• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

भरतपुर महानगर : मेयरमा माओवादीकी रेनु ११ हजार बढी मतले विजयी !

 चितवन । माओवादी केन्द्रकी मेयर रेनु दाहाल ११ हजारभन्दा बढी मतान्तरले विजयी हुने भएकी छन् । गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट उनी दोस्रो पटक मेयरमा निर्वाचित हुने भएकी हुन् ।

भरतपुर महानगरमा अहिलेसम्म १ लाख १३ हजार ८ सय ७७ मत गणना भइसकेको छ । माओवादीकी मेयर उम्मेदवार दाहालले ४७ हजार मत ल्याएर अग्रस्थानमा छिन् ।

उनको निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीले ३५ हजार मतका साथ पछ्याइरहेका छन् । भने रेनुका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ल्याएका छन् ।

यसैबीच पाँच दलीय गठबन्धनले भरतपुरमा वृहत विजय र्याली निकाल्ने भएको छ । भरततपुर महानगरमा मेयर–उपमेयर जित्ने सुनिश्चित बनेपछि विजय र्याली निकाल्न लागिएको हो । पाँच दलीय गठबन्धन चितवनका संयोजक तथा कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भोलि मंगलबार बिहान १० बजे र्याली निकाल्ने तयारी भएको जानकारी दिए ।


महानगरको मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीलाई साझा उम्मेदवार बनाएर सत्तागठबन्धन चुनावमा होमिएको थियो । मेयर–उपमेयर दुबैमा फराकिलो मतान्तर सहित जित नजिक पुगेपछि पाँच दलीय गठबन्धन उत्साहित बनेको छ । भरतपुर महानगरको आजै राती मतगणना कार्य सकिने सम्भावना छ ।


मंगलबार विहान सपथग्रहणको कार्यक्रम सकिए लगत्तै विजय र्याली निकालिने योजनामा कांग्रेस, माओवादी, एकिकृत समाजवादी पार्टीका जिल्ला समितिहरुले तयारी बढाएका छन् । मालपोतचोकबाट सुरु हुने विजय र्याली रामनगर, मेघौलीसम्म पुगेर आउने जनाइएको छ । र्याली पछि गेष्टहाउस चौरमा विजय उत्सव मनाउने योजना रहेको खनालले बताए ।


र्याली आँपटारी, रामनगर, जुगेडी, नारायणगढ बजार, बेलचोक, धर्मचोक, डेरिचोक, फनपार्क हुँदै दुर्गाचोक, मंगलपुर, रामपुर हुँदै चनौली, पर्साढाप, मेघौली, जितपुर, शुक्रनगर, जगतपुर, पटिहानी, गितानगर कृष्णपुर लगायतका क्षेत्रमा पुग्ने जनाइएको छ ।

थोरै मत गन्न बाँकी, धेरै मतले अग्रता

भरतपुर महानगरमा अब थोरै मत गणना गर्न बाँकी रहेको छ । महानगरमा अब १३ हजार ७ सय मत मात्रै गणना गर्न बाँकी रहेको छ । मेयरमा दाहाल भने ११ हजार मतान्तरले अग्रता लिइरहेकी छन् । अहिलेको परिणाम हेर्दा मेयरमा दाहालले नै अग्रता लिइरहेकी छन् । १३ हजार मध्ये ३ हजार मौत्र दाहालको पक्षमा मत आए पनि उनी स्वतः विजयी हुनेछन् । तर अहिलेसम्मको मतान्तरको ट्रेन्ड हेर्दा जति मत गणना गर्‍यो उनी नै बढी अग्रता दाहालले लिइरहेकी छन् । दाहाल ०७४ सालको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको मेयरमा २०३ मतले विजयी भएकी थिइन् । यसपटक भने उनले ११ हजारको मतान्तर बढाइसकेकी छन् ।

यस्तै उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । अधिकारीले ४७ हजार मत ल्याएका छन् । भने उनको निकटतम प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले २७ हजार ६ सय मत ल्याएका छन् । अधिकारीले विपक्षीको भन्दा १९ हजार बढी मत ल्याएका छन् अब गन्न मत भने १३ हजार मात्रै रहेको छ । गणना हुन बाँकी रहेको मत भन्दा बढी अधिकारीको अग्रताको मत रहेकाले पनि उनको विजय सुनिश्चित भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर