनि अफर मानेनन् र आफ्नो उम्मेदवारी कायम राखे । किनभने उनलाई सत्ता गठबन्धनको बलियो भर थियो ।  राम थापा राजा ज्ञानेन्द्रको शासनकालमा उनी दमकको मनोनित मेयर बनेका थिए। तर टिका लगाएको मेयर भन्दा जनताबाट चुनिएर मेयर बन्ने उनको चाहाना यसपाली पूरा भयो ।

थापाको माया भन्दा पनि सत्ता गठबन्धनको स्वार्थ भने जसरी पनि केपी ओलीलाई हराउने थियो । त्यसका लागि उनीहरुले उपयुक्त पात्र राम थापा भेटेका थिए । त्यसैले गठबन्धनले आफ्नो भोट राप्रपाको हलोमा खन्यायो । एमालेको किल्ला, ओलीको अस्तित्वको लडाईं हालसम्मको चुनावी इतिहासको नतिजाअनुसार दमक एमालेको परम्परागत किल्ला मानिन्थ्यो। २०४९, २०५४ र २०७४ मा भएका तीन वटै स्थानीय चुनावमा दमकको प्रमुख र उपप्रमुखसहित बहुसंख्यक सिटमा एमालेले जितेको थियो। यी तीनमध्ये पछिल्ला दुईटा निर्वाचनमा थापा एमालेका रोमनाथ ओलीका निकटतम् प्रतिस्पर्धी थिए। 

०५४ मा ओलीसँगै हार व्यहोरेका उनले २०७४ मा पनि दोस्रो स्थानमै चित्त बुझाउनु परेको थियो। तर संघीय चुनावमा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा राप्रपासँग मिलेर सहज जित हात पारेका थिए । ओलीलाई अहिले नगर गुमाउनुको पीडा त छँदैछ त्योभन्दा धेरै त्रास अबको संघीय चुनावमा झापाबाट हराइदिने पो हुन् कि भन्ने रहेको देखिन्छ । त्यसैले उनी अफरका अफर लिएर थापाका पुगेका थिए ।  ओलीको स्वार्थ र अध्यक्ष लिङ्देनको चाहाना नभएपनि थापा राप्रपाका मेयरको रुपमा दर्ज भएका छन् । राप्रपाले दमक मात्रै होइन काठमाडौं शंकरापुरमा पनि जित निकालेको छ । शंखरापुरमा पनि राप्रपाले एमालेकै किल्ला भत्काएको हो । यो नगरपालिकामा राप्रपाका रमेश नापितले ४ हजार ७ सय मत हासिल गरेका छन्।

चुनावी अभियानमा विरामी भएपछि... 

चुनावी अभियान चलिरहेका बेला राम थापा विरामी परे । कार्यक्रमका दौरान सुगर लो भएपछि उनी ढलेका थिए । सुगरको औषधि खाइरहेका उनले कार्यक्रममा हिँड्नुपर्छ सुगरले दुःख देला भनेर नियमित भन्दा बढी डोजको औषधि खाएका रहेछन् । सुगर धेरै कम भएपछि उनलाई ढाल्यो । सबै आत्तिए । तर थापाले हरेस् खाएनन् । स्थानीय आम्दा अस्पतालमा उपचार पछि उनलाई धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो । एम्बुलेन्समा बसाउन कतिपयले उनलाई ह्वील चियर तथा सुत्न मिल्ने गुडाउन खाटमा राख्न खोजेका थिए । तर उनी हिँडेरै एम्बुलेन्समा चढेर उपचारमा गए । सुरुमा त उनले उपचारका लागि धरान जानै मानेका थिएनन् । मौन अवधि सुरुहुनु अघिल्लो दिन उनी निको भएर फेरि मतदाताकोमा एकसरो हात हल्लाउदै जान भ्याए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर