• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

पोखरा महानगर : कांग्रेसले ‘आफ्नै खुट्टामा बञ्चरो हान्दा’ गुमायाे उपमेयर !

पोखरा । कांग्रेसले पोखरा महानगरको उपमेयर हार्ने लागभग निश्चित जस्तै भएको छ । सत्तारुढ दलहरुबीच भएको गठबन्धनले पोखराको मेयरमा एकीकृत समाजवादी र उपमेयरमा कांग्रेसले लिने गरी समझदारी भएको थियो । तर केन्द्रले मेयर र उपमेयरमा समझदाी गरे पनि वडासम्म मिलाउन नसक्दा अप्ठ्यारो भएको थियो । पोखराको मेयर र उपमेयर कम्युनिस्ट पार्टीकै पोल्टामा जाने निश्चित जस्तै भएको छ ।

पोखरामा उम्मेदवारी चयनका बेलामा सबैभन्दा बढी बखेडा भने कांग्रेसले झिकेको थियो । पोखराको मेयर कुनै पनि हालतमा नछाड्ने भन्दै आन्दोलन नै गरेको थियो । पोखरामा गठबन्धनका दलहरुबीच समझदारी हुँदा मेयर एकीकृत समाजवादीले पाउने र उपमेयर कांग्रेसले लिनेगरी समझदारी भएको थियो ।

माओवादी र जसपाको असन्तुष्ट भोट नै कांग्रेसलाई फलामको चिउरा

पोखरा महानगरमा एकीकृत समाजवादीले मेयर र कांग्रेसले उपमेयर पाउने भनेर केन्द्रले निर्णय गर्‍यो । यसपछि वडा तहमा जाँदा कांग्रेसले एक्लौटी जित्ने दाबी गर्दै तालमेलको विपक्षमा उभियो । वडामा भागवण्डा गर्नेबेलामा कांग्रेसका नेताकार्यकर्ता आन्दोलित भए । वडामा गठबन्धन नभएपछि माओवादी र जसपा भने जिल्ल परे । माओवादीले ४, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले २/२ वटा वडा मागेका थिए । कांग्रेसका असन्तुष्ट नेताकार्यकर्ताले विरोध गरे । उनीहरूले कांग्रेसका पदाधिकारीलाई कार्यालयमा थुन्नेदेखि पार्टी कार्यालयमा तोडफोड गर्नेसम्म हर्कत गरे । कांग्रेसभित्रको किचलोका कारण भने वडा तहसम्म गठबन्धन हुन सकेन । त्यसको मार भने उपमेयरले खेप्नुपर्‍यो । 

पोखरा महानगरमा ३३ वटा वडा रहेका छन् । अहिलेसम्म २६ वटा वडाको मतगणना सकिएको छ । कांग्रेसले मत गणना सकिएको वडामध्ये बहुमत वडामा विजयी भएको छ तर कांग्रेसका मतदाताले नै उपमेयरमा भोट हालेको देखिँदैन । पोखरा महानगरमा कुल मतदाता २ लाख ७ हजार ७१२ जना रहेका छन् भने १ लाख ४३ हजार २२६ मतदाताले मतदान गरेका थिए । अहिलेसम्म १ लाख २२ हजार मतगणना भइसकेको छ । एकीकृत समाजवादीका धनराज आचार्यले मेयरमा विपक्षीभन्दा पाँच हजारभन्दा बढीको अग्रता लिइरहेका छन् तर उपमेयरमा कांग्रेसकी  कोपिला रानाभाट एमालेकी प्रतिस्पर्धीभन्दा करिब २ हजार मतले पछाडि छिन् ।

आचार्यलाई एमालेका कार्यकर्ताले पनि सबैभन्दा बढी भोट हालेको देखिन्छ तर उपमेयरमा कांग्रेसकी रानाभाटलाई आफ्नै पार्टीबाट भोट हालेको देखिँदैन । ०७४ को निर्वाचनमा एमालेले मेयर उपमेयरसहित बहुमत वडामा विजयी भएको थियो तर यसपटक भने सबैभन्दा बढी वडामा कांग्रेसको पकड रहेको छ । गत निर्वाचनमा कांग्रेसले ३३ मध्ये ११ वटा मात्रै वडा जितेको थियो तर यस पटक भने गणना सम्पन्न भएका २६ वटा मध्ये २१ वटा वडामा विजयी भएको छ । एमालेले ७ वटा मात्रै जितेको छ । 

वडामा एकछत्र, उपमेयरमा छैन भोट !

कांग्रेसले वडामा धेरै सिट जितेको छ । लगभग एकछत्र जस्तै विजयी भएको छ तर उपमेयरमा भने सोही अनुसार भोट आएको छैन । कांग्रेसकी रानाभाटलाई पार्टीभित्रैबाट भोट आएको देखिँदैन । भने वडा तहसम्म गठबन्धन नगरेकाले माओवादी र जसपाका मतदाता पनि तितरवितर भएको देखिन्छ । कांग्रेसले माओवादी र जसपालाई वडामा नसमेट्दा र पार्टीभित्रको अन्तरकलह नमिलाउँदा त्यसको परिणाम उपमेयरको उम्मेदवारले भोग्नुपरेको छ ।  

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर