• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

ओलीले स्वीकारे हार, माधव नेपालको पार्टीको प्रशंसा !

काठमाडौं । चुनाव अघि सवैभन्दा ठुलो दल हुने दावी गरेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले परिणाम पूरा नआउँदै हार स्वीकार गरेका छन् । उनले वैशाख ३० गते भएको स्थानीय तह चुनावमा पार्टीले हार्नुको मुख्य कारण अन्तरघात भएको बताएका हुन्।

बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले अन्य दलका कारण नभई एमालेकै कारण चुनाव हारिएको बताएका हुन्।

‘अरू पार्टीका कारण होइन ‍यसपटक एमालेमा अन्तरघात भयो। यस्तो गर्न कहाँबाट सिकेछन्, यस विषयमा बृहत्‌ रूपमा समीक्षा गरिनुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भनिन्, ‘चार महानगरमा हामीले उपमेयर जित्यौं तर मेयर जित्न सकेनौं। भकाभक उपमेयर जित्ने, मेयर हार्ने भन्ने हुँदैन।’

हार स्वीकार गर्दै अन्तरघात कारण भएको बताएका ओलीले एमालेबाटै फुटेर गएको नेकपा एकीकृत समाजवादी भने अनुशासित देखिएको बताए । ओलीले माधव नेपालको पार्टीमा समेत यस्तो अन्तरघात नभएको बताएका छन् । 

‘अरू पार्टीमा नभएको यस्तो अन्तरघात हाम्रो पार्टीमा मात्रै कसरी भयो हामीले खोज्नुपर्छ,’ ओलीले बैठकमा भने,‘अर्को  कारण राज्यसत्ताको चरम दुरूपयोग भयो। केही ठाउँमा हाम्रा साथीहरूको हत्यासम्म भयो। लोकतन्त्रको चीरहरण गर्ने काम भयो। त्यसले पनि हाम्रो मतमा प्रभाव पार्‍यो।’ 

‘अहिले पनि हामी पहिलो दल हो। स्थानीय तहमा आएको मत हेर्ने हो भने हामी नै पहिलो छौं, त्यसैले जितेको मानसिकताका साथ हामी अगाडि बढ्नुपर्छ,’ उनले भने।

अझै काठमाडौं महानगरसहित ६ पालिकामा मात्र अन्तिम परिणाम आउन बाँकी छ। अहिले सम्मेको चुनावी परिणाम अनुसार एमाले यसपालि दोस्रो दल बनेको छ। २०७४ को चुनावमा २९४ पालिका जितेको एमाले यसपालि २०३ पालिका मात्रै जितेको छ।

त्यस्तै अध्यक्ष ओलीले सरकारले मंगलबार संसदमा पेश गरेको नीति तथा कार्यक्रम मुलुकको समस्या सम्बोधन गर्नेतर्फ केन्द्रीत नभई निरन्तरता मात्रै भएको भन्दै त्यसबारे चिरफार गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । साथै अध्यक्ष ओलीले सरकारको उक्त नीति तथा कार्यक्रमले मुलुकलाई थप भड्खालोमा पार्नसक्ने समेत बताएको सांसद शेरबहादुर तामाङले जानकारी दिए । 

एमाले प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा स्थानीय तह निर्वाचन परिणामबारे संक्षिप्त विश्लेषण गरिएको जानकारी दिए । त्यसक्रममा अध्यक्ष ओलीले निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै आगामी निर्वाचनमा थप योजनासहित अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएको भट्टराईले जानकारी दिए । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर