• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

विद्यालयलाई  'शैक्षिक बेरोजगार उत्पादन केन्द्र' हुनबाट कसरी बचाउने ?

 नेपालमा जब नयाँ शैक्षिक सत्रको सुरुवात हुन्छ अनि अभिभावकलाई अनेक किसिमका अन्योल र टाउको  दुखाइको सुरुवात  हुन्छ।आफ्ना छोराछोरीलाई कहाँ पढाउने होला भन्ने ठूलो तनाव हुन्छ। विद्यालयको छ्नोट गर्नुपर्ने, नयाँ किताब,कापी र शैक्षिक सामग्री र विद्यालयको पोशाक किनिदिनुपर्ने जस्ता थुप्रै आर्थिक तथा मानसिक तनावहरू आइलाग्छन्। नेपाल सरकार वा कुनैपनि विद्यालयले भर्ना गर्ने बेलामा गुणात्मक शिक्षा र निःशुल्क शिक्षाका जतिसुकै बाजा बजाए पनि सरकारी विद्यालयमा गुणात्मक शिक्षा नहुनु र निजीमा अस्वस्थ प्रतिस्पर्धाले गर्दा अभिभावकहरू आफ्ना बालबच्चा भर्ना गर्ने बेलामा अन्योल हुनु पर्ने भएको छ।

नेपालमा गुणात्मक शिक्षा मापन गर्ने प्रमुख आधार विद्यार्थीको अन्तिम परीक्षामा प्राप्त गरेको प्राप्ताङ्कलाई मानिएको छ।नेपालका केही थोरै विद्यालय बाहेक अधिकांश सरकारी विद्यालयको नतिजा  अत्यन्तै कमजोर छ भने प्रायः निजी विद्यालयको नतिजा तुलनात्मक रुपमा उत्कृष्ट रहेको छ।सरकारी र निजी विद्यालयको नतिजामा देखिएको फरकको मूल कारण राज्य नै हो।राज्यले विद्यालयमा सबै किसिमका सेवा, सुविधा र पूर्वाधार बनाइदिन नसक्दा र सहि तरिकाले अनुगमन गर्न नसक्दा निजी विद्यालयहरूले मात्र उत्कृष्ट नतिजा दिएको पाइन्छ। 

अभिभावकले कुनै पनि विद्यालयमा आफ्ना छोराछोरीलाई भर्ना गर्दा आफ्नो आम्दानीलाई हेर्नु पर्ने अवस्था छ।स्कुलको वर्गीकरण पनि पैसा अनुसार छन्।धेरै शुल्क तिर्न पर्ने स्कुल राम्रो र थोरै शुल्क  तिर्न पर्ने स्कुल नराम्रोमा गनिन्छ्न्।राज्यले सरकारी विद्यालयलाई नै परिमाणात्मक र गुणात्मक दृष्टिले आकर्षक बनाउन नसक्दा अभिभावकलाई समस्या आइपरेको छ।सबै सरकारी विद्यालयको स्तरीयता राम्रो हुने हो भने अभिभावकलाई बालबच्चा भर्ना गर्ने बेला कुनै अन्योल बेहोर्नु पर्ने थिएन।अहिले नै राज्यले विद्यालय वा कलेजको शिक्षाको लागि जति खर्च गरेको छ त्यत्तिमै पनि केही थोरै मिहिनेत गर्ने हो भने पनि गुणात्मक शिक्षा दिनसक्छ।यसको लागि राज्यले नीतिगत रुपमा र कार्यान्वयन तहमा केही फेरबदल गर्नै पर्छ। परम्परित पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षणसिकाइ क्रियाकलापलाई बदली समय अनुकुलको शिक्षा बनाउनु पर्छ।घोकन्ते र रटन्ते परीक्षा प्रणालीलाई हटाउनु पर्छ र व्यावहारिक र जीवनोपयोगी पाठ्यक्रम बनाउनु पर्छ।

नेपालको शिक्षा प्रणालीलाई नीतिगत तहदेखि नै परिवर्तन गर्नुपर्छ भनेर बारम्बार भनिए तापनि परम्पराभन्दा भिन्न तरिकाले वा परिणामको दृष्टिकोणले खासै उल्लेखनीय परिवर्तन हुन सकेको छैन।समयानुकूलको पाठ्यक्रम,शिक्षण सिकाइ क्रियाकलाप र परीक्षा प्रणालीमा परिवर्तन गरिनुपर्छ।केही पाठ्यक्रमहरू परिवर्तन गरिए पनि तिनलाई कक्षाकोठामा कार्यान्वयन गर्न सकिएको छैन।शिक्षकहरूलाई नयाँ विधि र प्रविधि अभ्यस्त नगराइनु र विद्यालयको भौतिक पूर्वाधार नहुनुले पनि कार्यान्वयन हुन नसकेको देखिन्छ। 

अहिलेको शिक्षा प्रणाली र शिक्षण सिकाइ क्रियाकलाप अत्यन्तै झन्झटिलो, अवैज्ञानिक,अव्यावहारिक र ज्यादा सैद्धान्तिक र परीक्षामुखी रहेको छ।पाठ्यक्रम, पाठ्यविषय र पाठ्य पुस्तकहरू समय सापेक्ष निर्माण नहुँदा विद्यार्थीलाई व्यावहारिक र जीवनोपयोगी शिक्षा भन्दा सैद्धान्तिक शिक्षा थुपार्ने काम ज्यादा भएको छ।पाठ्यक्रम परम्परित र अव्यावहारिक हुनाले विद्यार्थीलाई पढाइप्रति अरुचि  पैदा हुन्छ। कुनै कक्षा उत्तीर्ण गर्नुको मुख्य उपलब्धि भनेको परीक्षामा अङ्कलाई मात्र प्राथमिकता दिदा विद्यार्थीहरूले  प्रमाणपत्रको लागि मात्र पढ्नु पर्ने अवस्था छ।विद्यार्थीलाई  जबर्जस्त घोक्न लगाएर पढाइएको छ।

विद्यार्थीभन्दा झोलाको तौल धेरै बनाएर सकिनसकी झोला बोक्न विद्यार्थी बाध्य छन्।झोलामा जतिसक्यो धेरै किताब बोकाएर र परीक्षाको लागि घोक्न लगाएर  धेरै अङ्क ल्यायो भने उत्कृष्ट विद्यार्थी हुन्छ भन्ने भ्रमलाई अन्त्य नगरेसम्म विद्यार्थीले सिर्जनात्मक र उत्पादनमुखी शिक्षा पाउन सक्दैनन्।विद्यार्थीको उत्कृष्टताको मापनका आधारमा ज्ञान,सीप,क्षमता,प्रयोग,व्यवहार र अनुसन्धानलाई बनाउनु पर्छ।झोला र अङ्कको भारीले होइन ज्ञान,सीप र क्षमताको भारीले विद्यार्थीको दिमाग ठूलो र फराकिलो बनाइ दिनुपर्छ ।

विभिन्न विज्ञ वा शिक्षाविद्हरूले पटक–पटक नेपालको शिक्षा प्रणाली समयानुकूल नभएको भनेर भनिरहेको अवस्थामा नेपाल सरकार यस मामिलामा प्रायःमौन नै रहेको देखिन्छ। कहिलेकाहीँ सरकारले केही नयाँ ल्याए जस्तै गर्छ तर पाठ्यक्रम र शैक्षणिक क्रियाकलाप भने उही पुरानै यथावत रहेको छ।हजुरबुवाको पालामा जे जस्तो पढाइ हुन्थ्यो आज नातिले त्यही परम्परामा र त्यही विधिमा पढ्नु परेको छ। बालबालिकाले ज्ञान र सीपकोलागि भन्दा  परीक्षामा उत्तीर्ण हुनको पढ्नु परेको छ।आजको २१ औं  शताब्दीमा बालबालिकाले 

व्यावहारिक,जीवनोपयोगी,समयसापेक्ष र उत्पादनमुखी  शिक्षा पाउन नसक्दा नेपालका विद्यालय र कलेजहरू शैक्षिक प्रमाणपत्रधारी बेरोजगारको उत्पादनका केन्द्र बनेका छन्।उत्पादनमुखी र सीप मूलक शिक्षा नहुँदा नेपालका धेरै युवाहरू आफ्नो प्रमाणपत्र दराजमा थन्काइ रोजगारको लागि विदेश पलायन हुनुपरेको छ।

विद्यालयमा अहिलेसम्म चलिरहेको जे जस्तो शैक्षणिक गतिविधि वा क्रियाकलाप र पद्धति छ त्यसलाई परिवर्तन गरिनुपर्छ। हरेक विद्यार्थीलाई विद्यालय जाउँजाउँ, पढौँ,जानौँ र सिकौँको हुटहुटी पैदा गराउनु पर्छ र यसो गराउन सकियो भने विद्यार्थीले सजिलैसँग ज्ञान र सीप प्राप्त गर्न सक्छन्।विद्यालयमा एउटै कक्षा कोठामा फरक फरक रुचि,स्वभाव,क्षमता,उमेर,भाषा, वर्ग,लिङ्गका विद्यार्थी रहेका हुन्छन्।ती सबै किसिमका विद्यार्थीलाई एउटै किसिमको शिक्षण सिकाइ क्रियाकलापले काम गर्न सक्दैन।कक्षा कोठामा जहिले पनि विद्यार्थी खुशी र केही नयाँ कुरा जान्नको लागि आकर्षित हुनुपर्छ।कहिलेपनि विद्यार्थीलाई डर देखाएर,गाली गरेर, लठ्ठी उठाएर पढाउनु हुँदैन। 

शिक्षक विद्यार्थीको सबैभन्दा नजिकको साथी र सहयोगी बन्नुपर्छ।शिक्षकले विद्यार्थीलाई असाध्यै माया गर्नुपर्छ।विद्यार्थीले कुनै कुरा जानेन् भनेर गाली गर्ने होइन उसलाई पटक पटक अभ्यास गर्न प्रेरणा दिनुपर्छ।विद्यार्थीलाई घोक्न लगाएर हैन कि प्रयोग र अभ्यास गर्न लगाएर पढाउनु पर्छ।जब विद्यार्थीले आफै अभ्यास गरेर कुनै सीप सिक्छ भने त्यो स्थायित्व हुन्छ र उसले कहिल्यै बिर्सिदैन।

विद्यार्थीलाई शिक्षण गर्दा शिक्षकले पनि मिहिनेत गर्नुपर्छ।२० वर्ष पहिले आफूले जसरी पढिएको थियोे त्यही विधिले अहिले काम गर्दैन र त्यसको औचित्य पनि छैन।आजको युग भनेको विज्ञान र प्रविधिको युग हो।शिक्षकले कालोपाटीमा चकले लेखेर वा घाँटी सुक्ने गरी चिच्याएर र घोक्न लगाएर पढाउनुको अर्थ छैन।राज्यले समय समयमा शिक्षकलाई तालिम,सेमिनार र गोष्ठीहरू सञ्चालन गरेर सम्बन्धित विषयमा पुनर्ताजगी गराइरहनुपर्छ र शिक्षकलाई नयाँ विधि र विषयमा दक्ष बनाउनु पर्छ।राज्यलाई मात्र दोष थुपारेर पनि  हुँदैन, शिक्षक पनि अध्ययनशील र प्रविधि प्रयोगमा सक्षम हुनुपर्छ।नेपालका अधिकांश विद्यालयमा कम्प्युटर र इन्टरनेट पुगिसकेको,शिक्षक र अभिभावकको हातमा समेत मोबाइल भएको हुनाले जे सुकै र जस्तोसुकै विषयको सामग्री पाउन सकिने अवस्था छ।

विषयवस्तु,पाठ्य सामग्री र शैक्षिक सामग्रीको लागि कुनै एउटा निश्चित पुस्तक नै हेर्नु पर्ने अवस्था छैन।कम्प्युटर र इन्टरनेटको प्रयोग गरेर शिक्षण सिकाइ क्रियाकलाप गराउने हो भने जतिपनि सामग्री उपलब्ध हुनसक्छन्।कक्षा कोठामा विद्यार्थीलाई नै सक्रिय बनाउनु पर्छ र शिक्षकले सहयोगी भूमिका निर्बाह गर्नुपर्छ।

अहिलेको परिपाटीमा पाठ्क्रममा अत्यन्तै सैद्धान्तिक शिक्षा भएको हुनाले पनि विद्यार्थीमा पढ्ने कुराप्रति अरुचि देखा परेको छ।पढाइ अत्यन्तै निराशिलो  छ,रातदिन टुप्पी कसेर पढ्यो त्यसबाट आफूलाई कुनै किसिमको व्यावहारिक र जीवनोपयोगी ज्ञान र सीप पैदा हुँदैन अनि विद्यार्थीमा स्वाभाविक रुपमा अरुचि पैदा हुन्छ।हाइस्कुल उत्तीर्ण गरेको एउटा बच्चालाई विज्ञान र गणितका सिद्धान्तहरू कण्ठस्थ छन् तर आफ्नो सरसफाइदेखि लिएर घरभित्र वा घरबाहिर गर्नुपर्ने दैनिक सामान्य काम गर्न आउँदैन।१२ कक्षा उत्तीर्ण करिब १६र१७ वर्षको युवायुवतीलाई  भान्साकोठामा काम गर्न आउँदैन,आफ्नो सरसफाइदेखि लिएर कपडा धुन आउँदैन,घरवरिपरिको करेसा बारीमा काम गर्न आउँदैन, आफन्त वा छरछिमेकीसँग व्यवहार गर्न र बोल्न आउँदैन,समाजमा आफ्नो उपस्थिति जनाउन आउँदैन र जिम्मेवारपूर्वक कुनै काम पुरा गर्न आउँदैन भने त्यसले कस्तो शिक्षा प्राप्त गरेको छ तरुहाम्रो शिक्षाको मूल समस्या भनेको यही हो।विद्यार्थीलाई सैद्धान्तिक कुरा मुखले बोल्न वा कलमले लेख्न आउँछ तर व्यवहारमा उतार्न सक्दैन।

यसकारण आफ्नो दैनिक जीवन गुजारा गर्न समेत व्यावहारिक शिक्षा महत्त्वपूर्ण छ।

शिक्षा सैद्धान्तिक हुनु हुँदैन भन्न खोजिएको चाहिँ होइन।सैद्धान्तिक शिक्षा व्यवहार उपयोगी र उत्पादनमुखी हुनुपर्छ।पढेको कुराले आफ्नो व्यक्तिगत वा सामाजिक जीवन सहज भयो भने मात्र त्यसको औचित्य हुन्छ।सबैतहका पाठ्यक्रममा सैद्धान्तिक विषयलाई मात्र थुपार्ने काम भएको छ भने एउटै विषयलाई पटक पटक दोहोर्याइएको पनि छ।विद्यार्थीलाई सक्रिय बनाउने सामग्री कम छन्।आफ्नो समाज र देश अनुकूलको शिक्षा पनि छैन।राज्यले समय अनुकूलको देश र परिस्थिति अनुसारको भाषिक,नैतिक,सामाजिक, व्यावहारिक,व्यावसायिक, रोजगारमूलक र प्राविधिक शिक्षामा जोड दिनुपर्छ।

हाइस्कुल उत्तीर्ण विद्यार्थीलाई आफ्नै खुट्टामा उभिन सक्ने किसिमको सीपवान र क्षमतावान बनाउनु पर्छ। हाम्रो जस्तो गरिब, विकासोन्मुख र भौगोलिक विविधता भएको मुलुकमा देश अनुकूलको व्यावहारिक,जीवनोपयोगी, रोजगारमूलक शिक्षा प्रदान गर्न केही जटिलता पक्कै छन् तर तिनलाई  चिर्दै जानुपर्छ र विद्यालयलाई  शैक्षिक बेरोजगार निर्माण गर्ने केन्द्र बनाउने परिपाटीलाई अन्त्य गर्नुपर्छ।

(भर्जिनिया,अमेरिका)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर